अपहरित ७ वर्षीय बालकको हत्या, गाेली प्रहार गरी दुई अपहरणकारी पक्राउ

भूषण यादव

वीरगन्ज — वीरगन्ज महानगरपालिका–३ छपकैयाबाट ५ दिन अगाडि अपहरणमा परेका ७ वर्षीय बालक करण कुमार तुरहाकाे हत्या गरिएकाे छ । बाराको कलैया उपमहानगरपालिका–२५ स्थित खौराही खोलामा बुधबार राति २ बजे उनको शव फेला परेको प्रहरीले जनाएको छ ।

भाग्दै गरेका दुईजना अपहरणकारीलाई प्रहरीले गोली प्रहार गरि नियन्त्रणमा लिएको छ।गोली लागेर घाइते भएका भारत बेतिया घर भई छपकैयामा काम गर्दै आएका २० वर्षीय विकास शर्मा र कलैया उपमहानगरपालिका– ११ का सिकेन्द्र साहको नारायणी अस्पतालमा उपचार भइरहेको छ।

दुबैको दाहिने खुट्टामा गोली लागेको छ। प्रदेश २ प्रहरी कार्यालय र जिल्ला प्रहरीको संयुक्त टोलीले करण अपहरणमा तीनजना संलग्न रहेको पाएपछि शर्मा र साहलाई नियन्त्रणमा लिएको थियो। करणको हत्या गरिसकेको खुलेपछि दुबैलाई लिएर प्रहरी घटनास्थल पुगेको थियो।

घटनास्थलमा अनुसन्धान चलिरहँदा भाग्ने प्रयास गरेका शर्मा र साहमाथि गोली प्रहार गरिएको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जनाए। अपहरणमा संलग्न रहेका तेस्रो व्यक्ति बाराको खपरताता बस्ने २१ वर्षीय राम विनेश महतोलाई प्रहरीले सार्वजनिक गरेको छ।

अपहरण भएकै दिनदेखि अपहरणकारीले नेपाली नम्बरबाटै फोन गरेर पटक–पटक फिरैती माग गर्दा पनि प्रहरी अनुसन्धानमा गम्भीर नबनेको परिवारजनको आरोप छ। ‘छोरा अपहरण भएको दिनदेखि नै अपहरणकारीले पैसा माग गरिरहेका थिए,’ मृतक बालकका बुवा शम्भु तुरहाले भने, ‘यो सबै कुरा प्रहरीलाई जानकारी गराएको थिएँ, अपहरणकारी कलैयामा छुँ भन्थ्यो, तर, प्रहरीले ५ दिनसम्म पत्ता लगाउन सकेन।’

१० बजे स्कुलबाट घर आइपुग्नुपर्ने छोरा १२ बजेसम्म पनि नआउँदा श्रीमती ललिता देवीले छोरा कहाँ गयो भनि फोन गरेर सोधेको उनले सुनाए। ‘साथीहरुसँग कतै खेलिरहेको होला भनि जवाफ दिए,’ उनले भने, ‘साँझ अबेरसम्म पनि छोरो नआउँदा वरिपरि खोज्न थाल्यौँ। त्यहीबेला मोबाइलमा फोन आयो ‘तेरो छोरा चाहियो भने ३० लाख रुपैयाको व्यवस्था गर’।’

प्रहरीकाे गाेली लागेर घाइते भएका विकास शर्मा र सिकेन्द्र साह। तस्बिर : कान्तिपुर


प्रहरी उपरीक्षक रेवती ढकालले बालक अपहरणमा प्रहरीले सक्रिय रुपले अनुसन्धान गरेको दाबी गरे। ‘शुक्रबार राति करिब सवा दश बजेको समयमा करण अपहरणमा परेको जानकारी आयो,’ एसपी ढकालले भने, ‘अपहरण गरेकै दिन बालकको हत्या गरिसकेका रहेछन्।’ अनुसन्धानकै क्रममा तीनजनाले अपहरण गरेको खुलेको उनले जनाए।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा शम्भुको घर नजिकै बस्दै आएका विकास शर्माले करणको अपहरण गरी कलैयाका सिकेन्द्र साह र रामविनेश महतोको जिम्मा लगाएका थिए।कबाड कारोबारी शम्भुका छोरा करण गत शुक्रबार विद्यालय छुट्टी भएर घर फर्किने क्रममा अपहरणमा परेका थिए। अपहरणकारीले शम्भुलाई त्यही दिन फोन गरि ३० लाख रुपैयाँ फिरौती मागेका थिए। ‘मोलमोलाई पछि ५ लाख रुपैयाँमा झरेका थिए,’ शम्भुले भने, ‘सरसापट गरी २ लाख रुपैया जति जम्मा गरेको थिएँ।’ उनका अनुसार अपुग पैसा प्रहरीले जोहो गरिदिने र एक हातले पैसा र अर्को हातले बच्चा लिने कुरा भएको थियो।

‘तर, अपहरणकारीले यो कुरा मानेन्,’ उनले भने, ‘पैसा लिएको केही समयपछि करणलाई बसमा पठाइदिन्छौँ भन्थे, बुधबार बिहान त शव नै फेला परेको प्रहरीले जानकारी दियो।’ एसपी रेवती ढकालले पैसा दिएर बच्चा नदिने सम्भावना पनि रहेकोले एक हातले पैसा र अर्कोले बच्चा लिने कुरा भएको थियो। ‘अपहरण गरेको दुई घन्टा पछिनै बालकको हत्या गरिसेकेका थिए,’ उनले भने, ‘बच्चाको रेर्कडेड आवाज परिवारलाई सुनाएर बार्गेनिङ गरिरहेका थिए।’

प्रकाशित : जेष्ठ १५, २०७६ ११:३०
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

प्रदेशसभा बैठक : सांसद विकास कोष स्थापना गर्न माग

लीलावल्लभ घिमिरे

विराटनगर — निर्वाचनका बेला आफूले मतदातासँग विकास गर्ने वाचा गरेको भन्दै प्रदेश १ का सांसदले सांसद विकास कोष स्थापना गर्न माग गरेका छन् । उनीहरूले कोषमा ५ करोड रुपैयाँ विनियोजन गरिनुपर्ने माग गरे ।

यसबाहेक हरेक सांसदलाई सानातिना योजनामा रकम दिन १ करोडका दरले रकम दिनुपर्ने माग गरे । मंगलबार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रवहादुर आङबोले प्रस्तुत गरेको विनियोजन विधेयकमा समावेश हुने बजेट तथा कार्यक्रमको सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीतिसहितको पूर्वबजेट छलफलमा भाग लिंदै सांसदले माग गरेका हुन् ।

सत्तापक्षका सांसद झलकबहादुर मगरले ‘प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम’ को रकम ५ करोड बनाउन माग गरे । चालु आर्थिक वर्षमा प्रदेश सरकारले हरेक निर्वाचन क्षेक्रमा यो कार्यत्रमका लागि भन्दै २ करोड रुपैयाँ विनियोजन गरेको छ ।

सत्तापक्षकै सांसद विमल कार्की निर्वाचन क्षेत्रको विकासका लागि सांसद विकास कोषमा ५ करोड छुट्याउनुपर्ने र हरेक सांसदलाई क्षेत्रको विकासका लागि १ करोड दिनुपर्ने माग गरे । सत्तापक्षकै सांसद सर्वध्वज साँवाले निर्वाचन क्षेक्र विकास कार्यत्रमको रकम वृद्धि गर्न माग गरे ।

यसैगरी कांग्रेसका सांसद विद्यानन्द चौधरीले सरकारले सांसदहरूबीच विभेद गरेको भन्दै समानुपातिकतर्फका सांसदलाई पनि निर्वाचन क्षेक्र विकास कार्यत्रममा रकम दिनुपर्ने माग गरे ।

कांग्रेसकै सन्जाकुमारी दनुवारले समानुपातिक सांसदलाई सरकारले विभेद र उपेक्षा गरेको भन्दै आफूहरूले पनि १४ जिल्लाबाट मत पाएको भन्दै बजेट बराबरी दिनुपर्ने माग गरिन् । यो प्रदेशमा ३७ जना समानुपातिक सांसद छन् ।
तर सत्तापक्षका सांसद कुलप्रसाद सम्बाले ‘प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम’ को रकम सही ठाउँमा सदुपयोग नहुने हुँदा सांसदलाई विकास गर्न छुट्टै रकम दिनु नपर्ने धारणा राखे ।

चालु आर्थिक वर्षमा प्रदेश १ का १४ जिल्लामा ५६ वाट प्रदेश निर्वाचन क्षेत्र छन् । त्यसका लागि १ अर्ब १२ करोड विनियोजन गरीएको थियो ।

पूर्वबजेटमाथिको छलफलमा भाग लिंदै नेकपाका सांसद उपेन्द्रप्रसाद घिमिरेले जमिन खण्डीकरण रोक्नेजस्ता जनजीविकामा प्रत्यक्ष प्रभाव पार्ने कार्यक्रम समेट्न आग्रह गरे । सत्ता पक्षकै खिनुलङा लिम्बूले प्रदेशका गौरवका योजनामा आवश्यक रकम राख्न माग गरिन् । सांसद नारायणबहादुर मगरले खानेपानीलाई प्राथमिकतामा राख्न आग्रह गर्दै अनुगमनको पाटो कम्जोर हुँदा प्रभावकारी काम बन्ननसकेको बताए ।

कांग्रेस संसादीय दलका सचेतक सुयर्माराज राईले विधेयकमासमावेश हुने बजेट तथा कार्यक्रमको सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीतिहरू हेर्दा विगतको निरन्तरता मात्र भएको टिप्पणी गरे । बजेटले प्राथमिकता क्रम निर्धाराण गर्न नसक्दा बजेट आफैं अन्योलमा परेको टिप्पणी गरे । छलफलमा नेकपाकी सावित्राकुमारी रेग्मीलगायतले भाग लिएका थिए ।

प्रकाशित : जेष्ठ १५, २०७६ १०:०५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT