कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

सामाखुसी खोलाको मुहानैदेखि अतिक्रमण

शिल्पा कर्ण

काठमाडौँ — चावहिलबाट बसुन्धरा जाँदा बीचमा बसुन्धरा पुल छ । जसले टोखा नगरपालिका वडा नं. ५ र काठमाडौं महानगरपालिका वडा नं. ३ लाई छुट्याउँछ । टोखातर्फ हेर्दा सडक छन्, तर महानगरपालिकातर्फ हेर्दा अलिक फराकिलो ढलझैं संरचना देखिन्छ । त्यही हो सामाखुसी खोला ।

सामाखुसी खोलाको मुहानैदेखि अतिक्रमण

टोखापट्टि छोपिएकाले खोला बिलाएको हो । त्यसभन्दा मास्तिर खोलाको भाग झनै साँघुरिएको छ । महानगरतर्फ पनि विस्तारै खोला छोप्ने क्रम बढिरहेको छ । विद्युत् प्राधिकरण महाराजगन्ज शाखा पनि खोला छेवैमा पार्किङ

राखेर बसिरहेको छ ।

अहिले यो खोलाको जन्म हुन्छ न्युरो अस्पताल नजिकबाट । ‘पहिला शिवपुरीको जंगलबाट आउँथ्यो, अहिले त पूरै ढल भइसक्यो पानी नै छैन,’ टोखा वडा नं. ५ का अध्यक्ष जगन्नाथ ढकाल भन्छन्, ‘अब त्यहाँ ५/६ तले घर बनिसकेका छन् । भत्काउनै गाह्रो हुन्छ ।’

उनले शौचालयका मंगाल र फोहोर पानी बग्ने ढलका रूपमा परिणत भएकाले स्थानीयले छोप्नुपरेको बताए । ‘पहिला खोला थियो, अहिले नाला भइसक्यो । वर्षामा मात्र पानी बग्छ, अस्तव्यस्त भइसकेको छ त्यस क्षेत्रमा संरचना निर्माणले,’ वडाध्यक्ष ढकालले भने । सडक र वरपरका पसलेले सामान राख्ने गरेका छन् भने खोलामाथिको ढलान आँगनझैं भएको छ केहीका लागि ।

उनलाई सम्झना छ, पहिले त्यहाँ कञ्चन पानी बगेको । खोलामा पाइने असला माछा मारेको सम्झन्छन् उनी । तर विस्तारै आफ्नै आँखा अगाडि खोलामा मलमूत्र बग्न थालिसकेको छ र यसको दोष उनी कर्मचारीलाई दिन्छन् । स्थानीय निकायको चुनाव नहुँदा तत्कालीन धापासी गाविसले खोला किनारको मापदण्ड लागू नगराएको उनको भनाइ छ ।

जनप्रतिनिधि नआएको समयमा कर्मचारीको कारणले अव्यवस्थित संरचना बढेको र खोला छोपिएको उनले बताए । ‘अब हामीले नयाँ पानी हाल्न सक्ने होइन । २० वर्षयता कति निर्माण भए तर रोक्न सकिएन,’ ढकालले भने, ‘अब भत्काइयो भने पनि मुआब्जा दिन सक्ने नगरको हैसियत छैन । भत्काए नगर झनै कुरूप होला भन्ने चिन्ता छ ।’

अर्कातिर महानगरपालिका वडा नं. ३ का अध्यक्ष दीपक केसीले ३० वर्षभन्दा बढी समयदेखि सामाखुसी खोलाका विभिन्न हिस्सा छोपिएको बताए । ‘हाम्रोतिर कतै–कतै मात्र छोपिएको छ । तर हामी मापदण्ड खोल्दै छौं,’ वडाध्यक्ष केसीले भने । हाल उक्त खोलाको वरपर पर्ने सबै बस्तीवासीले त्यसैमा ढल मंगाल मिसाएका छन् । सुकुम्बासी बस्तीको फोहोर पनि त्यसैमा फाल्ने गरिएको छ । खोला बग्ने ठाउँ–ठाउँमा खोला छोपेर त्यसैमाथि बस्ती र व्यवसाय सञ्चालनका साथै सडकका रूपमा पनि प्रयोग भएको देखिन्छ ।

यो खोलाको मुहान टोखा नगरपालिकामा पर्छ । मूल भने शिवपुरी राष्ट्रिय निकुञ्जबाट रसाउने स्थानीय बताउँछन् । उक्त नगरको ४ र ५ नं. वडाका साथै बूढानीलकण्ठ नगरपालिकामा पनि केही हिस्सा पर्छ । यी स्थानका सबैजसो खोला किनार मापदण्डअनुसार छोडिएका छैनन् । बाक्लो बस्तीमा त खोला नै गायब छ ।

सुकुम्बासी बस्तीमा खोला छोपेर पक्की ३ तलासम्मका घर निर्माण भइसकेका छन् । काठमाडौं महानगरपालिकाको वडा नं. ३, १६ र २६ हुँदै यो खोला वाग्मतीमा मिसिन्छ । अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले भने आफ्नो क्षेत्राधिकारभित्र नपर्ने जनाएको छ । वाग्मतीका मुख्य ७ सहायक खोलाबाहेक उक्त समितिमार्फत कुनै योजना सञ्चालनमा नरहेको समितिका आयोजना उपप्रमुख योगेन्द्र चित्रकारले जानकारी दिए ।

‘साना खोलासमेत गरेर अढाई/तीन सय खोला छन् उपत्यकाभित्र । यसमा स्थानीय तहले पनि अग्रसरता लिनुपर्ने देखिन्छ,’ चित्रकारले थपे, ‘अनियन्त्रित सहरीकरणले गर्दा सहायक नदी फोहोर हुने क्रम बढ्दो छ । तर हामीले ती खोलामा कुनै सरसफाइ वा करिडोरका आयोजना सञ्चालन गरेका छैनौं ।’

महानगरपालिका वडा नं. ३ का अध्यक्ष नगरस्तरीय आयोजनाका नाममा ५ करोड रुपैयाँ विनियोजन भइसकेको र

चाँडै टेन्डर खोल्ने प्रक्रियामा रहेको जानकारी दिए । उनले भने, ‘महानगरभित्र पर्ने सामाखुसी खोला क्षेत्रमा मापदण्ड मिचेर बनाइएका संरचना भत्काउन र करिडोर खोल्न त्यो रकम खर्च गर्नेछौं ।’ टोखा–५ का वडाध्यक्ष ढकालले महानगरले त्यो कार्यको सुरुआत गरे आफूहरूलाई पनि हौसला मिल्ने र कार्य अघि बढ्ने सम्भावना भएको बताए ।

खोला खोल्न निवेदन

वडा नं. २६ को सामाखुसीमा ५ सय मिटरभन्दा बढी क्षेत्रमा ढलान गरिएकाले खोला नै भेटिन्न । यसरी खोला आफ्नो वास्तविक आकारभन्दा साँघुरिन पुग्दा वर्षायाममा महानगरभित्रका विभिन्न क्षेत्रमा डुबान हुने गरेको छ । वडा नं. ३ का केही बासिन्दाले पनि खोला छोपिँदा घरआँगनमा भेल पसेको भन्दै वडामा निवेदन दिएका छन् ।

उनीहरूले वडा नं. ३ मा उजुरी दिएका हुन् । वैशाख अन्त्यमा अवैध रूपमा खोला छोपी निर्माण गरेको संरचना भत्काई खोला खुलाइपाऊँ भन्दै झन्डै ५० जनाले निवेदन दिएका थिए । सोही वडाको कित्ता नं. ३६३, ३६५, ४८०, १५८, १५३, १५२, ३१९ र १३८ ले खोला मिचेर संरचना बनाउँदा आफूहरू बस्ने क्षेत्रमा भेल पस्ने गरेकाले खोला खुलाउन अनुरोध गर्दै स्थानीयले वडामा निवेदन दिएका छन् । खोला सफा गराउनुपर्ने र खोलाको दुई किनार छुटाइदिनुपर्ने उनीहरूको माग छ ।

'वडाध्यक्षले निर्माण रोके’

काठमाडौं महानगरपालिका वडा नं. ३ का अध्यक्ष दीपक केसीले व्यक्तिगत रिसइबीका कारण आफ्नै जग्गामा पर्खाल लगाउन नदिएको सदरे आलमले आरोप लगाएका छन् । आफूले घर बनाउँदा पनि वडाबाट गर्नुपर्ने कागजी कारबाहीमा सहयोग नगर्दा पाटन उच्च अदालतबाट निर्णय गराउनुपरेको उनले सुनाए ।

‘यही चैतमा बल्ल अदालतबाट फैसला भएपछि घर बनाउन पाएँ । खोलाको सिमाना पुगेन भनेर पर्खाल लगाउन दिएका छैनन्,’ आलमले भने । उनका भनाइमा खोला छोपिएकाले खोलाको सिमाना यकिन छैन ।

तर वडाध्यक्षले भने ढलान गरिएको ठाउँबाट ४ मिटर छोड्नु भनिरहेका छन् । ‘मन्त्रिपरिषद्को निर्णयअनुसार सामाखुसी खोलामा ४ मिटर छोड्नुपर्ने हुन्छ । तर खोलै देखिन्न भने कहाँबाट नाप्ने ?’ उनले प्रश्न गरे । अर्कोतर्फ वडाध्यक्षले उनले सामाखुसी खोलाको सिमाना मिचेकाले निर्माण रोकिएको बताए ।

वडाध्यक्ष केसीले भने, ‘राज्यको नीतिनियमभित्र बसेर निर्माण गर्नु भनेका हौं । करिडोर खोल्ने भएकाले त्यसैअनुरूप छाडेर निर्माण गर्नुपर्छ ।’ उनले राज्यको नीतिनियम मान्नुभन्दा व्यक्तिगत रिसइबीको आरोप लगाएको बताए ।

प्रकाशित : जेष्ठ १५, २०७६ ०९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?