कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

समकक्षी मोदीको शपथमा भाग लिन दिल्ली आइपुगे प्रधानमन्त्री ओली

सुरेशराज न्यौपाने

नयाँदिल्ली — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सरिक हुन प्रधानमन्त्री केपी ओली दिल्ली आइपुगेका छन् । ओली राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको नियमित उडानबाट अपराह्न तीन बजे दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय हवाई अड्डामा ओर्लिएका हुन् । 

हवाई अड्डामा प्रधानमन्त्री ओलीलाई भारतीय विदेश मन्त्रालयका सचिव (पश्चिम) ए गितेश शर्माले स्वागत गरेका थिए । ओलीलाई स्वागत गर्न नेपाली राजदूत निलाम्बर आचार्य र नेपालका लागि भारतीय राजदूत मन्जिब सिंह पुरीको समेत उपस्थिति थियो । दिल्ली आउने प्रधानमन्त्रीको टोलीमा प्रमुख परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई र परराष्ट्र सचिव शंकरदास बैरागीसहित उच्च अधिकारीहरु रहेका छन् ।


ओली राष्ट्रपति कार्यालयमा साँझ करिब सात बजे हुने मोदी र उनको मन्त्रिमण्डलको शपथ ग्रहण कार्यक्रममा सरिक हुनेछन् । कार्यक्रममा बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (विमस्टेक) का सदस्य राष्ट्रका सरकार तथा राष्ट्र प्रमुखसँगै मोरिससका प्रधानमन्त्री र किर्गिस्तानका राष्ट्रपति लगायत विशिष्ट पाहुनाहरु उपस्थिति बताइएको छ । पाँच वर्षअघिको शपथ ग्रहणमा भने दक्षिण एसियाली सहयोग संगठन (सार्क) का सरकार प्रमुखहरुलाई निम्तो गरिएको थियो ।


भारतीय सञ्चारमाध्यमहरुका अनुसार बिहीबारको शपथ ग्रहण समारोहमा करिब ६ हजार पाहुनालाई निम्तो गरिएको छ । प्रधानमन्त्री ओलीले शपथ ग्रहण समारोहपछि भारतीय राष्ट्रपति कोविन्द र विमस्टेक राष्ट्रका सरकार तथा राष्ट्र प्रमुखहरुसँग पनि संक्षिप्त भेट गर्ने बताइएको छ । त्यसपछि उनी राष्ट्रपति कार्यालयमै हुने रात्रिभोजमा समेत सहभागी हुनेछन् ।


प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच शिष्टाचार भेटवार्ता भने शुक्रबार बिहानका लागि तय भएको छ । स्रोतका अनुसार बिहानको खाजा खाने गरी हैदरावाद हाउसमा हुने उक्त भेटवार्ता करिब आधा घन्टाको हुनेछ । भेटवार्ता द्विपक्षीय मुद्दाहरुमा भन्दा पनि नेपाल-भारत सम्बन्धका समग्र आयाममा केन्द्रित हुने बताइएको छ । स्रोतका अनुसार ओलीले सोही भेटमा भारतका नवनियुक्त प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको औपचारिक निम्तोसमेत दिनेछन् ।


डेढ वर्षअघि दोस्रो पटक प्रधानमन्त्री भए यता ओलीको यो दोस्रो भारत भ्रमण हो । यसअघि २०७४ सालको चैतमा ओलीले भारतको औपचारिक भ्रमण गरेका थिए । भ्रमणले चार वर्षअघि भारतद्वारा नेपालमाथि लगाएको नाकाबन्दी र त्यसको विरोधमा नेपालले लिएको अडान कारण मोदी र ओलीको सम्बन्धमा देखिएको अविश्वास र तिक्तता हटाउन सघाएको विश्वास गरिएको थियो । ओलीको भ्रमणलगत्तै मोदीले पनि नेपालको भ्रमण गरेका थिए । पछि फेरि काठमाडौंमा भएको विमस्टेकको चौथो शिखर सम्मेलनमा पनि मोदी सहभागी थिए ।


यी दुई पक्षीय भ्रमणले मोदी र ओलीबीच विश्वासिलो सम्बन्ध बनेको दाबी गरिँदै आएको थियो । तर, विमस्टेक सम्मेलनलगत्तै पुणेमा सम्पन्न विमस्टेक राष्ट्रहरुको संयुक्त सैन्य अभ्यासबाट अन्तिम समयमा नेपालले सहभागिता नजनाउने निर्णय गरेपछि मोदी र ओलीबीचको सम्बन्धमा पुनः दरार देखिन पुग्यो ।


त्यसपछि नेपालले तेस्रो मुलुक व्यापारका लागि उत्तरी छिमेकी चीनसँग पारवहन सम्झौतासँगै बिआरआई परियोजनाप्रति पूर्ण समर्थन जनाएपछि त झन् दिल्लीमा नेपाल चीनसँग अलि बढी नै नजिक हुँदै गएको विश्लेषण हुँदै आएको थियो । यसर्थ शुक्रबार बिहान मोदी र ओलीबीच हुने भेटले दिल्लीको नेपालप्रतिको त्यस किसिमको शंका निवारण गर्न र दुई प्रधानमन्त्रीबीच आपसी विश्वास कायम गराउन केही हदसम्म सघाउने अपेक्षा दुवै पक्षले गरेको छ ।


ओली शुक्रवार ३:४० को निगमकै नियमित उडानबाट स्वदेश फर्कने कार्यक्रम छ । ओली डिप्लोमेटिक इन्कलेभस्थित होटल ताज प्यालेस होटलमा बस्ने तय भएको छ । प्रकाशित : जेष्ठ १६, २०७६ १५:३१

प्रतिक्रिया
पठाउनुहोस्

आजदेखि विश्वकप क्रिकेट

एजेन्सी

वान डे खेलको सर्वोच्च प्रतियोगिता विश्वकप क्रिकेट २०१९ बिहीबारदेखि सुरु हुँदैछ । उपाधिको सबैभन्दा बलियो दाबेदार आयोजक इंग्ल्यान्डलाई नै मानिएको छ ।

इंग्ल्यान्डलाई चुनौती दिन सक्ने दुई टिम भने डिफेन्डिङ च्याम्पियन अस्ट्रेलिया र भारत हुनेछ । इंग्ल्यान्डले अहिलेसम्म वान डे विश्वकप जित्न सकेको छैन ।

सन् १९९२ सम्म तीन पल्ट फाइनल खेलेर पनि सबै अवसरमा इंग्ल्यान्ड उप विजेतमै सीमित रहनु परेको छ । तर धेरैको अनुमान छ, इंग्ल्यान्डको पीडादायी ४५ वर्षको पखाई यसपल्ट अन्त्य हुन सक्छ ।

सेतो बलमा कडा प्रहार गर्न माहिर विशेषज्ञ खेलाडीको वर्चश्व रहेको इंग्ल्यान्ड ५० ओभरको वान डे क्रिकेटको शीर्ष वरीयता प्राप्त टिम पनि हो । कोहलीको टिममा पनि स्टार खेलाडीका कुनै कमी छैन र यो टिमसँग भर्खर आईपीएल खेलेको बाक्लो अनुभव छ ।

सन् २०१५ मा पाँचौं पल्ट विश्वकप जितेको अस्ट्रेलिया भने आफ्नो दुई स्टार खेलाडी स्टिभ स्मिथ र डेविड वार्नरको पुनर्आगमनबाट उत्साहित छ । बल ट्याम्परिङ काण्डमा फसेर एक वर्षको प्रतिबन्धपछि उनीहरू टिममा फर्केका हुन् ।

कुल १० टिमको सहभागिता रहेको प्रतियोगितामा न्युजिल्यान्ड र दक्षिण अफ्रिकाले पनि उत्साहजनक प्रदर्शनको आश राख्ने छ । सहभागी सबै टिमले सुरुमा एकआपसविरुद्ध खेल्नेछ । लिग चरणको समाप्तीमा शीर्ष चारमा रहने टिमले सेमिफाइनल यात्रा तय गर्नेछ ।

प्रकाशित : जेष्ठ १६, २०७६ १५:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×