कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

खोला जथाभाबी उत्खनन

रमेशकुमार पौडेल

चितवन — गिट्टी, ढुंगा, बालुवा उत्खननको जिम्मा लगाएर अनुगमन नगर्दा खोलाको रूपै बिगारेर मनपरी गर्ने प्रवृत्ति बढेको छ । कालिका नगरपालिकाले उत्खननको अनुमति दिएको थाङखोला र बुङखोलामा सर्तविपरीतका काम रोक्ने प्रयास नभएको स्थानीय बताउँछन् ।

खोला जथाभाबी उत्खनन

माघदेखि जेठसम्म उत्खनन अनुमति दिए पनि अहिलेसम्म एकपटक मात्रै अनुगमन भएको छ । त्यही अनुगमनको निर्देशनसमेत पालना भएको छैन ।


‘खोलामा मापदण्डविपरीतका काम भएको नांगै आँखाले देख्न सकिन्छ । त्यस्तो नहोस् भनेर जिल्ला समन्वय समिति, प्रहरी, वन कार्यालय, नगरपालिका जताततै गइयो तर केही लागेन,’ थाङखोला सामुदायिक वनका सचिव ढाकाराम दाहालले भने । थाङखोला र बुङखोलाको गिट्टी, ढुंगा, बालुवा उत्खनन गर्ने अनुमति कागजपत्रअनुसार भरतपुर–१ का टंक न्यौपानेको कम्पनी राजी कन्स्ट्रक्सनले पाएको छ ।


न्यौपानेका वारेस रमेश न्यौपानेले कालिका नगरपालिकासँग गरेको सम्झौताअनुसार कर र भ्याटसमेत गरेर तीन करोड ६६ लाख ४० हजार रुपैयाँ तिर्ने गरी ठेक्का परेको हो । थाङखोला, बुङखोला क्षेत्रबाट ५० हजार ४ सय १८ घनमिटर ढुंगा, गिट्टी, बालुवा र ग्राभेलसमेत निकाल्न पाउने सम्झौतामा उल्लेख छ । माघ २४ देखि जेठ मसान्तसम्म उत्खनन गर्न पाउने सम्झौता छ ।


सम्झौताको बुँदा नम्बर १८ मा उल्लेख भएअनुसार खोलाको दायाँबायाँ २५/२५ प्रतिशत भाग छाडेर बाँकी रहने बीचको भागमा मात्र तोकिएअनुसार गहिरो बनाई गिट्टी, ढुंगा निकाल्न पाउने उल्लेख छ । सम्झौतापत्रमा रहेको उत्खनन तथा संकलन विधिको बुँदा चारमा खोलामा खाडलको औसत गहिराइ ८० सेन्टिमिटरदेखि एक मिटरसम्म मात्र हुने उल्लेख छ ।


थाङखोलामा झन्डै चार किलोमिटर र बुङखोलामा झन्डै तीन किलोमिटर उत्खनन गर्दा खोलाको दायाँबायाँका २५ प्रतिशत छाडेको कतै भेटिँदैन । खाडल पनि तीन मिटरसम्म गहिरो छ । ‘साह्रै गुनासो आएपछि फागुनमा हामी अनुगमनमा गएका थियौं । दायाँबायाँ भाग छाडेको पनि भेटिएन । गहिराइ पनि तोकिएअनुसारको भेटिएन,’ कालिका–३ का वडाध्यक्ष टीकाराज रिजालले भने ।


पहिलो अनुगमनमै नियमविपरीत उत्खनन भएको देखेपछि कालिका नगरपालिकाका मेयर खुमनारायण श्रेष्ठको अध्यक्षतामा स्थानीय अनुगमन समितिको बैठक बसेको थियो । फागुन ६ गते बसेको बैठकले ‘खोलाको दुवै किनारमा आईईई प्रतिवेदन र सम्झौताका प्रावधानबमोजिम छोड्नुपर्ने क्षेत्र र लम्बाइ, चौडाइ तथा गहिराइलाई पालना गर्न ठेकेदारलाई निर्देशन गर्ने’ निर्णय गरेको थियो ।


त्यो निर्देशन नै अलपत्र परेको छ । खोलामा आफ्नै तरिकाले गर्ने उत्खनन जारी छ । ‘कम्पनीको प्रोप्राइटर म भए पनि कामको जिम्मा साथीहरूलाई दिएको छु । त्यसैले के निर्देशन आयो भन्नेबारे म जानकार छैन । मैले

जिम्मा दिएको लालबहादुर तामाङ भन्नेलाई हो । उहाँलाई सोध्नु न,’ राजी कन्स्ट्रक्सनका टंक न्यौपानेले भने । लालबहादुरले भने यो काम आफूले नहेरेको प्रतिक्रिया दिए ।


कालिका नगरपालिकाका मेयर खुमनारायण श्रेष्ठ गोपी अनुगमन र कारबाहीका लागि आफूहरूले माथिल्लो निकायलाई अनुरोध गरेको बताए । ‘गुनासा आएकै हुन् । हामीले अनुगमन गरेर पनि निर्देशन दिएको हो । कारबाहीमा जानुअघि जिल्लास्तरको समितिलाई अनुगमन गर्न भनेका छौं । त्यो अनुगमन अब चाँडै होला । आवश्यक परे कारबाही पनि हुन्छ,’ मेयर श्रेष्ठले भने ।

प्रकाशित : जेष्ठ १७, २०७६ ०९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?