आरोहीको नशा

सगरमाथा शिखर सबैभन्दा उच्च ठाउँ । त्यसैले त्यहाँ पुग्नु अधिकांश आरोहीको सपना बन्ने गर्छ । एकपटक आरोहण गरेर फर्किने अधिकांशलाई दोहोर्‍याउन मन लाग्छ । सगरमाथा आरोही संघकी अध्यक्ष माया शेर्पाको अनुभव छ, ‘चढ्दा गाह्रो भो भने बेकारमा आएजस्तो लाग्छ, शिखर चुमेर फर्केपछि फेरि त्यहीँ पुग्ने हतारो हुन्छ ।’
कुम्भराज राई

सगरमाथा आधारशिविर — अधिकांश आरोहीको समान भनाइ छ, ‘उचाइ नशा हो ।’ जति उचाइमा पुगिन्छ, उति त्योभन्दा माथि पुग्न मन लाग्छ । उनीहरू भन्छन्, उचाइबाट लिने एउटै मज्जा हो– आफू सबैभन्दा अग्लो भएको महसुस गर्नु र सबै दृश्यलाई तलतिर पारेर हेर्नु । 

सगरमाथाको उचाइ मापन गर्ने टोलीलाई शुक्रबार काठमाडौंमा स्वागत गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्याल । तस्बिर : इलिट जोशी/कान्तिपुर

‘मलाई चाहिँ गज्जब त्यतिबेला लाग्यो, जतिबेला चट्याङसमेत मभन्दा निकै मुनितिर झल्याकझुलुक गरेर चम्किरहेको थियो,’ पहिलोपटक सगरमाथा आरोहण जाँदाको क्षण सम्झँदै खिमलाल गौतमले भने, ‘बादल पनि मभन्दा तल रहेछ भन्ने थाहा पाउँदा गर्वानुभूति भयो ।’

उनले यसपटक फेरि सगरमाथा सर्वेक्षणका लागि नापी विभागको नेतृत्व गरेर शिखर चुमेका छन् ।
सगरमाथामा पुग्नु अधिकांश आरोहीको सपना हो । ‘प्राविधिक रूपले सगरमाथाभन्दा अप्ठ्यारा हिमाल नेपालमै धेरै छन्,’ नेपाल माउन्टेन एकेडेमीका प्रशिक्षक तथा क्लाइम्बिङ गाइड छिरिङजाङबु शेर्पाले भने, ‘सर्वोच्च शिखर भएकाले एकपटक यसको शिरमा पुग्ने रहर जाग्नु स्वाभाविक हो ।’ उनले उमेर र बल हुँदा दुईपटक बिनाअक्सिजन शिखरमा पाइला टेकेको सम्झिए ।

हिमालमा ज्यान गुमाउनेमध्ये धेरैजना यही नशामा चुर्लुम्म डुबेका हुन्छन् । अंग्रेजीमा ‘समिट फिभर’ नाम राखिएको छ । शिखरमा पुग्नेबाहेक उनीहरू अरू केही सोच्दैनन् । त्यसैले भएभरको शक्ति खपत गरेर शिखरमा पुगे पनि सहज रूपले ओर्लिन सक्दैनन् । र, ज्यान गुमाउँछन् ।

एकपटक आरोहण गरेर फर्किने अधिकांशलाई दोहोर्‍याउन मन लाग्छ । सगरमाथा आरोही संघकी अध्यक्ष माया शेर्पाको अनुभव छ, ‘चढदा गाह्रो भो भने बेकारमा आएजस्तो लाग्छ । शिखर चुमेर फर्केपछि फेरि त्यही चुचुरोमा पुग्ने हतारो हुन्छ ।’

सन् २०१४ मा हिमपहिरोमा परी सगरमाथामा १६ शेर्पाले ज्यान गुमाए । २०१५ को भूकम्पमा २२ जनाको ज्यान गयो । त्यसयता मर्नेको संख्या २० नाघिसकेको छ । आरोहण गर्नेको संख्या पनि उत्तिकै बढिरहेको छ । यही सिजनमा मात्रै ३ सय हाराहारीले सगरमाथा शिखरमा टेकिसकेका छन् । सहयोगी शेर्पासहित गणना गर्ने हो भने त्यसको संख्या ६ सयभन्दा माथि छ ।

मेलोरीदेखि कामीरितासम्म
न्युजिल्यान्डका एडमन्ड हिलारी र तेन्जिङ शेर्पाले सगरमाथा चढ्नुअघि धेरैले आरोहण प्रयास गरे । हिलारी र तेन्जिङभन्दा ३३ वर्षपहिले सन् १९२० मा जर्ज मेलोरी नाम गरेका बेलायती आरोहीले आरोहण प्रयास गरेका थिए । उनी आरोहणकै क्रममा बेपत्ता भए । कतिपयले मेलोरी र उनका साथी एन्ड्रिउलगायतले आरोहण गरे पनि फर्किन नसकेको अनुमान गरेका छन् ।

हिलारी र तेन्जिङले सन् १९५३ मे २९ मा पहिलोपटक सफल आरोहण गरेर फर्किसकेपछि यसको व्यावसायिक आरोहण सुरु भएको मानिन्छ । सगरमाथा आरोहण सुरु भएपछि अनगिन्ती कीर्तिमान राखिएका छन् । जुन अस्वाभाविक मानिन्छ ।

‘हिउँ पग्लिएर कालो पहाड भएको देख्दा र बेलाबेलामा मान्छेहरू धेरै मरेको देख्दा मान्छे चढेर नचाहिने काम गरेकाले देवीलाई जुठो परेर यस्तो भएको जस्तो लाग्छ,’ ३९ वर्षदेखि सगरमाथामा काम गरेका आङकामी शेर्पाले भने, ‘जसले जे पायो त्यही गर्दिन्छन् । सगरमाथा सबैलाई सजिलो जस्तो भयो ।’

सगरमाथा आरोहणकै नशाका कारण बाबुछिरी शेर्पा, आङरिता शेर्पा, पासाङल्हामु शेर्पा, आप्पा शेर्पा हुँदै कामिरिता शेर्पासम्मको कीर्तिमानी कायम भएको छ । शेर्पा समुदायमा शिक्षा कम भएका कारण भारी बोक्ने बाध्यतासँगै उनीहरूमा सगरमाथा चुम्ने नशा चढ्छ ।

कामीरिता आफैंले आरोहण सुरु गर्दा कीर्तिमान कायम राख्छु भन्ने सोचेका थिएनन् । पेसाको हिसाबले चढ्दै जाँदा कीर्तिमानी भयो । अन्त्यमा आएर कीर्तिमानी कायम गर्ने चुनौतीले उनले अर्को साल पनि आरोहण गरेर २५ पटक चढ्ने बताएका छन् । तर प्रत्येक पटकको आरोहण उत्तिकै चुनौतीपूर्ण हो भन्ने उनलाई राम्रोसँग थाहा छ ।

यस वर्षका चर्चित
यस वर्षको आरोहणका सबैभन्दा चर्चित पात्र कामीरिता शेर्पा भए । उनले एकै सातामा दुईपटक सगरमाथा शिखर चुमेर आफ्नै विश्व कीर्तिमान तोडदै २४ पटक सगरमाथा आरोहण गरे । ‘मलाई विश्वका समुदायलाई यो साहसिक कीर्तिमानी सुनाउन पाउँदा, शेर्पा समुदाय र नेपाली हुन पाएकोमा गर्व लागेको छ,’ उनले भने, ‘कर्मको साथसाथै कीर्तिमान प्राप्त भयो । खुसी छु ।’ उनले सन् १९९४ मा पहिलोपटक सगरमाथा आरोहण गरेका थिए ।

सगरमाथा मापन गर्ने टोली पनि चर्चामा रह्यो । सरकारले अन्तर्राष्ट्रिय वैज्ञानिकद्वारा मान्यताप्राप्त प्रविधिमार्फत पहिलोपटक सगरमाथाको उचाइ नाप्न लागेका कारण उनीहरूको आरोहण चर्चामा रह्यो । खिमलाल गौतम त्यसको टिमलिडर हुन् ।

खिमलालसँगै नापी अधिकृत रविन कार्कीले पहिलोपटक सगरमाथा आरोहण गरे । खिमलालले यसअघि निजामती कर्मचारीको टोलीबाट आरोहण गरेका थिए । हिमालमै श्रीमान गुमाएका खुम्बुपासाङल्हामु गाउँपालिका ४, खुम्जुङकी दुई विधवा महिला निमाडोमा र फुर्दिकी शेर्पालाई पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले पछ्याइरहे ।

उनीहरूले ‘हामी पनि गर्न सक्छौं’ भन्ने मूल नारा लिएर सगरमाथा आरोहण गरे । हिमालले खोसेको खुसी फिर्ता गर्न गएको उनीहरूको सन्देशले विश्व समुदायलाई भावुक बनायो । फुर्दिकीका श्रीमान मिङमार ६ वर्षअघि सगरमाथामै बाटो बनाउने क्रममा लडेर बितेका थिए । निमाडोमाका श्रीमान् छिरिङवाङछुले पनि पाँच वर्षअघि सगरमाथाकै हिमपहिरोमा ज्यान गुमाएका थिए ।

आरोहीसँगै समस्या
अनुमति लिने आरोहीको संख्या वर्षेनी बढदो छ । सन् २०१० मा २ सय ३७ ले सगरमाथा आरोहणको अनुमति लिएका थिए भने सन् २०१९ को वसन्त ऋतुमा ३ सय ७९ ले अनुमति लिए ।

त्यसबीचका वर्षमा सामान्य घटबढ भए पनि औसतमा आरोहीको संख्या बढिरहेको छ । अनुमति लिने आरोहीको साथमा १ देखि दुईजना सहयोगी शेर्पाको गणना गर्ने हो भने सगरमाथामा आरोहणको मौसममा ट्राफिक जाम हुने गर्छ । जाम जति बढ्यो, त्यति आरोहीको ज्यान जाने खतरा हुन्छ । जिन्दगीमा कुनै हिमाल नचढेकाहरू समेत एकैपटक सगरमाथा आरोहणको अनुमति लिएर आएका भेटिन्छन् ।

‘चीनले आफ्ना नागरिकलाई कम्तीमा आठ हजार मिटर चढिसकेकालाई मात्र सगरमाथा चढ्ने अनुमति दिन्छ,’ छिरिङजाङबु भन्छन्, ‘नेपाल सरकारले पनि कम्तीमा ६ हजार, ७ हजार हुँदै ८ हजार मिटरको हिमाल चढ्न पाउने व्यवस्था गर्न सके सगरमाथामा ह्वात्तै बढ्ने आरोहीको संख्या व्यवस्थित हुने थियो ।’

आरोही बढेर राजस्व धेरै संकलन हुनु मात्र गर्व गर्ने विषय नभएको उनले बताए । आरोही बढेपछि फोहोर बढ्छ । ट्राफिक जाम भएपछि जोखिम बढ्छ । आधारशिविरमै निकै भीड हुने गरेको छ ।

आधारशिविरमा टेन्ट टाँग्ने बेला कतिपय आरोहण दलका सदस्यले अवैध रूपमा ड्रोन उडाउने, बिनाअनुमति शिखरसम्म विभिन्न किसिमका क्यामेरा र प्रविधि प्रयोग गर्ने गरेका छन् । जसलाई नेपाल सरकारले नियन्त्रण गर्न सक्दैन । आधारशिविरको प्रवेशद्वारमै प्रवेश गर्नेहरूको नामावली व्यवस्थित गर्न सके धेरै व्यवस्थित हुने सरोकारवालाको भनाइ छ ।

सगरमाथामा पहिलेको तुलनामा फोहोर घटे पनि चौथो शिविरआसपास धेरै फोहोर भएको आरोहीको अनुभव छ । भूकम्पका बेला शिविरमा पाल टाँगिसकेपछि भागेका आरोहण दलले छोडेका पाल धेरै थुप्रिएका छन् ।

ती फोहोर आइसमा गाडिएका कारण छुट्टै शेर्पाहरूको टोली आवश्यक औजारसहित पठाउन नसके ल्याउन नसकिने उनीहरू बताउँछन् । एकजना शेर्पाबराबर आठ किलो फोहोर एक सिजनमा ल्याउनुपर्ने नियम राखिएको छ ।

उनीहरूले एक किलोबराबर ६ सय रुपैयाँ पैसा सगरमाथा प्रदूषण नियन्त्रण समितिबाट प्राप्त गर्छन् । त्यो रकम पर्याप्त नभएको शेर्पाहरूको गुनासो छ ।

बर्सेनि सगरमाथा सफाइको नाममा करोडौं रकम खर्च भए पनि उपलब्धिको लेखाजोखा नभएको पर्यटन व्यवसायी बताउँछन् । सफाइका लागि खटिएका शेर्पाहरूको पारिश्रमिक थोरै भएको गुनासो छ । ज्यान जोखिममा राखेर काम गर्ने शेर्पाहरूले दिनको १ हजार २ सयदेखि १ हजार ५ सयसम्म मात्र पाउँछन् ।

प्रकाशित : जेष्ठ ११, २०७६ ०८:१९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

‘फर्किन पाइएला भन्ने लागेकै थिएन’

होम कार्की

काठमाडौँ — ‘बाँचेर आइएला भन्ने मनले चिताएको थिएन,’ धरान १७ का ३८ वर्षीय राजु विष्टले भने, ‘हाम्रो भाग्य बलियो रहेछ ।’ टर्किस एयरलाइन्सको विमान बुधबार बिहान ८ बजे त्रिभुवन विमानस्थलमा अवतरण हुँदासम्म उनलाई नेपाल आइपुगिन्छ भन्ने लागेको रहेनछ । ‘फेरि कुन देशमा ल्यायो, अब कता लैजाने हो जस्तो लागेको थियो,’ उनले भने ।

उनीसँगै १५ युवा काठमाडौं उत्रिएका थिए । द्वन्द्वग्रस्त लिबियामा फसेका उनीहरूलाई अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) ले उद्धार गरी टर्की हुँदै काठमाडौं पठाएको हो ।

राजुको मानसपटलमा अझै सामुन्ने झरेको बमको तस्बिर घुमिरहेको छ । ‘लिबियाको सात महिने बसाइले मेरो दिमाग हल्लाइदियो,’ प्रवासी नेपाल समन्वय समितिको सेल्टरमा भेटिएका विष्टले कान्तिपुरसँग भने, ‘ती दिन सम्झँदा अत्यास लाग्छ, छाती फुलेर आउँछ ।’

राजुसहित गुजरा नगरपालिका ८, रौतहटका २५ वर्षीय अजयकुमार चौधरी, धरान ११ का ३३ वर्षीय प्रकाश विश्वकर्मा, कटारी १, उदयपुरका ३४ वर्षीय मनोहर कार्की, चन्द्रपुर १३, रौतहटका २३ वर्षीय जयराम धमी, लिसंखुपाखर १, सिन्धुपाल्चोकका २८ वर्षीय कृष्ण कोइराला र धरान १३ का २१ वर्षीय सनम विश्वकर्मा त्रिपोलीस्थित इन्जिरामा अंगुर खेती गर्ने फर्ममा पुगेका थिए ।

इन्जिरा त्रिपोलीको मुख्य सहरबाट गाडीमा एक घण्टा दूरीमा रहेको गाउँ हो । गाउँमा पातला घर थिए । ती पनि प्रायः रित्ता । इन्जिरा कृषि क्षेत्र हो । ‘हामीलाई अंगुर फार्ममा खटाइएको थियो । झन्डै ६ किमि फराकिलो फार्ममा अग्लो पर्खाल लगाइएको थियो,’ कृष्ण कोइरालाले भने, ‘खेतीका मालिक लिबियन थिए । काम गर्ने हामी ६ जना नेपाली र केही सुडानी थिए ।’

दलालले उनीहरूलाई दूध डेरीमा काम गर्ने भनेर पठाएका थिए । त्यो पनि श्रम स्वीकृतिबिनै । ‘दुबईको भिसा बोकेर काठमाडौंबाटै उडेको हो । त्यहाँ अरू समूह पनि लिबियाको प्रतीक्षामा बसेका रहेछन् । एक महिना बसेपछि मात्रै लिबिया पठाए,’ मनोहरले भने, ‘त्यहाँ जानु गैरकानुनी हो भन्ने दुबई पुगेपछि थाहा पायौं । त्यहींबाट फर्किन खोज्दा पैसा फस्ने डर देखाइयो । उता पुगेपछि झन् भुमरीमा फस्यौं ।’

उनीहरूसँगै गएको अर्को समूहमा भानु ५, तनहुँका २८ वर्षीय पूर्णबहादुर गुरुङ, धरान १३ का २६ वर्षीय राजु विश्वकर्मा, रुपापोखरी लमजुङका २३ वर्षीय अमृत गुरुङ, बाह्रदशी ७ झापाका २६ वर्षीय शेखर खरेल, बेंसीसहर २, लमजुङका ४० वर्षीय गुप्तबहादुर विक, घोराही १० का ३२ वर्षीय भुवन आचार्य, तनहुँका ५२ वर्षीय बुद्धिबहादुर अधिकारी र सैनामैना १०, रूपन्देहीका ३० वर्षीय गणेश थापामगर थिए । उनीहरूलाई त्रिपोलीकै सिदिसैया सहरमा गैंती–बेल्चाको काम लगाइएको थियो । एकआपसमा भेटघाट हुन सकेको थिएन ।

पहिलो समूह फार्म पुग्दा अंगुर टिपिसकिएको थियो । जानेबित्तिकै गोडमेल गर्ने जिम्मेवारी दिइयो । ‘मनले काम गर्न मानेको थिएन, साहुले काम नगर्ने भए ३ हजार डलर दिनुपर्ने सर्त राख्यो,’ शेखरले भने, ‘त्यत्रो पैसा कसरी तिर्नु ?’

सुत्ने कोठा केही थिएन । उडुसै उडुसले भरिएको थोत्रा म्याट थिए । कोठामा पंखा थिएन । पकाउनेभाँडा र मरमसला थिएन । सुडानीसँग भएका भाँडा प्रयोग गर्नपाएँ । ‘खेतीभित्र छिरेपछि हामीलाई सिमकार्ड दिइएन, कोहीलाई केही सुनाउनै पाएनौं,’ विष्टले भने, ‘पूरै बन्धकजस्तो भयौं ।’
सरकारविहीन देशउनीहरूले लिबियन सरकारको उपस्थिति कतै देखेनन् । ‘जसले जे गरे पनि हुने, अनेक थरी बन्दुकधारी समूह, सबैले आआफ्नै क्षेत्र कब्जा गरी बसेका,’ विष्टले भने, ‘जताततै लुटपाट र हत्याहिंसा ।’

जतिखेर पनि बम पडकिरहन्थ्यो । गोलाको वर्षा भइरहन्थ्यो । ‘नमाज पढ्ने बेला मात्रै हो गोलीबारुदको आवाज नआउने,’ चौधरीले भने, ‘सुत्ने बेला कानमा एयरफोन कोच्थ्यौं ।’
उनीहरू काम गरिरहेको छेउमै बम खस्थ्यो । ‘भाग्य बलियो रहेछ र बाँच्यौं,’ उनले भने, ‘कुन ठाउँमा कतिखेर कसले हानेको बम खस्छ, थाहै नहुने । कति टाढाबाट कसलाई हानेको केही ठम्याउनै नसकिने ।’

सहरका बैंकहरू बन्द थिए । ‘चार महिनापछि मालिकले तलब दियो, एक हजार डलर आउनुपर्ने, दुई सय डलर मात्रै पायौं,’ उनले भने, ‘एकजना लिबियनको साथ लागेर पैसा पठाउन बैंकमा पुग्यौं तर कालोबजार रहेछ । एक लाख रुपैयाँ पठाउँदा २५/३० हजार कमिसनमै जान्थ्यो ।’

भागेर आईओएमको सेल्टर
उनीहरूलाई पठाउने सबै दलाल सम्पर्कविहीन थिए । मालिक फर्काउन तयार थिएनन् । गणेश थापामगरले इजिप्टस्थित नेपाली दूतावाससँग सम्पर्क बढाए ।

दूतावासका कन्सुलर सुजन बिडारीले लिबियामा रहेका नेपाली शान्ति सेना र आईओएमसँग समन्वय गरिरहे । ‘बाटोमा निस्कनै खतरा थियो, सेना हामी भएको ठाउँमा आउन नसक्ने, हामी सेनाले भनेका ठाउँमा जान नसक्ने स्थिति थियो,’ थापाले भने, ‘त्यसैगरी एक महिना बित्यो ।’

जोखिम लिएर आएमा सेल्टरमा राखेर नेपाल पठाउन आईओएम तयार भयो । दुई समूह एकै ठाउँमा भेट्ने अवस्था पनि थिएन । ‘मालिकलाई थाहा नदिई हामीले ट्याक्सी खोज्यौं, बाटोमा जे पनि हुने अवस्था थियो । हामीसँग लिबियाको भिसाको म्याद सकिइसकेको थियो । प्रहरीले समाते जेल हाल्थ्यो । निकै जोखिम मोलेर आईओएमको ठेगानामा गयौं,’ कोइरालाले भने, ‘धन्न बाटामा कुनै सशस्त्र समूहसँग भेट भएन ।’

उनीहरू जेठ २ गते बिहीबार आईओएमको सेल्टरमा पुग्न सफल भए । सेल्टरमा बस्ने र खाने सुविधा थियो । आईओएमले नै नेपालसम्मको टिकटको व्यवस्था गरिदियो । ‘मालिकले रोक्ने प्रयास गरेको थियो, आईओएमले मानेन, टर्कीसम्म पुर्‍याउन उनीहरूकै मान्छे आए,’ गुरुङले भने, ‘काठमाडौं आइपुगेपछि मात्रै मन चंगा भयो ।’

दलाल कसरी पक्रने ?
यो टोलीलाई लिबियासम्म पुर्‍याउने मुख्य एजेन्ट टंकीसिनवारी ३, मोरङका केशव लम्साल र देवेन्द्र उप्रेती हुन् । उनीहरूलाई चितवनका मंग्रा महतो, खोटाङका राहुल भनिने तीर्थबहादुर विश्वकर्मा, रूपन्देहीका अमरबहादुर बगाले, रुकुमका दीपककिशोर श्रेष्ठ र झापाका शेखरनाथ प्रसाईंले मान्छे उपलब्ध गराएका हुन् ।

दुबई र लिबिया बस्ने अरू एजेन्ट पनि सक्रिय छन् । यो टोलीबाट उनीहरूले झन्डै ७० लाख रुपैयाँ उठाएका थिए । एजेन्टलाई २ लाख ८० हजारदेखि बढीमा ५ लाख १८ हजार रुपैयाँसम्म दिइएको छ । पीडितले एजेन्टविरुद्ध महानगरीय अपराध महाशाखामा उजुरी दिएका छन् ।

अधिकांशले सयकडा ५ रुपैयाँको ब्याजमा ऋण लिएका थिए । ‘आफ्नो देश आइपुगियो, रित्तो हात अब कसरी घर फिर्ने ?’ रौतहटका जयरामले भने, ‘घरमा पुग्नेबित्तिकै साहु आइपुग्छ । घर पनि जाऊँ कि नजाऊँ भइरहेको छ ।’

प्रकाशित : जेष्ठ ११, २०७६ ०८:१८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×