कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

‍खुल्यो तातोपानी नाका

४ वटा कन्टेनर खासा पुगे
अनिश तिवारी

सिन्धुपाल्चोक — भूकम्पलगत्तै बन्द भएको उत्तरी तातोपानी नाका चारवर्षपछि सञ्चालनमा आएको छ । मंगलबार बिहान ४ वटा खाली कन्टेनर ऊन ल्याउन खासा पठाए पछि अनाैपचारिक रुपमा नाका खुलेकाे हाे ।

‍खुल्यो तातोपानी नाका

नेपाल–चीन पास प्रक्रिया पूरा गरेर ऊन ल्याउन खासा प्रवेश गराउँदै तातोपानी नाका व्यवसायिक रुपमा खुलेको हो सोमबार दश जना लोडर र कन्टेनरलाई पास दिइए पनि चीन पक्षबाट बल्ल सहमतिको खबर पाइएपछि काम थालिएको भोटेकोसी गाउँपालिकाका प्रमुख राजकुमार पौडेलले बताए ।


नेपाल–चीन जोड्ने मितेरी पुल निर्माण अझै नसकिएकाले अस्थायी चल्तीमा ल्याइएको पुलमुनिको कच्ची सडकको पुल हुँदै खाली कन्टेनर गएका हुन् । सोमबार बेलुकी नै ४ वटा कन्टेनर ‘पास सिस्टम’सकेर तयारी हालतमा थिए । बुधवार चार वटा कन्टेनर ऊन लिएर नेपालमा नाका खुलेको संकेत दिँदै सो सामाग्री राजधानी पुर्‍याइनेछ ।


तातोपानी भन्सार कार्यालय र अध्यागमनदेखि उद्योग वाणिज्य संघसँग समन्वय गरेर कामलाई थालनी गरिएको सीमाका जनप्रतिनिधिले बताएका छन् । नेपालतर्फ नयाँ भवन नबनेका कारण अध्यागमन, भन्सार चेकपोष्ट र सीमा सुरक्षाको कार्यालय मितेरी पुल नजिकै रहनुपर्ने कारणले पुरानै भवन प्रयोगमा ल्याइनेछ । त्यसैको लागि यहाँको संरचना रंगरोगन गरेर चिटिक्क पारिएको छ ।

तातोपानी, कोदारी देखि लिपिङ जोड्ने पुलको भैसीकुना पाटीसम्म दर्जनभन्दा साना होटेल व्यवसायी बढी नाका खुल्ने आशमा चार महिनाअघिबाट भाडा लिएर बसिरहेका थिए ।


पर्यटन व्यवसायी रामकाजी पौडेलकानुसार सीमामा करोडौ लगानीमा खुलेका होटेल नाका नचल्दा डुब्ने अवस्थामा पुगेका थिए । भूकम्पअघि तातोपानी नाकाबाट कन्टेनर र अन्य गरी एक हजार पाँचसयभन्दा बढी सवारीसाधन सञ्चालन हुने गर्थे ।


नाकाबाट बर्सेनी १५ हजारभन्दा बढी पर्यटक आउजाउ गर्थे । वर्षेनी २० अर्बको आयात र ३ अर्बको निर्यात हुने नाकामा बल्ल चहलपहल सुरु हुन थालेको उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकका अध्यक्ष बेदबहादुर श्रेष्ठले बताए । ‘भूकम्प आएपछि नाका बन्द बनायो, यही नाका खुलाउन बारम्बार स्थानीय व्यवसायी आन्दोलित भए, पछि अस्थायी रुपमा नाका चल्यो,’ उनले भने । भूकम्पको वर्षदिनमा गोदाममा थन्केका व्यापारिक सामान ल्याउन २७ वटा कन्टेनर चीनको खासा पुगेको उनले स्मरण गरे ।


भोटेकोसी बाढीले एकै पटक थलिएको तातोपानी नाकामा चलहपहल बढेको छ । तातोपानी, कोदारी लिपिङ तीनैवटा बजारका पुराना व्यवासायी फर्कन थालेका छन् । चीनको खासा क्षेत्रमा नेपालतर्फजस्तै चिनियाँ व्यापारीको चलहपहल उस्तै बढेको छ ।


पुलकाे काम बुधबार सकिने

चिनियाँ कम्पनी चाइना रेलवे कन्ट्रक्सन ग्रुप कम्पनी (सिआरसीसी) ले अन्तराष्ट्रियस्तरको अत्याधुनिक सुक्खा बन्दरगाह र कोदारी राजमार्ग बनाइसकेको छ ।


सडकमा बाह्रबिसे बसेरी नेपालले र बसेरी तातोपानी सिआरसीसी कम्पनीले मर्मतसम्भार र कालोपत्रे गरेको चरिकोड सडक डिभिजनले जनाएको छ । तान् सुन रोड एण्ड ब्रीज कम्पनीले पुलको ढलान कार्य अन्तिम चरणमा पुर्‍याइसकेको छ । कम्पनीले मितेरी पुलको बुधबारसम्म सबै काम सक्ने जनाएको छ ।

प्रकाशित : जेष्ठ १४, २०७६ ०८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?