२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २९७

तातोपानी नाकाबाट तत्काल मालसामान मात्रै

लक्ष्मी लम्साल

बेइजिङ — चार वर्षअघिको भूकम्पका कारण ध्वस्त भएको नेपाल-चीन तातोपानी नाका सञ्चालनमा आउने भएको छ। २०७२ वैशाख १२ को भूकम्पले पूर्वाधारमा नराम्ररी क्षति पुगेपछि नेपालले व्यापारिक तथा पर्यटकीय आम्दानी गुमाउन पुगेको थियो। चीनले यो नाका पुनः सञ्चालनको अग्रसरता लिएपनि तत्काल पर्यटक आवतजावतको लागि भने खुल्ला नगर्ने देखिएको छ।

तातोपानी नाकाबाट तत्काल मालसामान मात्रै

नेपालका सञ्चारमाध्यमहरूका अनुसार जेठको मध्यान्तरपछि तातोपानी नाका सुचारु भएको घोषणा गरिनेछ। ल्हासास्थित नेपाली महावाणिज्य दूतावासका महावाणिज्य दूत गोविन्दबहादुर कार्कीले नाका खुल्ने पुष्टि गरे। उनका अनुसार मितेरी पुल छेउमा २/३ वटा ट्रकमा सामान लोड गर्ने अनि नेपाल पठाउने योजना छ। मितेरी पुल नजिकैबाट नेपाली सामान लोड गरिएको ट्रक नेपाल पठाउने भन्ने हो।


‘नेपालका लागि चिनियाँ राजदूतावासले समन्वय गरेर काठमाडौँबाट नेपाली अधिकारीहरू आउने र चिनियाँतर्फबाट भन्सार र वाणिज्य विभागका पदाधिकारीहरू ल्हासाबाट तातोपानी बोर्डर जाने योजना छ,’ महावाणिज्यदूत कार्कीले भने, ‘तातोपानी नाका सम्बन्धित मान्छेहरू, न्यालम अन्तर्गत कार्य क्षेत्रमा परेका अधिकारीहरू पनि सहभागी हुनेछन्। रिबन काटेर ‘यो नाका माल सामानका लागि सुरुवात भयो’ भन्दै लोड गरिएका ट्रकहरू नेपाल भित्रिने छन्।’


तिब्बती अधिकारीहरूले जानकारी दिएअनुसार नाकाबाट अहिले नै पर्यटक ओहोरदोहोर गर्न पाउनेबारे निर्णय भएको छैन। कार्कीले बताए अनुसार तत्काल पर्यटकीय ओहोरदोहोर गर्ने गरी नाका चलाउने पक्षमा चिनियाँ मनस्थिति देखिँदैन। उनले भने, ‘सामान ओसारपसार सुचारु भएपछि चीनले नेपालतर्फको अवस्था अध्ययन गर्नेछ। नेपाल सरकारले कत्तिको भरपर्दो बाटो संरचना बनाउँछ, सामान ओसारपसार गर्दाको अनुभवबाट कत्तिको मानवीय आउजाउ भरपर्दो हुन्छ, त्यो हेरेर मात्रै चीन अगाडि बढ्नेछ तर भविष्यमा के हुन्छ भनेर अहिल्यै पूर्वानुमान गर्न सहज छैन।’


चार वर्षअघि भूकम्प उद्धारका क्रममा चीनले सुरक्षा संवेदनशीलताबारे बुझेपछि नाका खोल्न ढिलाइ गर्नुका साथै तत्कालका लागि केरुङ नाका खुल्ला गरेको थियो। हाल अन्तर्राष्ट्रिय नाकाका रूपमा विकसित भइरहेको यो नाका नै चीनले दक्षिण एसिया जोड्ने नाकाको रूपमा लिइरहेको छ।


नेपाली अधिकारीहरूको निरन्तरको प्रयास तथा कूटनीतिक अग्रसरताका कारण चीनले तातोपानी नाका खोल्ने तत्परता देखाएपछि पहिलो चरणमा पूर्वाधार पुनर्निर्माणमा गतिशीलता ल्याएको हो।


महावाणिज्यदूत कार्कीले तिब्बतले भूकम्पअघिको खासाको बस्तीलाई त्यहाँबाट टाढै राख्न खोज्नुको कारण सुरक्षा संवेदनशीलता नै हुनसक्छ। ‘चिनियाँको जस्तै बलियो संरचना नबनाइकन बाटो दिगो हुन नसक्ने र यातायात संरचना दिगो नहुनुको अर्थ बाह्रै महिना मालसामान आवतजावत हुन नसक्नु हो। त्यसैले जोखिम हुने ठानेरै तत्काल पर्यटकका लागि नखुलाउने हुनसक्छ’ उनले थपे।

प्रकाशित : जेष्ठ १२, २०७६ १४:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?