कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

एक दिनमै ट्रान्सक्रिप्ट घोषणामै सीमित

काठमाडौँ — एक वर्षअघि त्रिभुवन विश्वविद्यालयले २४ घण्टाभिक्रै विद्यार्थीले ट्रान्सत्रिप्ट लिन सक्ने व्यवस्था मिलाएको घोषणा गरेको थियो ।

उपकुलपति तीर्थराज खनियाँले शिक्षाशास्क्रका मनोजकुमार सिंहलाई ट्रान्सत्रिप्ट दिँदै ‘अब एक दिनमै जसले पनि लिन सक्ने’ उद्घोष गरे । तर अहिले पनि ट्रान्सक्रिप्ट लिन कम्तीमा एक साता पर्खनैपर्ने बाध्यता रहेको विद्यार्थीको गुनासो छ ।


नयाँ व्यवस्थाबारे समाचार पढेपछि ट्रान्सक्रिप्ट लिन गएका शिक्षा संकायका विद्यार्थी सुमित चन्द मलिकले पुरानै चलनअनुसार कुर्नुपर्‍यो । ‘समाचारलाई गलत भनौं कि विश्वविद्यालयको घोषणालाई ?’ उनले भने, ‘जसलाई गलत भने पनि मर्कामा त हामी विद्यार्थी नै पर्छौं ।’ आफूले बुझाएको विवरणमा कुनै गल्ती नभए पनि ट्रान्सक्रिप्ट लिन १० दिन लागेको उनको गुनासो छ ।


शिक्षाशास्त्रकै सुरेश परियारलाई ट्रान्सक्रिप्ट लिन एक महिना लाग्यो । रजिस्ट्रेसन नम्बर र नामको हिज्जे गलत पर्न गएकाले सच्याएर लिन खोज्दा ढिलाइ हुन पुग्यो । ‘त्रिवि कर्मचारीले गर्ने काम गलत हुन्छ तर दुःख हामीले भोग्नुपर्छ,’ उनी भन्छन्, ‘फर्म भर्दा नाम सही हुन्छ तर रजिस्ट्रेसन कार्ड आउँदा अक्षर नै गलत हुन्छ ।’


ट्रान्सक्रिप्टका लागि गल्ती सच्याउन गोप्य शाखामा गएर फर्म भर्नुपर्ने, पैसा तिर्नुपर्ने भनी उनले गुनासो गरे । त्यस्तै, विज्ञानका विद्यार्थी मोहनकृष्ण कर्माचार्यले प्रमाणपत्रका लागि चैत मसान्तमा फर्म बुझाएका थिए तर जेठमा पनि पाउन सकेका छैनन् । उनका अनुसार फर्म बुझाउँदा नै एक महिनापछि आउनू भनिएको थियो ।


परीक्षा नियन्त्रण कार्यालय भने उपकुलपति खनियाँले भनेझैं एकै दिनमा ट्रान्सक्रिप्ट दिन सक्ने क्षमता त्रिविसँग भएको दाबी गर्छ । परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार शिक्षा र मानविकी संकायका विद्यार्थीले अहिले पनि एक दिनमै ट्रान्सक्रिप्ट लिन सक्छन् । ‘अन्य संकायका विद्यार्थीले पनि एक दिनमै लिन सक्ने व्यवस्था गर्दै छौं,’ उनले भने ।

प्रकाशित : जेष्ठ १५, २०७६ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?