मिडिया काउन्सिल विधेयक परिमार्जन गर्नुपर्छ : नेता नेपाल

रासस

बाँके — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले मिडिया काउन्सिल विधेयक विवादित बनेकाले सबैलाई मान्य हुनेगरी परिमार्जन गरेर अघि बढ्नुपर्ने बताएका छन् । उनले विधेयकका बारेमा धेरै नकारात्मक कुरा बाहिर आइरहेकाले परिमार्जन गरेर पारित गर्नुपर्नेमा जोड दिए । 

फाइल तस्बिर ।

प्रेस संगठनले शनिबार नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले भने,'विवाद र विमत्ति रहेकै अवस्थामा यसलाई पास गरिनुहुँदैन, विवादास्पद रुपमा विधेयक ल्याउने कुरा नहोस्, यसलाई सबैले अपनत्व महसुस गर्ने गरी अघि बढाउनुपर्छ।'

उनले विधेयकलाई छलफल र सुझावसहित संशोधन गर्नुपर्ने बताए। 'प्रेस स्वतन्त्र हुनुपर्छ, कहीँकतैबाट प्रेसमाथि अंकुश लगाउने काम राम्रो होइन, यसतर्फ सरकारले ध्यान दिन्छ', वरिष्ठ नेता नेपालले भने,'सबैलाई अपनत्व महसुस हुनेगरी विधेयक ल्याउँदा त्यसले सरकारका काम कारबाहीमा अझ लोकप्रियता बढ्छ।'

यस्तै उनले विप्लव नेतृत्वको नेकपालाई हतियारको राजनीतिले परिवर्तन सम्भव नभएको स्पष्ट पारे। उनले भने,'जनताका बीचमा राम्रो काम गर्नुस्, जनतामा चेतना जगाउनुस्, तर हरियार देखाएर जनतालाई तर्साउने काम नगर्नुस्।' एउटा कम्युनिष्ट पार्टीले बहुमतको सरकार चलाइरहेका बेला सरकारका विरुद्ध हतियार उठाएर हिंसाको बाटो रोज्ने कम्युनिष्ट पार्टी हुनै नसक्ने उनले दाबी गरे।

एक अर्को प्रसंगमा उनले तीव्र आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य पूरा गर्न बजेटका बारेमा विस्तृत छलफल गरेर जनताले नयाँ कुराको अनुभूति गर्नेगरी सरकारले बजेट ल्याउनुपर्नेमा जोड दिए। परम्परागत ढंगले बजेट ल्याइए त्यसले जनआकांक्षा र राष्ट्रको आवश्यकता पूरा नहुने उनको भनाइ थियो।

प्रकाशित : जेष्ठ ११, २०७६ १४:५३
प्रतिक्रिया
पठाउनुहोस्

नयाँ मन्त्रिमण्डल घोषणा गर्दै प्रधानमन्त्री मरिसन

नारायण खड्का

अस्ट्रेलिया — अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले नयाँ मन्त्रिमण्डल घोषणा गर्ने भएका छन् । एक साताअघि भएको निर्वाचनमा अप्रत्याशित जीत हासिल गरेपछि उनले बहुमतको सरकार बनाउने अवसर पाएका हुन् ।

घोषणा गरिने मन्त्रिमण्डलमा अधिकांश पुरानै अनुहार हुने भए पनि केही नयाँ सांसदहरूले मन्त्रालय सम्हाल्ने अवसर पाउनेछन् । स्थानीय सञ्चारमाध्यमहरूका अनुसार विदेश, गृह, अर्थ, वित्तीय, स्वास्थ्य लगायतका महत्त्वपूर्ण मन्त्रालयहरूमा यसअघिकै अनुहारहरू दोहोरिनेछन् भने नयाँ मन्त्रालयहरूमा कम्तीमा दुई महिलाले जिम्मेवारी पाउनेछन् ।

यसअघिका मन्त्रीहरू पिटर डट्टन, माथियस कोरम्यान, जोस फ्याडनवर्ग, ग्रेग हन्ट लगायतका सांसदहरूले निरन्तरता पाउने झएका छन् । यसै गरी नयाँ संरचनामा महान्याधिवक्ता त्रिष्टियन पोर्टर संसद्को नेताका रूपमा चुनिने भएका छन् । प्रधानमन्त्री मरिसनले आइतबारसम्ममा नयाँ मन्त्रिमण्डलको घोषणा गर्ने जनाइएको छ ।
अस्ट्रेलियाको निर्वाचन आयोगले अहिलेसम्म औपचारिक रूपमा घोषणा नगरिसकेको भए पनि सत्तारुढ लिबरल गठबन्धनले ७८ सिटमा जीत हासिल गर्ने पक्का भइसकेको सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । जसमा विपक्षी दल लेबरले ६७ सिटमा चित्त बुझाउनुपर्ने भएको छ ।

अस्ट्रेलियाको तल्लो सदन प्रतिनिधिसभामा बहुमतको सरकार बनाउनका लागि ७६ सिटको आवश्यता पर्दछ । माथिल्लो सदन सिनेटमा भने लिबरल गठबन्धनले बहुमत नल्याउने दाबी गरिएको छ । दर्जनौँ संस्थाहरूले वर्षौँदेखि गरेको सर्वेक्षण नतिजाको विपरीत लिबरलले बहुमत सिट जीत हासिल गर्न सफल बनेको हो ।

प्रकाशित : जेष्ठ ११, २०७६ १४:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्