ऊन ल्याउँदै खुल्यो तातोपानी नाका

दुवै देशका अधिकारीबाट मितेरी पुलमा औपचारिक घोषणा
अनिश तिवारी

तातोपानी (सिन्धुपाल्चोक) — भूकम्प लगत्तै बन्द भएको उत्तरी तातोपानी नाका चारवर्षपछि निर्माणाधिन् मितेरी पुलबाट चारवटा कन्टेनरसहित ऊन ल्याउँदै सञ्चालनमा आएको छ । बुधबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादव, सांसद्वय र चीनका वाणिज्य उपमन्त्री झाङ जि वइन, राजदूतसहितको दुवै देशको उच्च अधिकारीले संयुक्त रुपमा रिबन काट्दै चारवटा कन्टेनरमा ऊन लोड गरेर नाका खुलेको औपचारिक घोषणा गरे । 

‘दुवै देशको हितार्थ तातोपानी नाका आजबाट खोलिएको छ, चिनियाँ राष्ट्रपति सि चिन फिङको सन्देश सुनाउँदै अमर मित्रताको कामना गर्छु,’ चिनियाँ उपमन्त्री झाङ जि वइनले भने । नेपाल चिनको मित्रता अमर राख्ने कामना गर्दै नाका सुचारु गरिएको उनले सुनाए ।

‘नाका खुल्नाले दुवै देशको समृद्धीमा ठूलो सहयोग पुग्नेछ, दुवै देशको सम्बन्ध झनै समुधुर बन्नेछ,’उनले भने । तातोपानी नाका खुल्दा नेपाललाई ठूलो सहयोग पुगेको बताउँदै उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री यादवले चीनका उच्च स्तरिय टोलीलाई मुरी धन्यवाद दिए । ‘नेपाल र चीनको सम्बन्ध गहिरो छ, यही व्यवसाय व्यापारमा सिमित मात्रै होइन्,’उनले भने । उनले दुवै देशको सम्बन्ध कुटनीति, राजनीतिक, साँस्कृतिक मात्रै नभइ जनताबीच समेत रहेको बताए ।

सोमबार (नेपाल/चीन )पास प्रक्रिया पुरा गरेर खासा गएका कन्टेनर र दश जना लोडर नाका चलेको संकेत दिँदै ऊन लिएर बुधबार नेपाल फर्किएको भोटेकोसी गाउँपालिकाका प्रमुख राजकुमार पौडेलले बताए ।

‘हालैलाई यही ऊनबाट नाका फर्किएको छ, पुनः सामाग्री ल्याउन स्थायी रुपमा लैजान भने अझै केही समय चीन पक्षले मागेको छ, ’ खासामा चीन र नेपालबीचको आन्तरिक छलफलबारे सुनाउँदै पौडेलले भने ।

नाका खुलेको हर्षमा स्थानीयले मितेरी पुलको नेपाल चीन बिचको क्षेत्रमा भव्य स्वागत गर्दै जनप्रतिनिधिलाई सम्मान गरेको उनले प्रष्ट्याए । चीन सरकारले तयार पारेको अत्याधुनिक सुक्खा बन्दरगाह, कोदारी राजमार्गदेखि निर्माणाधीन मितेरी पुल हस्तान्तरण गरेको छैन । ‘दसैंताका व्यापार पहिलेजस्तै सञ्चालनमा आउने चिनियाँ पक्षको भनाइ छ,’उनले भने ।

चीनपट्टी अझै पूरा तैयार भइनसकेकाले हालै औपचारिक रुपमा नाका खोलेपनि सामाग्री आयात निर्यात गर्न केही कठिनाइ बनेको छ । सोमबार तातोपानी क्षेत्रको निरीक्षणमा पुगेकी नेपालको लागि चिनिया राजदूत होउ याङ छिले सुरुवातीमा यही समस्या पोख्दै मालवाहक सवारी मात्रै आउजाउ हुने बताएकी थिइन् ।

तातोपानी भन्सारमा फर्किए कर्मचारी
नाका खुल्ने निश्चत भइसकेपछि तातोपानी भन्सारमा ५५ जनामा नौ जना , क्वारेन्टाइनको ५ जनामा ३ जना र अध्यागमन कार्यालयको १५ जनामा ८ जना आइसकेका छन् ।

‘नाकामा ‘पास सिस्टम’ र अन्य कार्यभार व्यवस्थित बनाउन कर्मचारी सबै फर्किसकेका छन्,’ भोटेकोसी गाउँपालिका वडा २ का अध्यक्ष दीपेन्द्रकुमार श्रेष्ठले भने । आहिले मालवाहक सवारीसाधन मात्रै आउजाउ हुने सहमती भएपनि पछि स्थानीय र व्यवसायीलाई हुनेगरी पास व्यवस्थित बनाइने योजना रहेको उनले प्रष्ट्याए ।

प्रकाशित : जेष्ठ १५, २०७६ १७:०९
प्रतिक्रिया
पठाउनुहोस्

बजेट भाषण : आगामी वर्ष ‘वृक्षारोपण वर्ष’

कान्तिपुर संवाददाता

काठमाडौँ — अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७६/०७७ को बजेट पेश गर्दै आउँदो वर्ष वृक्षरोपण वर्षको रुपमा मनाउने घोषणा गरेका छन् । यस्तै राष्ट्रपति चुरे संरक्षण कार्यक्रमका लागि १ अर्ब ७४ करोड विनियोजन गरेको बताएका छन् । यो कार्यक्रमको संरचना परिवर्तन गरिने पनि उनले उल्लेख गरेका छन् ।

यस्तै प्रधानमन्त्री कृषि आधुनिककरण परियोजनाका लागि ८ अर्ब बजेट विनियोजन गरेको बताएका छन्। त्यसका साथै रसायनीक मल खरिद अनुदान ५० प्रतिशतले वृद्धि गरी ९ अर्ब रुपैयाँ पुर्‍याइएको छ।

अर्थमन्त्री खतिवडाले कृषि तथा पशपुपंक्षी विकासका लागि ३४ अर्ब ८० करोड विनियोजन गरेको जानकारी दिएका छन्। यस्तै सिंचाई क्षेत्रका लागि २३ अर्ब ६३ करोड बजेट विनियोजन गरिएको छ।

प्रकाशित : जेष्ठ १५, २०७६ १७:०२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्