एभरेष्ट म्याराथनको उपाधि सुमन कुलुङलाई

कुम्भराज राई

ओखलढुंगा — यसवर्षको एभरेष्ट म्याराथनको उपाधि सुमन कुलुङले जितेका छन् । बुधबार सगरमाथा आधारशिविरदेखि नाम्चे सम्मको ४२ किलोमिटर दुरी उनले ३ घण्टा ४७ मिनेट १६ सेकेन्डमा पार गरे । कुलुङ सन् २०१७ को पनि उपाधि विजेता हुन् । 

यसवर्षको एभरेष्ट म्याराथन विजेता सुमन कुलुङ । फाइल तस्बिरः कान्तिपुर

कपिलदेव बुढाले सोही दुरी ३ घण्टा ५६ मिनेट १० सेकेन्डमा पार गर्दै उपविजेतामा चित्त बुझाए । त्यसैगरी रामकुमार राजभण्डारीले ३ घण्टा ५८ मिनेटमा निर्धारित दुरी पार गर्दै तेस्रो भए । फुल म्याराथनमा विभिन्न देशका गरी १ सय ८७ धावकहरु प्रतिस्पर्धामा थिए ।

उपाधि विजेता कुलुङ सोलुखुम्बुको गुदेलका स्थानीय हुन् । उनले पर्यटकको भारी बोक्दाबोक्दै म्याराथन दौडिन थालेका थिए । हाल उनलाई अल्ट्रा धावकको रुपमा चिनिन्छ ।

त्यसैगरि दिङबोचेदेखि नाम्चे सम्म २१ किलोमिटरको हाफ म्याराथनको उपाधि बेलायतका अलेक्जेन्डर विलियम जल्यान्डले जितेका छन् । उनले निर्धारित दुरी ३ घण्टा आठ मिनेटमा पुरा गरे । त्यसैगरि ब्राजिलका कार्लोस फ्रेडेरिको उपविजेता भए । उनले ३ घण्टा ४२ मिनेट ५० सेकेन्डमा दुरी पार गरे । त्यसैगरी भारतका जेरोमी लियोडले ३ घण्टा ४४ मिनेट ५५ सेकेन्डमा निर्धारित दुरी पार गर्दै तेस्रो भए ।

हाफ म्याराथनमा विभिन्न देशका १२ जनाले प्रतिस्पर्धा गरेका थिए । ६० किलोमिटर दुरीको अल्ट्रा म्याराथनको परिणाम भने आउन बाँकी छ । हिमालय एक्सिपिडिशनले सन् २००३ देखि वर्षेनी एभरेष्ट म्याराथन आयोजना गर्दै आएको छ । यो संसारकै सबैभन्दा उचाइमा आयोजना हुने अल्ट्रा रेसको रुपमा समेत प्रसिद्ध छ ।

प्रकाशित : जेष्ठ १५, २०७६ १३:५५
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

२१ वर्षदेखि सगरमाथामा बाटो बनाउँदै

कुम्भराज राई

सोलुखुम्बु — गाला मुजा परिसके । दाँत झर्न थालिसक्यो । नाडीमा पहिले जस्तो शक्ति छैन । दुई नातिनी हुर्किसके । तीन छोरा र दुई छोरी आफैं कमाएर खान्छन् । तर, खुम्बुपासाङल्हामु ३ का आङकामी शेर्पालाई आरोहणको मौसम लागेपछि घरमा बसुँ जस्तो लाग्दैन । उनी झोला भिरेर सगरमाथातिर लागिहाल्छन् ।


हिमालमा काम गर्न थालेको ३९ वर्ष बितिसकेछ । ‘आइसफल डाक्टर’ को काम गर्ने उनी सबैभन्दा पुराना शेर्पा हुन् । उनले काम गर्दै आएको २१ वर्ष भयो । आइसफल डाक्टरको काम बर्सेनि आरोहण मौसममा आधारशिविरदेखि दोस्रो शिविरसम्म बाटो बनाउनु हो । जहाँ अधिकांश ठाउँमा आल्मुनियमका फलाम जोड्नुपर्ने हुन्छ । खुम्बु आइसफल जस्तो जोखिमयुक्त ठाउँमा सबैभन्दा पहिले उनीहरूको पाइलाले डोब बनाउँछ ।

फलामको किला गाड्ने, भर्‍याङ टाँग्ने,झुन्ड्याउने, डोरीले बाँध्ने काम उनीहरूको जिम्मामा हुन्छ । कतिपय आइसफल डाक्टरले बाटो बनाउने क्रममै ज्यान गुमाएका छन् । धन्न उनी आफ्नो भाग्य बलियो भएकाले बाँचिरहेको बताउँछन् । यसपालिदेखि उनले उक्त जिम्मेवारी बिसाएका छन् ।

‘२१ वर्ष त आइसफल डाक्टरको काम गरेँ,’ आधारशिविरमा सगरमाथा प्रदूषण नियन्त्रण समितिको कार्यालयमा भेटिएका आङकामीले भने, ‘अबदेखि चाहिँ आधारशिविरमै बसेर व्यवस्थापनमा सहयोग गर्ने र नयाँलाई सल्लाह सुझाव दिने काम गर्छु ।’ उनी अहिले ६६ वर्षका भइसके । उनले सन् सन् १९७५ देखि हिमालमा काम गर्न थालेका हुन् । काम उनले दिनको २८ रुपैयाँबाट थालेका थिए । अहिले पनि त्यति धेरै त पारिश्रमिक छैन । दैनिक १२ सयदेखि १५ सयसम्म पाउने गर्छन् ।

हिमालमा ज्यानै जोखिममा पारेर काम गर्नेले धेरै पैसा कमाउँछन् भन्ने भ्रम अझै धेरैमा छ । धेरैमा तीनदेखि चार महिनामा कमाएको पैसाले वर्षभरि जीवन धान्नुपर्ने बाध्यता उनीहरूमा छ । हिमालमा जिन्दगीको धेरै वर्ष बिताइसकेका उनलाई पुरानो सम्झना ताजै छ । पहिले सगरमाथामा ५ फिटसम्म हिउँ पर्थ्यो । अहिले एक फिट पर्न पनि गाह्रो छ ।

‘जो पायो त्यही आएर हिमाल चढेका छन्,’ आङकामी भन्छन्, ‘यो त हाम्री देवी हुन् । जुठो पर्‍यो होला । अहिले हिउँ पर्नै छोड्यो । खुम्बु ग्लेसियर गहिरिएर खाल्डो भइसक्यो ।’ सगरमाथा सफाइको कुरामा चाहिँ पहिलेभन्दा अहिले सफा भएको उनको दाबी छ । एसपीसीसीले निरन्तर गरेको कामले गर्दा पहिलेभन्दा सफा भएको उनले बताए ।

दुर्भाग्य भनौं वा के उनले सगरमाथाको चुचुरोमा भने पाइला टेक्न सकेनन् । ८ हजार ५ सय मिटरसम्म बाटो बनाउन ५ पटक पुगे । उनी चुचुरोमा भने पुगेनन् । उनले बनाएको बाटोबाट बर्सेनि सयौंले शिखर चुमे । कसैले त्यही प्रमाणपत्र देखाएर करोडौं, अर्बौं कमाए । तर आङकामीको जीवन भने उस्तै छ ।

प्रकाशित : जेष्ठ १४, २०७६ ०७:५३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×