बजेट भाषण : युवा तथा खेलकुदको बजेट २० करोड घट्यो

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले युवा तथा खेलकुदका लागि ३ अर्ब ९९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री युवराज खतिवडाले बुधबार संसदमा पेश गरेको युवा तथा खेलकुद बजेट गत वर्षभन्दा झण्डै २० करोड कम हो । गत वर्ष ४ अर्ब १८ करोड ९५ लाख विनियोजन गरिएको थियो । 


बालबालिका, युवाको स्वास्थ्य शारीरिक तथा मानसिक विकासका लागि खेलकुदलाई अगाडि बढाउन संघ, प्रदेश र स्थानीय तहको सहकार्यमा समुदायस्तरदेखि नै नियमित रुपमा खेलकुद प्रतियोगिताको आयोजना, खेलाडीको प्रशिक्षण, क्षमता विकास र प्रोत्साहनका कार्यक्रमहरु सञ्चालन गर्ने बजेटमा उल्लेख छ ।


काठमाडौं उपत्यकामा अन्तर्राष्ट्रियस्तरको खेलकुद परिषद निर्माण गर्न प्रारम्भिक अध्ययन गरिने, सबै प्रदेशमा प्रदेशसँगको सहलगानीमा प्रदेशस्तरीय सुविधासम्पन्न रंगशाला र प्रदेश तथा स्थानीय तहसँगको सहलगानीमा सबै स्थानीय तहहरुमा खेलग्रामको विकास गर्न ४० करोड बजेट छुट्याइएको छ । यो अघिल्लो वर्षकै कार्यक्रमको निरन्तरता हो ।


काठमाडौंको मूलपानीमा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान २ वर्षमा सम्पन्न गर्न १० करोड विनियोजन गरिएको छ । २०७१ सालयता यस मैदानको निर्माणका लागि २४ करोडभन्दा बढी खर्च भइसकेको छ ।


निजी क्षेक्रको अग्रसरतामा हुने त्रिकेट लगायतका खेल मैदान निर्माण कार्यलाई सरकारले प्रोत्साहन गर्ने तथा क्रिकेटको विकासका लागि त्रिकेट एकेडेमी स्थापना गरिने बजेटमा उल्लेछ छ ।


अर्थमन्त्री खतिवडाले १३औं दक्षिण एसियाली खेलकुदको पूर्वाधार विकास तथा नवौं राष्ट्रिय खेलकुदका लागि आवश्यक रकम विनियोजन गरिएको जानकारी दिएका छन् ।

प्रकाशित : जेष्ठ १५, २०७६ १८:१२
प्रतिक्रिया
पठाउनुहोस्

बजेट भाषण : गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई ३ अर्ब

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई ३ अर्ब ३४ करोड बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षभित्र विमानस्थल निर्माण कार्य सम्पन्न गरी सञ्चालनमा ल्याउने सरकारको तयारी छ । विमानस्थलको ७४ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । 


संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई प्रमुख प्राथमकितामा राखिएको बताए ।

यस्तै निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई ८ अर्ब बजेट विनियोजन गरिएको छ । विमानस्थल सन् २०२० को अन्त्यसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । विमानस्थलनको धावनमार्ग निर्माण सम्पन्न भइसकेको छ ।

काठमाडौँ उपत्यका नजिकै अर्को आन्तरिक विमानस्थल निर्माण गरिने सरकारको लक्ष्य छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थलको रुपमा अगाडि बढाउने लक्ष्य राखिएको अर्थमन्त्री खतिवडाले बताए । केही विमानस्थललाई रात्रिकालिन उडान हुने गरी व्यवस्थापन गर्ने लक्ष्य राखिएको उनले बताए ।

प्रकाशित : जेष्ठ १५, २०७६ १८:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×