कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

कम्लरीको सहकारीमा ठगी

दासताबाट मुक्त भएपछि किशोरीहरुले खोलेका सहकारी संस्था केही हर्ताकर्ताले रकम हिनामिना गर्दा बन्द हुने अवस्थामा पुगेका छन् ।
दुर्गालाल केसी

दाङ — कम्लरीले स्थापना गरेका सहकारी संस्था लाखौं ठगी भएपछि डुब्ने अवस्थामा पुगेका छन् । दाङको लमहीमा स्थापित लावाजुनी बचत तथा ऋण सहकारी संस्था व्यवस्थापक गीता चौधरीले ७ लाख ७८ हजार २ सय १६ रुपैयाँ हिनामिना गरेपछि एक वर्षदेखि बन्द छ । 

कम्लरीको सहकारीमा ठगी

चौधरीले रकम फिर्ता नगरेपछि सहकारीले उनीविरुद्ध मुद्दा दर्ता गर्ने तयारी गरेको छ । ०७३/०७४ को लेखापरीक्षण प्रतिवेदनमै उनले उक्त रकम तिर्नुपर्ने भनी उल्लेख छ । लामो समय प्रयास गर्दा पनि पैसा फिर्ता गर्न नसकेको सहकारीकी अध्यक्ष कृष्णा चौधरीले बताइन् ।


‘वडा प्रहरी कार्यालय लमहीमा दुईपटक निवेदन दियौं, जिल्ला प्रहरीमा पनि निवेदन दियौं तर केही सुनुवाइ भएन,’ उनले भनिन्, ‘एक वर्षदेखि सहकारी बन्द छ । ठगी गर्ने मान्छे काठमाडौंमा लुकेर बसेकी छन् ।’ २०६५ असोज ७ मा स्थापित लावाजुनी मुक्त कम्लरीको पहिलो सहकारी हो । यसमा ७ सय सदस्य छन् । भाडा तिर्न नसकेर सामान एउटा कोठामा राखिएको छ ।


अध्यक्ष चौधरीले सदस्यहरूले बचत गरेको रकम मागिरहेको बताइन् । ‘सदस्यहरूले पैसा फिर्ता मागिरहेका छन् । मेरो पसलमा आएर धेरैले झगडा गर्छन्, गाली गर्छन्, पसलका सामान उठाएर लैजान खोज्छन्,’ उनले भनिन्, ‘एक/दुई हजार भए पनि आफैं तिरेर मिलाऔं भन्न हुन्थ्यो । ठूलो रकम हिनामिना भयो । एक्लो प्रयासबाट सम्भव छैन ।’


लमही नगरपालिका ३ मजगाउँकी गीता पूर्वकम्लरी हुन् । उनी सहकारीको सदस्य हुँदै व्यवस्थापक भएकी थिइन् । राम्रो काम गरेकाले पदोन्नति गर्दै महत्त्वपूर्ण जिम्मेवारी दिएका बेला उनले लाखौं रकम हिनामिना गरेको चौधरीले बताइन् ।


‘सदस्यहरूले बचत गरेको रकम कोषमा नराखेर आफैं खर्च गर्ने, बिनाकागजात ऋण निकालेर आफूले प्रयोग गर्ने गरेको पाइयो,’ उनले भनिन् । फोन स्वीच अफ गरेकाले गीतासँग सम्पर्क हुन सकेन । घोडाघोडी नगरपालिका १ सुखड कैलालीस्थित ओजरार डगर कृषि सहकारी संस्था पनि व्यवस्थापक तथा अध्यक्ष जुगिना चौधरीले ३ लाख ४६ हजार ५ सय रुपैयाँ हिनामिना गरेपछि सञ्चालनमा कठिनाइ भएको छ ।


२०७४/०७५ को लेखापरीक्षण प्रतिवेदनमा चौधरीले बिनानिर्णय र कागजात ऋण लगानी भनी उक्त रकम लिएको उल्लेख छ । प्रतिवेदनमा तत्काल उक्त रकम फिर्ता गरी संस्थालाई आर्थिक भारबाट बचाउन सुझाव दिइएको छ । २०६८ मा स्थापना भएको सहकारीमा २ सय ४० सदस्य छन् ।


जुगिनाले सहकारीको व्यवस्थापक र अध्यक्ष हुँदा रकम हिनामिना गरेको हालकी अध्यक्ष रीता चौधरीले बताइन् । रकम फिर्ता गराउन पटकपटक प्रयास गर्दा पनि सफल हुन नसकेको उनले बताइन् । ‘अहिले नगरपालिकामा उजुरी दिएका छौं । नगरपालिकाले छलफलमा बोलाउँदा पनि उनी आएकी छैनन्,’ उनले भनिन्, ‘हामीले बोलाउँदा पनि आएकी छैनन् ।’


जुगिनाले भने आफूले ठगी नगरेको दाबी गरिन् । ‘सहकारीमा पहिलेदेखि नै हिसाब बिग्रेको रैछ, अहिले मलाई दोष लगाएका छन्,’ उनले भनिन्, ‘मैले राखेको ऐच्छिक बचतबाट केही रकम निकालेको हो । त्यो मेरो व्यक्तिगत रकम हो, सहकारीको रकम मैले हिनामिना गरेको छैन ।’


टीकापुर नगरपालिका ७ नारायणपुर बेलुवा कैलालीस्थित मिलन कृषि सहकारी संस्थाकी सदस्य सीता चौधरीले २ लाख ४९ हजार ९ सय रुपैयाँ ठगी गरेकी छन् । उनले समूहका सदस्यहरूलाई लगानी गरिएको घुम्ती कोषबाट फिर्ता भएको रकम र सदस्यहरूको बचत रकम हिनामिना गरेको स्वीकार गरेकी छन् ।


उनले २०७३ असार ३० गते तमसुक गरी १५ दिनभित्र उक्त रकम बुझाउने प्रतिबद्धता पनि जनाएकी थिइन् तर असुली हुन सकेको छैन । २०६८ मा स्थापना भएको यस सहकारीमा १ सय ४७ सदस्य छन् । सीतालाई पटकपटक फोन गर्दा पनि उठाइनन् ।


सहकारी नै आयआर्जनको भर

मुक्त कम्लरीले सहकारीलाई नै आयआर्जनको मुख्य आधार बनाउँदै आएका छन् । धेरैजसो अभिभावकले आर्थिक अभावका कारण छोरीलाई कम्लरी पठाउने गरेको बताएपछि अरू थप बालिका कम्लरी बस्न नपरोस् भनेर मुक्त कम्लरीले सहकारीमा हात हालेका हुन् । सहकारी चलाउने सबै सदस्य फूर्वकम्लरी हुन् ।


मुक्त कम्लरी विकास मञ्चका अनुसार मुत्त कम्लरी किशोरीले दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा ४२ वटा सहकारी र १५ वटा बचत समूह सञ्चालन गरेका छन् । दाङमा ८, बाँके ६, बर्दिया ९, कैलाली १२ र कञ्चनपुरमा ७ सहकारी छन् । जसमा ९ हजार ३ सय ९२ सदस्य छन् ।


पाँच जिल्लामा गरी सहकारीको कुल पुँजी ३ करोड ४२ लाख ६६ हजार १९ रुपैयाँ छ । मुक्त कम्लरी आफैंले जम्मा गरेको २ करोड ७९ लाख ९३ हजार ८ सय ७ रुपैयाँ छ भने नेपाल युथ फाउन्डेसनले घुम्ती कोषका लागि सहयोग गरेको ६३ लाख रुपैयाँ छ । हालसम्म १ हजार ९ सय २३ सदस्यमा २ करोड ९३ लाख ८१ हजार ७४ रुपैयाँ ऋण लगानी भएको छ ।


सहकारीबाट ८ सय ४८ मुक्त कम्लरीले ऋण लिएर विभिन्न व्यवसाय गरिरहेका छन् । उनीहरूले बाख्रापालन, बंगुरपालन, तरकारी खेती, फ्रेस हाउस, किराना पसल, हार्डवेयर पसल, सिलाइकटाइजस्ता व्यवसाय सञ्चालन गरेका छन् । सुरुमा मुक्त गरेर विभिन्न आयमूलक तालिम दिए पनि लगानी गर्ने रकम नहुँदा उनीहरू व्यवसाय गर्नबाट वञ्चित भएका थिए ।

प्रकाशित : जेष्ठ १४, २०७६ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?