३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

संघीय संसद्को नयाँ भवन बन्दै

ऋषिराम पौड्याल

काठमाडौँ — अढाई दशकको प्रयासपछि संघीय संसद्को आफ्नै भवन बन्ने निश्चित भएको छ । नेपाली कलात्मक शैलीको भवन निर्माणका लागि सहरी विकास तथा भवन विभागले डिजाइन तयार गरेर आइतबार ग्लोबल टेन्डर आह्वान गरेको छ ।

संघीय संसद्को नयाँ भवन बन्दै

सरकारले २०६४ देखि भाडा तिरेर नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई संसद् भवनका रूपमा प्रयोग गर्दै आएको छ । संसद् सञ्चालनका लागि भाडामा बर्सेनि १५ करोड रुपैयाँ खर्च भइरहेको छ ।


विगतका सरकारहरूले भवन बनाउने योजना अघि बढाउन खोजे पनि निर्माणको चरणमा पुग्न सकेका थिएनन् । सिंहदरबार परिसरमा रहेको पुरानो संसद्को भवन पनि भूकम्पले चर्कार्एको छ । अहिले सिंहदरबार परिसरको पुतलीबजारमा करिब ७ अर्ब रुपैयाँको लागतमा निर्माण हुने दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभाको उक्त भवन ‘स्टेट अफ आर्ट’ को एउटा नमुना हुने सहरी विकास तथा भवन विभागमा महानिर्देशक मणिराम गेलालले बताए । ‘अहिलेसम्मको मुलुककै ठूलो र अत्याधुनिक भवनमा युगअनुसारको प्रविधि र सुविधा उपलब्ध हुनेछ,’ उनले भने । १ सय ७३ रोपनी ८ आना अर्थात् ८८ हजार २ सय ७१ वर्गमिटरमा फैलिएको संसद् परिसरमा बन्ने सबै भवन ‘आइटेक’ इन्जिनियरिङ डिजाइन प्रविधि अपनाएर वास्तुकला झल्कने संरचना निर्माण हुनेछ ।


‘संघीय संसद् भवन परिसर’ नाम दिइएको उक्त संरचनाको निर्माण तीन वर्षमा पूरा गर्ने लक्ष्य राखिएको छ । परिसरलाई मुख्यतः भवन, हरियाली, पार्किङ र सडक पूर्वाधार क्षेत्रमा विभाजन गरिएको छ । परिसरमा प्रतिनिधिसभा, राष्ट्रिय सभा, संसदीय दल र संसदीय समितिहरूको कार्यालय, संसद् सचिवालय, अतिविशिष्ट व्यक्तिको भवन, लबी, पुस्तकालय, चमेना गृह, प्रेस तथा छपाइ भवन, सुरक्षा भवन, पार्किङ स्थललगायतका संरचना निर्माण गरिनेछ । परिसरमा भवन क्षेत्रले २७ र खुला हरियालीले ४५ प्रतिशत ओगट्नेछ । बाँकी क्षेत्र सडक पूर्वाधार र वाटरबडीले ओगट्नेछ ।


दायाँ–बायाँ दुई सदन

मूल गेटसॅग जोडिएको ६ रोपनी (३ हजार २ सय २४ वर्गमिटर) मा फैलिएको ‘ग्रान्ड लबी’ बाट बायाँ प्रतिनिधिसभा र दायाँ राष्ट्रिय सभा भवन हुनेछन् । संसद् प्रवेशका लागि ३ वटा गेट हुनेछन् । प्रतिनिधिसभाको ग्राउन्डफ्लोरमा संसद् बैठक सञ्चालन हुनेछ ।


सत्ता र प्रतिपक्षका सांसदहरू हालको जस्तो भिन्दाभिन्दै लहरमा नभई आमनेसामने हुने गरी ४ सय जना बस्ने घुमाउरो संरचना बनाइनेछ । उक्त फ्लोरमा सभामुख र सांसदहरूमात्र बस्न सक्नेछन् । फ्लोरमा संसद्का दुवै सदनका संयुक्त बैठक बस्न पुग्ने सिट संख्या निर्धारण गरिएको छ । प्रतिनिधिसभाको पहिलो तला (बालकोनी) मा ३ सय जनाको सिट हुनेछ ।


जहाँ सर्वसाधारण, सञ्चारकर्मी वा विशेष समारोहका बेला आमन्त्रितहरू बस्ने सिट हुनेछ । लबीको दाहिनेतर्फ राष्ट्रिय सभाको भवन हुनेछ । उक्त भवनमा १ सय सांसद र २ सय दर्शकको सिट व्यवस्था गरिएको छ । यसमा पनि बालकोनीमा दर्शक बस्ने व्यवस्था गरिएको छ । दुवै सदनको माथिल्लो तलामा जान लिफ्ट हुनेछ । मूल गेटको आगाडि पानीको फोहोराको आकर्षक संरचना हुनेछ ।


भीआईपी, सांसद र सर्वसाधारण प्रवेशद्धार फरक–फरक हुनेछ । संसद् परिसरमा महिला सांसदका लागि शिशु स्याहार र स्तनपान कक्षको व्यवस्था गरिएको डिजाइनमा छ । हाल सांसदहरूका लागि बैठक नहुँदा छलफल गर्दै बस्न संसद् परिसरमा छुट्टै व्यवस्था छैन । नयाँ बन्ने भवनमा भने उनीहरूका लागि क्युबिकल स्पेस (सानो कार्यकक्ष) को छुट्टाछुट्टै व्यवस्था गरिएको छ । सबै सांसदले उक्त स्थानमा बसेर आफ्नो व्यक्तिगत काम गर्न सक्नेछन् ।


एकीकृत संरचना

परिसरमा संसदको मुख्य दुई भवनबाहेकका कार्यालयहरू बनाइनेछ । विशेष विभाग निर्माण इकाईका संयोजक प्रवीण तुलाधरका अनुसार भीआईपीका लागि ग्राउन्ड फ्लोरसहित ४ तलाको भवन बन्नेछ । त्यहाँ प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष, संसद् सचिवालय महासचिवलगायतको कार्यालय हुनेछ । उनीहरूको कार्यालय त्यहाँ छुट्टाछुट्टै तलामा व्यवस्था गरिएको छ । राष्ट्रिय सभाको नजिकै संसद् सचिवालयको ३ तलाको छुट्टै भवन बनाइनेछ ।


त्यहाँ संसद् सचिवालयको कार्यालय हुनेछ । सचिवालयको नजिकै संसदीय समितिको कार्यालयहरू हुनेछन् । त्यहाँ २० वटाभन्दा बढी कार्यालय सञ्चालन गर्न सकिनेछ । त्यस्तै प्रतिनिधिसभामा जोडिने गरी संसदीय दलहरूका लागि कार्यालय सञ्चालन गर्न ५ तले भवन हुनेछ । चमेना गृह ग्राउन्डफ्लोरसहित दुई तलाको हुनेछ ।


माथिल्लो तलामा सांसदहरू र भुइँतलामा सर्वसाधारणका लागि चमेना गृह सञ्चालन हुनेछ । मुख्य भवनको बायाँतर्फ पुस्तकालय ४ तलाको हुनेछ । त्यहाँ स्टोर, म्युजियम, मिडिया सेन्टर, पब्लिकेसन कक्ष हुनेछन् । भीआईपी, भीभीआईपी, सांसद र सर्वसाधारणको सवारीसाधनका लागि पार्किङको छुट्टाछुट्टै स्थान निर्धारण गरिएको छ ।


करिब ७ सयवटा गाडी पार्किङ गर्न सकिनेछ । पार्किङको माथिल्लो भागमा सेक्युरिटी बस्ने व्यवस्था गरिएको छ । संसद् सचिवालयका महासचिव मनोहर भट्टराईले लामो समयको प्रयासपछि अत्याधुनिक र सुविधासम्पन्न संसद् भवन निर्माण सुरु हुन लागेको जानकारी दिए ।

प्रकाशित : जेष्ठ १३, २०७६ ०७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?