१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

आर्थिक सर्वेक्षण प्रतिवेदन : प्रतिव्यक्ति वन क्षेत्र ०.२ हेक्टर, रुख १११ 

अब्दुल्लाह मियाँ

काठमाडौँ — नेपालमा प्रतिव्यक्ति ०.२ हेक्टर वन क्षेत्र र १११ रुख भागमा पर्ने देखिएको छ । आर्थिक सर्वेक्षणअनुसार नेपालमा  वन क्षेत्रले ५९ लाख ६२ हजार हेक्टर र अन्य काठ तथा बुट्यान क्षेत्रले ६ लाख ४८ हजार हेक्टर भू-भाग ओगटेको छ । दुवै गरी ४४.७ प्रतिशत हुन आउँछ । सबभन्दा बढी वन मध्यपहाडमा छ भने कम तराईमा छ । 

आर्थिक सर्वेक्षण प्रतिवेदन : प्रतिव्यक्ति वन क्षेत्र ०.२ हेक्टर, रुख १११ 

दक्षिण एसियाली मुलुकमा वनका हिसाबले नेपाल दोस्रो स्थानमा छ । सबभन्दा बढी वन क्षेत्र भुटानमा ७२.५ प्रतिशत छ भने नेपालमा ४०.३६ प्रतिशत छ । श्रीलंकामा ३३, भारतमा २१.५४, बंगलादेशमा १०.९६, अफगानिस्तानमा २.१० र पाकिस्तानमा १.८५ प्रतिशत वन क्षेत्र छ ।


संरक्षित क्षेत्रमा पर्यटक आकर्षण

पछिल्लो एक दशक यता निकुञ्ज र संरक्षित क्षेत्रमा पर्यटकहरुको आकर्षण बढ्दै गएको छ । संरक्षित क्षेत्रमा भ्रमण गर्ने आन्तरिक र बाह्य पर्यटक र राजश्व विगतका दशकभन्दा बढेको आर्थिक सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ ।


आर्थिक वर्ष २०६६/६७ मा ३ लाख ८१ हजार पर्यटकले संरक्षित क्षेत्रको भ्रमण गरेकोमा आर्थिक वर्ष २०७४/७५ मा करिब सात लाख पर्यटकले भ्रमण गरेको आर्थिक सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ । यसअवधिमा राजश्व १४ करोडबाट उल्लेख्य वृद्धि भई ७१ करोड रुपैया पुगेको छ ।


चालु आर्थिक वर्ष २०७५/७६ को फागुनसम्म ४ लाख ४० हजार पर्यटकले निकुञ्ज र संरक्षित क्षेत्र भ्रमण गरेका छन् भने यसबाट ३९.२ करोड रुपैयाँ राजश्व संकलन भएको छ ।

आव २०७३/७४ मा ६ लाख ४ हजार ९१, २०७२/७३ मा ३ लाख ८९ हजार २ सय २३, २०७१/७२ मा ५ लाख १७ हजार ९५, २०७०/७१ मा ५ लाख ५८ हजार ५ सय ७७, २०६९/७० मा ५ लाख १० हजार २ सय ५, २०६८/६९ मा ५ लाख २ हजार ९२, २०६७/६८ मा ४ लाख ५५ हजार २ सय ३७ जनाले भ्रमण गरेका थिए ।


काठ उत्पादन लक्ष्यभन्दा आधा

चालु आवमा वार्षिक रुपमा ६० लाख क्युबिक फिट काठ उत्पादनको लक्ष्य लिइएकोमा फागुनसम्म त्यसको आधा मात्र काठ उत्पादन भएको प्रतिवेदनमा उल्लेख छ ।


वनमन्त्री शक्तिबहादुर बस्नेतले वार्षिक ६० लाख काठ उत्पादन गर्ने घोषणा गर्दै कार्यक्रम अघि बढाएपनि फागुनसम्म ३२ लाख १३ हजार ६ सय ८४ क्युबिक फिट काठ उत्पादन भएको छ । यसबीचमा ५ हजार २ सय ८८ चट्टा दाउरा उत्पादन भएको छ ।


वन क्षेत्रलाई समृद्धिको आधार बनाउने उद्देश्यले सरकारले वैज्ञानि वन व्यवस्थापन कार्यक्रम लागु गरेको छ । विदेशबाट हुने काठ आयात घटाउन सरकारले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रममार्फत् उत्पादन बढाउने उद्देश्य राखेको थियो । आव २०७४/७५ सम्म १५ साझेदारी वन, ३२६ सामुदायिक वन र ६ चक्ला वनमा वैज्ञानिक वन व्यवस्थापन प्रणाली लागु भएको छ ।


३० लाख जनता सामुदायिक वनमा

आव २०७४/७५ सम्म २२ हजार २ सय ६६ सामुदायिक वन हस्तान्तरण भएका छन् । अहिलेसम्म २२ लाख ३७ हजार ६ सय ७१ हेक्टर वन समुदायमा हस्तान्तरण भएको छ ।


यसबाट २९ लाख ८ हजार ७ सय ८१ घरधुरी लाभान्वित भएका छन् । हालसम्म करिब १ लाख ९१ हजार हेक्टर क्षेत्रफलमा १० वटा संरक्षित वन संरक्षण गरिएको छ ।

प्रकाशित : जेष्ठ १३, २०७६ १६:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?