कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

बढ्दै हिमखाडल

कुम्भराज राई

सोलुखुम्बु — सगरमाथा आधारशिविरदेखि थुक्लासम्म फैलिएको खुम्बु ग्लेसियर (हिमखाडल) बर्सेनि बढ्दै गएको छ । ७ हजार ६ सय मिटर लामो ग्लेसियर गहिरिने र भत्किने क्रम झनै बढेको हो । यसले सगरमाथा आधारशिविर जाने बाटो विगतको तुलनामा थप जोखिमयुक्त बन्दै गएको छ । 

बढ्दै हिमखाडल

ग्लेसियरबाट बग्दै आएको खोला गहिरिएपछि थुक्ला आसपासका पुरानो बाटो र अस्थायी पुल सबै बगिसकेका छन् । यात्रुहरू गोरक्सेप पुग्नुअघि ग्लेसियरले तानेको पहिरो छिचोलेर जानुपर्ने बाध्यता छ ।


‘तलबाट ग्लेसियरको पानी बगिरहेको छ । माथिको ढुंगा टेकेर हिँड्नुपर्ने अवस्था छ,’ एक पथ प्रदर्शक लाक्पा लामाले भने, ‘जोखिम यस्तो छ कि पहिरो वा सानोतिनो भूकम्पमात्र गए पनि बाँच्ने अवस्था छैन ।’ ग्लेसियरको चौडाइ बढ्दै गएपछि तीन वर्षअघि गोरक्सेपमा निर्माण गरिएको हेलिप्याड पहिराले लगिसकेको छ । अर्को हेलिप्याड निर्माण गरे पनि ग्लेसियरको पहिरो बस्तीको २० मिटर नजिक आइपुगिसकेको छ ।


‘गोरक्सेप, लोबुचे, थुक्ला तीनैवटा बस्ती जोखिममा छन्,’ स्थानीय पासाङ शेर्पाले भने, ‘त्योभन्दा तलका बस्तीलाई पनि बिस्तारै असर पुर्‍याउने स्थिति छ ।’ ग्लेसियरको आकार र गहिराइसँगै लम्बाइ पनि बढ्दै जानुको प्रमुख कारण हिउँ पग्लिने क्रम बढेको शेर्पा तथा आरोहीको भनाइ छ ।


‘सन् २००३ र अहिलेको आधारशिविर मात्र हेर्ने हो भने अहिले हिउँ छैन भन्दा फरक पर्दैन ।’ क्लाइम्बिङ शेर्पा छिरिङजाङ्बु शेर्पाले भने, ‘यसरी हिउँ पग्लिँदै जाने हो भने ग्लेसियर कत्रो हुने हो, अनुमान पनि गर्न सकिन्न ।’

सगरमाथामै हिउँको मात्रा बर्सेनि घटेको २४ पटक सगरमाथा आरोहण गरेका कामीरिता शेर्पाले बताए । उनले अहिले सगरमाथामा हिउँभन्दा बढी चट्टानमात्र देखिन थालेको बताए ।


पर्यटन व्यवसायीले भने आधारशिविर जाने बाटोको जोखिम कम गर्न खुम्बुपासाङल्हामु गाउँपालिकाले कम्तीमा पर्यटकीय मौसमका बेला भए पनि बाटो मर्मत गर्नुपर्ने बताए । गोरक्सेप पुग्नुअघि पहिरोमा याकसमेत हिँड्न नसक्ने अवस्थामा बाटो भए पनि गाउँपालिकाले कुनै काम गर्न नसकेको उनीहरूको आरोप छ ।

प्रकाशित : जेष्ठ १४, २०७६ ०७:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?