कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

आज प्रधानमन्त्रीलाई कोरियाली मानार्थ विद्यावारिधि

काठमाडौँ — गणतन्त्र दिवस कार्यक्रमको व्यस्तताबीच बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण कोरियाली विश्वविद्यालयको ‘मानार्थ विद्यावारिधि’ उपाधि ग्रहण गर्दै छन् ।

आज प्रधानमन्त्रीलाई कोरियाली मानार्थ विद्यावारिधि

नेपाली सेनाको सानो भर्‍याङस्थित स्वास्थ्य विज्ञान संस्थानमा आयोजना हुने कार्यक्रममा दक्षिण कोरियाको काङनाम युनिभर्सिटीले प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति ओलीलाई मानार्थ उपाधि प्रदान गर्ने भएको हो ।


कार्यक्रममा सहभागी हुन काङनाम युनिभर्सिटीका प्रेसिडेन्ट सिनिल युन र त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थराज खनियाँले संयुक्त रूपमा आमन्त्रण गरेका छन् ।


प्रेसिडेन्ट युनले युनिभर्सिटीका तर्फबाट ओलीलाई उपाधि प्रदान गर्नेछन् । ओलीले ग्रहण गर्न लागेको यो चौथो मानार्थ विद्यावारिधि उपाधि हो । यसअघि सन् २०१० मा मध्य अमेरिकाको बेलिजमा रहेको भनिएको र काठमाडौं शंखमूलमा सम्पर्क कार्यालय रहेको ग्रिनफोर्ड इन्टरनेसनल युनिभर्सिटीले ओलीलाई राजनीतिशास्त्रमा मानार्थ विद्यावारिधि उपाधि प्रदान गरेको थियो । उक्त उपाधि विवादमा परेको थियो ।


ओली, तत्कालीन उपप्रधानमन्त्री विजयकुमार गच्छदार तथा कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई विद्यावारिधि प्रदान गरेको केही दिनपछि नै युनिभर्सिटी नक्कली रहेको र त्यसका कुलपति भनिएका गोपाल पौडेल मोटो रकम लिई नक्कली शैक्षिक प्रमाण बेच्ने व्यक्ति भएको सार्वजनिक भएको थियो ।


कलाकारद्वय श्रेष्ठ र आचार्यले फर्जी विश्वविद्यालय खोलेर एक शैक्षिक नटवरलाले दिएको मानार्थ विद्यावारिधि स्वीकार गरेकामा आफूहरूलाई लज्जाबोध भएको भन्दै उपाधि फिर्ता गरेको सार्वजनिक घोषणा गरेका थिए । ओली र गच्छदारले भने उपाधि फिर्ताको घोषणा गरेका थिएनन् ।


ओलीलाई पहिलो पटक प्रधानमन्त्री हुँदा भारतमा मानार्थ विद्यावारिधि प्रदान गर्दै सम्मान गरिएको थियो । भारतको तीनदिने राजकीय भ्रमणमा रहेका बेला उत्तराखण्डको डा. गोविन्द बल्लभ कृषि तथा प्रविधि विश्वविद्यालयले उपाधि प्रदान गरेको हो ।


त्यस्तै मध्य अमेरिकी मुलुक कोस्टारिकाको युनिभर्सिटी फर पिस (शान्ति विश्वविद्यालय) ले ओलीलाई नेपालमा शान्ति तथा लोकतन्त्र प्राप्तिका लागि पुर्‍याएको योगदानको कदर गर्दै मानार्थ विद्यावारिधि उपाधि प्रदान गरेको थियो । ओली संयुक्त राष्ट्रसंघको ७३औं महासभामा भाग लिई फर्कने क्रममा कोस्टारिका भ्रमणमा गएका थिए ।

प्रकाशित : जेष्ठ १५, २०७६ ०७:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?