कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

२१ वर्षदेखि सगरमाथामा बाटो बनाउँदै

कुम्भराज राई

सोलुखुम्बु — गाला मुजा परिसके । दाँत झर्न थालिसक्यो । नाडीमा पहिले जस्तो शक्ति छैन । दुई नातिनी हुर्किसके । तीन छोरा र दुई छोरी आफैं कमाएर खान्छन् । तर, खुम्बुपासाङल्हामु ३ का आङकामी शेर्पालाई आरोहणको मौसम लागेपछि घरमा बसुँ जस्तो लाग्दैन । उनी झोला भिरेर सगरमाथातिर लागिहाल्छन् ।

हिमालमा काम गर्न थालेको ३९ वर्ष बितिसकेछ । ‘आइसफल डाक्टर’ को काम गर्ने उनी सबैभन्दा पुराना शेर्पा हुन् । उनले काम गर्दै आएको २१ वर्ष भयो । आइसफल डाक्टरको काम बर्सेनि आरोहण मौसममा आधारशिविरदेखि दोस्रो शिविरसम्म बाटो बनाउनु हो । जहाँ अधिकांश ठाउँमा आल्मुनियमका फलाम जोड्नुपर्ने हुन्छ । खुम्बु आइसफल जस्तो जोखिमयुक्त ठाउँमा सबैभन्दा पहिले उनीहरूको पाइलाले डोब बनाउँछ ।

फलामको किला गाड्ने, भर्‍याङ टाँग्ने, झुन्ड्याउने, डोरीले बाँध्ने काम उनीहरूको जिम्मामा हुन्छ । कतिपय आइसफल डाक्टरले बाटो बनाउने क्रममै ज्यान गुमाएका छन् । धन्न उनी आफ्नो भाग्य बलियो भएकाले बाँचिरहेको बताउँछन् । यसपालिदेखि उनले उक्त जिम्मेवारी बिसाएका छन् ।

‘२१ वर्ष त आइसफल डाक्टरको काम गरेँ,’ आधारशिविरमा सगरमाथा प्रदूषण नियन्त्रण समितिको कार्यालयमा भेटिएका आङकामीले भने, ‘अबदेखि चाहिँ आधारशिविरमै बसेर व्यवस्थापनमा सहयोग गर्ने र नयाँलाई सल्लाह सुझाव दिने काम गर्छु ।’ उनी अहिले ६६ वर्षका भइसके । उनले सन् सन् १९७५ देखि हिमालमा काम गर्न थालेका हुन् । काम उनले दिनको २८ रुपैयाँबाट थालेका थिए । अहिले पनि त्यति धेरै त पारिश्रमिक छैन । दैनिक १२ सयदेखि १५ सयसम्म पाउने गर्छन् ।

हिमालमा ज्यानै जोखिममा पारेर काम गर्नेले धेरै पैसा कमाउँछन् भन्ने भ्रम अझै धेरैमा छ । धेरैमा तीनदेखि चार महिनामा कमाएको पैसाले वर्षभरि जीवन धान्नुपर्ने बाध्यता उनीहरूमा छ । हिमालमा जिन्दगीको धेरै वर्ष बिताइसकेका उनलाई पुरानो सम्झना ताजै छ । पहिले सगरमाथामा ५ फिटसम्म हिउँ पर्थ्यो । अहिले एक फिट पर्न पनि गाह्रो छ ।

‘जो पायो त्यही आएर हिमाल चढेका छन्,’ आङकामी भन्छन्, ‘यो त हाम्री देवी हुन् । जुठो पर्‍यो होला । अहिले हिउँ पर्नै छोड्यो । खुम्बु ग्लेसियर गहिरिएर खाल्डो भइसक्यो ।’ सगरमाथा सफाइको कुरामा चाहिँ पहिलेभन्दा अहिले सफा भएको उनको दाबी छ । एसपीसीसीले निरन्तर गरेको कामले गर्दा पहिलेभन्दा सफा भएको उनले बताए ।

दुर्भाग्य भनौं वा के उनले सगरमाथाको चुचुरोमा भने पाइला टेक्न सकेनन् । ८ हजार ५ सय मिटरसम्म बाटो बनाउन ५ पटक पुगे । उनी चुचुरोमा भने पुगेनन् । उनले बनाएको बाटोबाट बर्सेनि सयौंले शिखर चुमे । कसैले त्यही प्रमाणपत्र देखाएर करोडौं, अर्बौं कमाए । तर आङकामीको जीवन भने उस्तै छ ।

प्रकाशित : जेष्ठ १४, २०७६ ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?