सर्वोच्चको प्रस्टीकरण, 'सुमार्गीको रकम फुकुवा गरेको होइन'

कृष्ण ज्ञवाली

काठमाडौँ — सर्वोच्च अदालतले व्यवसायी अजेयराज सुमार्गीको रोक्का रहेको सम्पत्ति फुकुवा गर्न परमादेश जारी नभएको स्पष्टिकरण दिएको छ । सुमार्गीको मुद्दाको सूची (कजलिस्ट)मा सर्वोच्च अदालतले 'फैसला' जनाई परमादेश जारी हुने भन्ने जनाएको थियो । जसको अर्थ हुन्थ्यो, 'सुमार्गीको माग बमोजिम बैंकमा रोक्का राखिएको सम्पत्ति फुकुवा गर्नु ।' प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश बमकुमार श्रेष्ठको इजलासले यस्तो आदेश गरेको हो ।

विभिन्न सञ्चारमाध्यमहरुमा यही समाचार प्रकाशित भएपछि सर्वोच्च अदालतले केहीबेरअघि प्रेस नोट जारी गरेको हो । जसमा व्यवसायी सुमार्गीको मागबमोजिम आदेश जारी नगरिएको स्पष्ट पार्दै उनको रिट निवेदन खारेज भएको उल्लेख छ । सर्वोच्च अदालतको नोटमा भनिएको छ, 'निवेदक कम्पनीका ठाउँमा बैंक खातामा रहेको रकम कानुनबमोजिम रोक्का रहेकोले फुकुवा गर्नुपर्ने अवस्था नदेखिँदा उत्प्रेषणको आदेश जारी गरी पाउँ भन्ने रिट निवेदन खारेज हुने ।'


सर्वोच्च अदालतले तीनवटा विषयमा परमादेश जारी गरेको छ । सम्पत्ति शुद्धिकरण विभागमा सुमार्गीका बारेमा जारी छानबिनलाई यकीन गर्न आदेश दिँदै सर्वोच्च अदालतले त्यसलाई छ महिनाभित्र टुंग्याउन निर्देशन दिएको छ । अनि हरेक महिना आफ्नो फैसला कार्यान्वयन निर्देशनालयमा कारबाहीको प्रगति विवरण पठाउन पनि आदेश जारी गरेको छ ।


यसअघि सर्वोच्च अदालतले सुमार्गीको मुद्दाको पेसी सूचीमा परमादेश जारी भएको भनी जनाएको थियो । कुनै विषयवस्तु उल्लेख नगरी परमादेश जारी भन्ने शब्द प्रयोग गरेकाले निवेदनको मागबमोजिम आदेश जारी भएको भनी सञ्चारमाध्यमहरुले समाचार सम्प्रेषण गरेका थिए । पछि मात्रै सर्वोच्च अदालतले निवेदन बमोजिम नभई अन्य विषयमा आदेश जारी गरिएको भनी प्रेस नोट जारी गरेको हो । मुद्दाको संक्षिप्त एवं विस्तृत पाठ तयार भइसकेको छैन ।


यो पनि

सुमार्गीको रकम नरोक्न सर्वोच्चको परमादेश

प्रकाशित : जेष्ठ १४, २०७६ १८:५१
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

करेन्ट लागेर मर्यो चितुवा 

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा करेन्ट लागेर एक चितुवाको मृत्यु भएको छ । डिभिजन वन कार्यालय काठमाडौंका अनुसार नगरपालिकाको वडा नम्बर-१ गागलफेदीमा पोलको ट्रान्सफर्मरमा एक चितुवा मृत भेटिएको थियो । 

कागेश्वरी मनोहरा नगरपालिका-१ गागलफेदीमा पोलको ट्रान्सफर्मरमा भेटिएको मृत चितुवा । तस्बिर सौजन्य: डिभिजन वन कार्यालय काठमाडौं ।

‘हामीलाई बिहानै ५ बजे खबर आयो । पोथी चितुवा ट्रान्सफर्मरमा टाँसिएर मरेको रहेछ,’ वन कार्यालयका सूचना अधिकारी अरुणकुमार गुप्ताले भने, ‘सम्भवतः पोलमाथि गुँड लगाएको चरा वा अन्य आहारा खोज्ने क्रममा सडक छेउको पोलमा चढेको हुन सक्छ । करेन्ट लागेर मृत्यु भएछ ।’

स्थानीयका अनुसार उक्त चितुवा पछिल्लो २/३ दिनदेखि उक्त बस्ती वरपर देखिएको थियो । उक्त चितुवा नजिकै सुन्दरीजलको वनबाट आएको हुनसक्ने गुप्ताको अनुमान छ । सो वडामा दुईवटा सामुदायिक वन पनि छन् ।

वडामा अव्यवस्थित बस्ती बढ्दै जाँदा वन क्षेत्र मासिँदै गइरहेको छ ।

प्रकाशित : जेष्ठ १४, २०७६ १८:४७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×