सकियो सगरमाथा आरोहण

काठमाडौँ — तीन महिनाअघि सुरु भएको वसन्तकालीन हिमाल आरोहण बिहीबार सकिएको छ । यस सिजनमा कम्तीमा ६ सय व्यक्तिले सगरमाथाको सफल आरोहण गरेका छन् । पर्यटन विभागकी निर्देशक मीरा आचार्यका अनुसार अन्य हिमालमा २ सय हाराहारीले सफल आरोहण गरेको अनुमान छ । 

सकियो सगरमाथा आरोहण

निर्देशक आचार्यले एक साताभित्र आरोहणमा सहभागी स्वदेशी, विदेशी र शेर्पाको संख्या सार्वजनिक हुने बताइन् । ‘आरोहणमा खटाइएका सम्पर्क अधिकृतले जानकारी गराउने क्रम जारी छ, केही दिनभित्रै आरोहणको जानकारी सार्वजनिक गर्छौं,’ उनले भनिन् ।


यस सिजनमा सगरमाथामा नौ जनाको मृत्यु भएको छ । सबै हिमालमा गरी मृत्यु हुनेको संख्या १७ पुगेको छ । विभागले यसपटक ३२ वटा हिमालका लागि १ सय १६ आरोहण दललाई अनुमति दिएको थियो । ती दलमा ८ सय ९५ जना थिए । सगरमाथाका लागि मात्रै ३ सय ८१ जनाले अनुमति लिएका थिए । सरकारले ४ सय १४ हिमाल आरोहणका लागि खुला गरेको छ ।


यसैबीच सर्वोच्च शिखरमा मानव पाइला पुगेको दिन मे २९ को अवसर पारेर बुधबार सरकारले निजी संस्थासँगको साझेदारीमा १२ औं अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाएको छ । त्यस समारोहमा सगरमाथासहित विश्वका १४ वटा अग्ला हिमाल आरोहण गर्ने दक्षिण कोरियाली आरोही उम होङ गिललाई १ लाखसहित राष्ट्रिय सगरमाथा पुरस्कार प्रदान गरिएको थियो ।


सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले यस वर्षको तेन्जिङ हिलारी पुरस्कार अस्ट्रेलियाका एन्थोनी गोडेन, नेपाली आरोही माया शेर्पा र नेपाल सरकारका अधिकृत ज्ञानेन्द्र श्रेष्ठलाई संयुक्त रूपमा प्रदान गरे । तीनै जनाले जनही ५० हजार र कदरपत्र पाएका हुन् । प्रथम सगरमाथा आरोही एड्मन्ड हिलारीकी छोरी शेरा हिलारी र आरोही निमा जाङ्बु शेर्पालाई पनि कदरपत्रद्वारा सम्मान गरिएको थियो । आरोही दावा तामाङलाई नगद २५ हजारसहित पुरस्कृत गरियो ।


सगरमाथा दिवसकै अवसरमा राजधानी काठमाडौंमा पहिलोपटक एकदिने अन्तर्राष्ट्रिय हिमालय पर्यटन सम्मेलन पनि भएको छ । अन्तर्राष्ट्रिय हिमालय पर्यटन समूहले आयोजना गरेको सम्मेलनमा एक दर्जन मुलुकका ३ सयभन्दा बढी पर्यटन व्यवसायी, सरकारी कर्मचारीलगायत सहभागी थिए । सम्मेलनको उद्घाटन गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालको अर्थतन्त्रको आधार पर्यटन क्षेत्र रहेकाले सरकार यसमा केन्द्रित रहेको बताए ।

प्रकाशित : जेष्ठ १७, २०७६ ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?