१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

पर्यटनमा पुरानै कार्यक्रम

सुरज कुँवर

काठमाडौँ — बजेटले पर्यटन क्षेत्रमा नयाँ कार्यत्रम ल्याएको छैन । केन्द्रीय सरकारले ल्याएको बजेटले प्रदेश र स्थानीय तहले गर्न सक्ने आकारका झिनामसिना कार्यक्रम मात्रै दोर्‍याएको व्यवसायीहरूले टिप्पणी गरेका छन् । उनीहरूले पुरानै कर्मकाण्डी कार्यक्रम मात्रै सरकारले बजेटमा ल्याएको प्रतिक्रिया दिएका छन् । 

पर्यटनमा पुरानै कार्यक्रम

‘खास नयाँ केही छैन, भएकै कार्यक्रम पनि ५०/६० प्रतिशत फत्ते गरे धेरै उपलब्धि मानिने छ,’ होटल संघका प्रथम उपाध्यक्ष विनायक शाहले भने । ‘झम्रण वर्ष २०२० को कार्यक्रम ०७५/७६ को व्यत्तव्यमा पनि थियो, यस वर्ष पनि सुनियो,’ शाहले भने, ‘अबको ६ महिनामा प्रक्रियामै सकिन्छ । कति पूर्वाधार बन्ला ?’

पर्यटनमन्त्री नभएकाले यसपटक नयाँ कार्यक्रम नदेखिएको नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का एक पूर्वअध्यक्षले भने । ‘लबिइङ गर्ने अगुवा नभएपछि राम्रा कार्यक्रमको आशा नै हुँदैन,’ उनले भने । नाट्टाका अध्यक्ष सीएन पाण्डले भने बजेटप्रति आफू सकारात्मक रहेको प्रतिक्रिया दिए । ‘पर्यटकीय पूर्वाधारमा कार्यक्रम आएका छन्, सुरुदेखि नै एक्सनमा गए समयमै उफलब्धि हासिल गर्न सकिन्छ ।’

व्यवसायीहरूले व्यक्तव्यमा ल्याइएका कार्यत्रममा नवीनता र उच्च आर्थिक वृद्धि गर्न सक्ने कार्यक्रम नभएको भनेका छन् । गत वर्ष उपत्यका नजिककै वैकल्पिक विमानस्थल निर्माणको कार्यक्रम थियो । १५ करोड बजेट पनि विनियोजन गरियो तर प्रारम्भिक अध्ययनबाहेक केही भएन ।

उल्टै संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले माधव नेपालको नेतृत्वमा गठन गरेको उपसमितिले रोकिदियो । यसपटक फेरि बजेटमा ‘उपत्यका नजिकको उपयुक्त स्थानमा वैकल्पिक आन्तरिक विमानस्थल निर्माण गरिने’ कार्यक्रम आएको छ ।

सम्भाव्यता अध्ययन नै नगरी आर्थिक वर्ष ०७५/७६ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग विस्तार गर्न तीनकुने–कोटेश्वर–जडीबुटी सडकलाई सुरुङमा बदल्ने कार्यक्रम थियो । आगामी वर्षका लागि पनि फेरि यही कार्यक्रम ल्याइएको छ । यसपटक उपत्यकाको सवारी चाप व्यवस्थापनका लागि सम्भाव्यता अध्ययन गर्ने भनिएको छ ।

प्रमुख पर्यटकीय स्थानलाई माइस (मिटिी, इन्सेन्टिभ्स्, कन्फ्रेन्स र एक्जिबिसन) पर्यटन स्थलका रूपमा विकास गर्न स्तरीय सडक, ठूला सभाहल तथा सम्मेलन केन्द्र जस्ता पूर्वाधार विकासमा जोड दिने कार्यक्रम फेरि ल्याइएको छ । विगतका बजेटमा पनि माइस पर्यटनबारे कार्यक्रम आए तर पर्यटन क्षेत्रसँग यस्ता पूर्वाधार बनाउने संस्था र विज्ञता अभाव छ । चीन सरकारले बनाइदिएको सम्मेलन केन्द्र पनि भवन अभावकै समस्या झेलिरहेको संघीय संसद्ले भाडामा प्रयोग गरिरहेको छ ।

कर्णालीको रारा क्षेत्रलाई राष्ट्रिय पर्यटन गन्तव्यका रूपमा विकास गरिने भनिएको छ । ०७५ सालमा कर्णाली प्रदेशले भम्रण वर्ष आयोजना गरेको थियो । तर लक्ष्यअनुसार पर्यटक तान्न सकेन । पूर्वाधार र सेवा सुविधा उपलब्ध गराउन दुबै तहका सरकार चुके ।

पर्यटन क्षेत्र पूर्वाधार विकासका लागि २ अर्ब ६८ करोड विनियोजन गरिएको छ । महाभारत क्षेत्रका सम्भाव्य पर्यटकीय स्थानहरूलाई बिदा मनाउन उपयुक्त शीतल आवासका रूपमा विकास गरिने कार्यक्रम ल्याइएको छ ।

हवाई क्षेत्रमा १५ अर्ब ८५ करोड विनियोजन गरिएको छ । यो रकम विगतदेखि सञ्चालनमा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको पहिलो चरणको कार्यका लागि ३ अर्ब ३४ करोड र पोखरा विमानस्थल निर्माण कार्यका लागि ८ अर्ब छुट्याइएको छ । यस वर्ष पनि निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको पूर्वतयारी कार्य अघि बढाइने भनिएको छ ।

अर्थमन्त्री युवराज खतिवडाले यसपटक प्रधानमन्क्री ओलीको जन्मथलो चुहानडाँडालगायत स्थानमा विमानस्थल निर्माण गर्ने कार्यत्रम ल्याएका छन् । चुहानडाँडा अवलोकन गर्न गएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको थियो । यस्तै दशकौंदेखि बन्द गोकुलेश्वर, कमलबजार, स्वर्गद्वारी विमानस्थल सञ्चालन गरिने भनिएको छ । विगतमा पनि यी विमानस्थल सञ्चालन गर्ने कार्यक्रम आएका थिए ।

तर सरकारी ध्वजावाहक कम्पनीमा हुने चरम गुटबन्दी र राजनीतीकरणले यी स्थानमा नियमित उडान हुन सकेनन् ।

पर्यटक बढाउन पर्यटक उद्गम हुने देशसँग हवाई सेवा सम्झौता गरिने भनिएको छ । नयाँ हवाई प्रवेश विन्दुहरू र तदनुरूप नयाँ हवाई मार्ग प्रयोगका लागि छिमेकी राष्ट्रहरूसँग समझदारी एवं सम्झाैता गरिने कार्यक्रम बजेटमा छ । यी कार्यत्रममा निजी क्षेत्रको पनि साझेदारी र सहकार्यलाई प्रोत्साहन गरिने भनिएको छ ।

प्रकाशित : जेष्ठ १६, २०७६ ०७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?