कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लार्चामा तयार भयो सुक्खा बन्दरगाह 

अनिश तिवारी

सिन्धुपाल्चोक — चीनको आर्थिक तथा प्राविधिक सहयोगमा लार्चामा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको सुक्खा बन्दरगाह निर्माण सकिएको छ । चिनियाँ प्राविधिक हुजी गोका अनुसार सुख्खा बन्दरगाहभित्रका केही प्राविधिक सामग्री र संरचनाबाहेक अरू सबै काम सकिएको हो । 

लार्चामा तयार भयो सुक्खा बन्दरगाह 

२०६९ बाट सुरु भएको बन्दरगाहको निर्माण भूकम्पपछि रोकिएको थियो । चाइना रेलवे कन्स्ट्रक्सन कम्पनी (सीआरसीसी) ले स्तरोन्नति गरिएको सुक्खा बन्दरगाह र बसेरी–तातोपानी सडक जेठको दोस्रो साता हस्तान्तरण गर्दै छ । मितेरी पुलदेखि करिब ५ किलोमिटर पश्चिम भोटेकोसी गाउँपालिका ३ स्थित लार्चामा बनिरहेको बन्दरगाहमा १५८ वटा ठूला मालवाहक कन्टेनर जाँच गर्न सकिने छ ।


बन्दरगाहमा ६० देखि सय टन माल बोकेका कन्टेनर एकैपटक तौलिने यन्त्र जडान हुँदै छ । भन्सार परिसरको कभर्ड हल, बगैंचा , घेराबन्दी पर्खाल, जाँचपास कक्षसम्बन्धी काम सकेर अहिले नेटवर्क, बिजुली जोड्ने लगायत काम भइरहेको प्राविधिक हुजी गोले जानकारी दिए ।


अरनिको राजमार्गबाट बन्दरगाह जोड्ने भोटेकोसीमा करिब ३५ मिटर लामो सुविधाजनक मोटरेबल पुल तयारी अवस्थामा छ । चिनियाँ प्राविधिकका अनुसार सीमावर्ती गाउँ दुगुनागढी जोड्ने यो मोटरेबल पुल एसियाकै नमुना डिजाइनमा निर्माण भएको छ । ‘यहाँको कन्टनेर जाँचपास गेटमा सबै अत्याधुनिक ‘रिमोट सिस्टम’ जडान गरिएको छ,’ सीआरसीसीका प्राविधिक हुजीको भनाइ उद्धृत गर्दै भोटेकोसी गाउँपालिका ३ का वडाध्यक्ष कैलाश पौडेलले भने ।


बन्दरगाह छेउमा बग्ने खोल्सा र जोखिमयुक्त पहिरोलाई नियन्त्रण गर्दै ७ एक्साभेटर, १० वटा ट्रिपर लगाएर काम चाँडै सकाइएको प्राविधिकले बताए । भित्री संरचना व्यवस्थित तरिकाले निर्माण गरिएकाले दीर्घकालीन प्रयोगमा ल्याउन सकिनेछ ।


सिन्धुपाल्चोकको भोटेकोसी ३ लार्चामा निर्माण गरिएको मोटरबेल पुल । तस्बिर : अनिश /कान्तिपुर

चीनका ४५ कामदारबाट बनाइएको बन्दरगाह जेठको दोस्रो साता हस्तान्तरण हुने सूचना पाएको जनप्रतिनिधिले बताए । २०६९ पुसबाट अन्तर्राष्ट्रिय मापदण्डअनुसार चीन सरकारको झन्डै १ अर्ब २० करोडको सहयोगमा तातोपानी क्षेत्रको लार्चामा बन्दरगाह निर्माण थालिएको थियो । निर्माण थालेको साढे दुई वर्षमा सक्ने लक्ष्यको साथ भइरहेको काम जुरेपहिरो, भूकम्प र बाढीकारण रोकिएको थियो ।


बन्दरगाह जोड्न भोटेकोसीमा बनाइएको पक्की पुल अन्तिम चरणमा नपुग्दै २०७१ मा आएको बाढीले बगायो । पुनः साउन १७ मा आएको जुरेपहिरो र ०७२ को भूकम्पले बन्दरगाहको निर्माण ठप्प बनाएको थियो । यो नेपालको पाँचौं बन्दरगाह हो । चीन जोड्ने सीमा नाका भने पहिलो हो । यसअघि काँकडभिट्टा, भैरहवा, वीरगन्ज र विराटनगरमा सुक्खा बन्दरगाह सञ्चालनमा छन् ।


आउँदो जेठको दोस्रो सातामा अत्याधुनिक सुक्खा बन्दरगाह पुल, मितेरी पुलसँगै कोदारी राजमार्ग हस्तान्तरण गर्दै नाका खोल्ने तयारी हुँदै छ । त्यसैका लागि नेपालतर्फ नयाँ भवन नबनेका कारणले गर्दा अध्यागमन, भन्सार चेकपोस्ट र सीमा सुरक्षा भवन पुरानै प्रयोगमा ल्याइनेछ ।

कार्यालय मितेरी पुल नजिकै रहनुपर्ने भएकाले पनि पुरानै भवनलाई मर्मतसम्भार र रंगरोगन गरिएको छ । बर्खामा पहिरोको जोखिम भने यथावत् रहेको स्थानीयको भनाइ छ ।

प्रकाशित : जेष्ठ १२, २०७६ २०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?