पुनःनिर्माणमा एक खर्ब ४१ अर्ब रुपैयाँ

कान्तिपुर संवाददाता

काठमाडौँ — आर्थिक वर्ष २०७६/७७ को बजेटमा भूकम्पपछिको पुनःनिर्माणका लागि एक खर्ब ४१ अर्ब बजेट विनियोजन गरिएको छ । 

आगामी आर्थिक वर्षभित्र निजी आवास पुनःनिर्माण सम्पन्न गर्न ५८ अर्ब ७३ करोड बजेट विनियोजन गरिएको अर्थमन्त्री डा युवराज खतिवडाले आज संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको वक्तव्यमा उल्लेख छ।

धरहरा आगामी वर्षभित्र सम्पन्न गर्न रु एक अर्ब बजेटको व्यवस्था गरिएको छ। भूकम्पले क्षति पुगेका सम्पदा दुई वर्षभित्रमा पुनःनिर्माण गरिसक्ने बजेटको लक्ष्य छ। पुनःनिर्माणमा स्थानीय समुदायसँग साझेदारी गरिने नीति बजेटको छ।

स्थानीय पूर्वाधार कार्यक्रमका लागि प्रत्येक निर्वाचन क्षेत्रका लागि रु छ करोड व्यवस्था भएको छ। तराई–मधेस समृद्धि कार्यक्रमलाई निरन्तरता दिइने भएको छ।

विद्यालयको भौतिक संरचना निर्माणमा स्थानीय समुदायसँग साझेदारी गर्ने नीति अवलम्बन गरिने र भूकम्पबाट क्षति पुगेका सबै विद्यालयहरुको पुनःनिर्माण कार्यमा तीव्रता ल्याइने अर्थमन्त्री खतिवडाको भनाइ छ।

प्रकाशित : जेष्ठ १५, २०७६ १९:१०
प्रतिक्रिया
पठाउनुहोस्

आगामी आर्थिक वर्षको बजेट १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले आगामी आर्थिक वर्षका लागि १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ । संघीय संसद्को संयुक्त बैठकमा बुधबार बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले विनियोजित रकममध्ये चालु खर्च नौ खर्ब ५७ अर्ब १० करोड १४ लाख र  पूँजीगततर्फ चार खर्ब आठ अर्ब ५९ लाख निर्धारण गरिएको बताए । त्यसैगरी वित्तीय व्यवस्थातर्फ एक खर्ब ६७ अर्ब ८५ करोड ९८ लाख रुपैयाँ  विनियोजन गरिएको छ । 


आगामी आवमा अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये राजश्वबाट नौ खर्ब ८१ अर्ब १३ करोड ८३ लाख तथा वैदेशिक अनुदानबाट रु ५७ अर्ब ९९ करोड ५५ लाख रुपैयाँ उपयोग गर्दा नपुग्ने चार खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बराबरको रकम वैदेशिक ऋण र अन्य स्रोतबाट व्यहोरिनेछ।

चालू आवका लागि गत वर्ष १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख बराबरको बजेट प्रस्तुत गरिएको थियो। कूल विनियोजनमध्ये चालूतर्फ रु आठ खर्ब ४५ अर्ब ४४ करोड ७५ लाख, पूँजीगततर्फ रु तीन खर्ब १३ अर्ब ९९ करोड ८२ लाख र वित्तीय व्यवस्थातर्फ रु एक खर्ब ५५ अर्ब ७१ करोड ७० लाख विनियोजन गरिएको थियो। नेपालको संविधानमा नै हरेक वर्ष जेठ १५ गते अर्थात् गणतन्त्र दिवसको दिन बजेट प्रस्तुत गर्नुपर्ने प्रावधान छ।

प्रकाशित : जेष्ठ १५, २०७६ १९:०४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्