३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

कहाँ चुके सुरक्षा निकाय ?

जनकराज सापकोटा

काठमाडौँ — संघीय राजधानीमा भएको शृंखलाबद्ध विस्फोटले सरकार प्रतिबन्धित समूहको गतिविधि नियन्त्रणमा चुक्दै 
गएको त होइन भन्ने प्रश्न उब्जिएको छ । आइतबार अपराह्नदेखिका शृंखलाबद्ध विस्फोट, विस्फोटक पदार्थहरू फेला पर्नुले चन्द समूहका कार्यकर्ता राजधानीमा राम्रै सक्रिय छन् भन्ने देखाएको छ ।

कहाँ चुके सुरक्षा निकाय ?

समूहका गतिविधिमा प्रतिबन्धको घोषणापछि पनि चन्द समूहका कार्यकर्ता यसरी सक्रिय रहनुले सुरक्षा निकाय कहाँ चुक्दै छ भन्ने प्रश्न खडा गरेको छ ।


फागुनको २८ गते चन्द समूहका गतिविधिमा प्रतिबन्ध लगाएलगत्तै सरकारले त्यस समूहका नेता तथा कार्यकर्तामाथि निगरानी बढाउन, सार्वजनिक रूपमा कार्यक्रम गर्न नदिन सुरक्षा निकाय परिचालन गरेको थियो । प्रहरीले देशैभरि उक्त समूहका नेता–कार्यकर्ता पक्राउलाई तीव्र पारेको थियो ।


पक्राउ परेका अधिकांश नेता–कार्यकर्ता अदालतबाट धमाधम छुटिरहेको र सोमबारको पूर्वघोषित बन्द सफल पार्न समूहले गरेको तयारीबारे सुरक्षा निकाय बेखबर थिएनन् । तैपनि राजधानीलाई नै आतंकित पार्ने यति ठूला गतिविधि कसरी हुन सके ? नेपाल प्रहरीका पूर्वएआईजी सुरेन्द्रबहादुर शाह आइतबार र सोमबारका घटनाले सुरक्षा चुनौती थपिएको टिप्पणी गर्छन् ।


दशक लामो माओवादी द्वन्द्वभन्दा अहिले अवस्था फरक देखिएको उल्लेख गर्दै उनले भने, ‘पहिले विस्फोटजन्य घटना दुर्गम गाउँबाट सर्दैसर्दै सहरमा आउँथ्यो । अहिले सहर नै पहिलो टार्गेटमा देखिन्छ ।’ यस्तो अवस्थामा नयाँ तरिकाले सुरक्षा प्रबन्ध गर्नुपर्ने उनले बताए ।


‘पछिल्ला घटनाक्रमबाट विस्फोट पदार्थ निर्माण गर्न सक्ने र त्यसलाई वितरण गर्ने जनशक्ति चन्द समूहसँग रहेको बुझ्नुपर्छ,’ उनले भने । प्रहरीको बुझाइमा प्रतिबन्धपछि विस्फोटक पदार्थ निर्माणमा ज्ञान भएका केन्द्रीय नेताहरूले भूमिगत रूपमा सक्रिय रहेर दोस्रो तहका कार्यकर्ता खटाएको देखिन्छ ।


पूर्वडीआईजी केशव अधिकारीले पनि सरकारले भनेजस्तै कमजोर नभएको र चन्द समूहले विस्फोटक पदार्थ उपयोगको परम्परागत शैली कमजोर सुरक्षा संयन्त्रकै कारण अपनाएको बताए । ‘सहरको बढ्दो जनघनत्व र सुरक्षा संयन्त्रको कमजोर गुप्तचरी संयन्त्रको फाइदा चन्द समूहले उठाउन खोजेको देखिन्छ,’ उनले भने ।


‘रिङरोड बाहिर र भित्रको कोर स्थानमा चन्द समूहले आफ्नो शक्ति देखाउन खोजेको बुझ्न सकिन्छ । यसमा दोस्रो तहका कार्यकर्ता बढी परिचालित देखिन्छन्,’ उनले भने ।


उनले आइतबारका सबैजसो घटना विस्फोटक पदार्थ उपयोगसम्बन्धी ज्ञान नभएका दोस्रो तहका कार्यकर्ताबाट भएको बताए । राष्ट्रिय अनुसन्धान विभागका पूर्वडीआईजी रवीन्द्र पण्डितले पछिल्ला विस्फोटलाई सुरक्षा कमजोरीका रूपमा भन्दा पनि फरक ढंगबाट बुझ्नुपर्ने बताए । ‘यस्ता घटनाहरूको कारक तत्त्वमाथि नै विचार गर्नुपर्छ,’ उनले भने, ‘पछिल्ला घटनाहरू मनोवैज्ञानिक त्रास फैलाएर आफ्नो स्वार्थ साध्ने अभीष्टका रूपमा भएका छन् ।’


पूर्वडीआईजी विज्ञानराज शर्माले पछिल्ला घटनाक्रमले चन्द समूहसँग हतियार र विस्फोटक पदार्थ उपयोग गर्न सक्ने जनशक्ति रहेको पुष्टि गरेको बताए । ‘प्रतिबन्धपछि चन्द समूहले शक्ति सञ्चय गरेको जस्तो देखिएको छ । पक्राउ पर्दै, छुटदै गरेपछि उसले रणनीति बदल्न थालेको देखिन्छ,’ उनले भने, ‘प्रहरीको मनोबल बढाउँदै सुराकी र प्राविधिक अनुसन्धानमा लगानी नबढाई हुन्न ।’

प्रकाशित : जेष्ठ १४, २०७६ ०७:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?