‘फर्किन पाइएला भन्ने लागेकै थिएन’

होम कार्की

काठमाडौँ — ‘बाँचेर आइएला भन्ने मनले चिताएको थिएन,’ धरान १७ का ३८ वर्षीय राजु विष्टले भने, ‘हाम्रो भाग्य बलियो रहेछ ।’ टर्किस एयरलाइन्सको विमान बुधबार बिहान ८ बजे त्रिभुवन विमानस्थलमा अवतरण हुँदासम्म उनलाई नेपाल आइपुगिन्छ भन्ने लागेको रहेनछ । ‘फेरि कुन देशमा ल्यायो, अब कता लैजाने हो जस्तो लागेको थियो,’ उनले भने ।

‘फर्किन पाइएला भन्ने लागेकै थिएन’

उनीसँगै १५ युवा काठमाडौं उत्रिएका थिए । द्वन्द्वग्रस्त लिबियामा फसेका उनीहरूलाई अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) ले उद्धार गरी टर्की हुँदै काठमाडौं पठाएको हो ।

राजुको मानसपटलमा अझै सामुन्ने झरेको बमको तस्बिर घुमिरहेको छ । ‘लिबियाको सात महिने बसाइले मेरो दिमाग हल्लाइदियो,’ प्रवासी नेपाल समन्वय समितिको सेल्टरमा भेटिएका विष्टले कान्तिपुरसँग भने, ‘ती दिन सम्झँदा अत्यास लाग्छ, छाती फुलेर आउँछ ।’

राजुसहित गुजरा नगरपालिका ८, रौतहटका २५ वर्षीय अजयकुमार चौधरी, धरान ११ का ३३ वर्षीय प्रकाश विश्वकर्मा, कटारी १, उदयपुरका ३४ वर्षीय मनोहर कार्की, चन्द्रपुर १३, रौतहटका २३ वर्षीय जयराम धमी, लिसंखुपाखर १, सिन्धुपाल्चोकका २८ वर्षीय कृष्ण कोइराला र धरान १३ का २१ वर्षीय सनम विश्वकर्मा त्रिपोलीस्थित इन्जिरामा अंगुर खेती गर्ने फर्ममा पुगेका थिए ।

इन्जिरा त्रिपोलीको मुख्य सहरबाट गाडीमा एक घण्टा दूरीमा रहेको गाउँ हो । गाउँमा पातला घर थिए । ती पनि प्रायः रित्ता । इन्जिरा कृषि क्षेत्र हो । ‘हामीलाई अंगुर फार्ममा खटाइएको थियो । झन्डै ६ किमि फराकिलो फार्ममा अग्लो पर्खाल लगाइएको थियो,’ कृष्ण कोइरालाले भने, ‘खेतीका मालिक लिबियन थिए । काम गर्ने हामी ६ जना नेपाली र केही सुडानी थिए ।’

दलालले उनीहरूलाई दूध डेरीमा काम गर्ने भनेर पठाएका थिए । त्यो पनि श्रम स्वीकृतिबिनै । ‘दुबईको भिसा बोकेर काठमाडौंबाटै उडेको हो । त्यहाँ अरू समूह पनि लिबियाको प्रतीक्षामा बसेका रहेछन् । एक महिना बसेपछि मात्रै लिबिया पठाए,’ मनोहरले भने, ‘त्यहाँ जानु गैरकानुनी हो भन्ने दुबई पुगेपछि थाहा पायौं । त्यहींबाट फर्किन खोज्दा पैसा फस्ने डर देखाइयो । उता पुगेपछि झन् भुमरीमा फस्यौं ।’

उनीहरूसँगै गएको अर्को समूहमा भानु ५, तनहुँका २८ वर्षीय पूर्णबहादुर गुरुङ, धरान १३ का २६ वर्षीय राजु विश्वकर्मा, रुपापोखरी लमजुङका २३ वर्षीय अमृत गुरुङ, बाह्रदशी ७ झापाका २६ वर्षीय शेखर खरेल, बेंसीसहर २, लमजुङका ४० वर्षीय गुप्तबहादुर विक, घोराही १० का ३२ वर्षीय भुवन आचार्य, तनहुँका ५२ वर्षीय बुद्धिबहादुर अधिकारी र सैनामैना १०, रूपन्देहीका ३० वर्षीय गणेश थापामगर थिए । उनीहरूलाई त्रिपोलीकै सिदिसैया सहरमा गैंती–बेल्चाको काम लगाइएको थियो । एकआपसमा भेटघाट हुन सकेको थिएन ।

पहिलो समूह फार्म पुग्दा अंगुर टिपिसकिएको थियो । जानेबित्तिकै गोडमेल गर्ने जिम्मेवारी दिइयो । ‘मनले काम गर्न मानेको थिएन, साहुले काम नगर्ने भए ३ हजार डलर दिनुपर्ने सर्त राख्यो,’ शेखरले भने, ‘त्यत्रो पैसा कसरी तिर्नु ?’

सुत्ने कोठा केही थिएन । उडुसै उडुसले भरिएको थोत्रा म्याट थिए । कोठामा पंखा थिएन । पकाउने भाँडा र मरमसला थिएन । सुडानीसँग भएका भाँडा प्रयोग गर्न पाएँ । ‘खेतीभित्र छिरेपछि हामीलाई सिमकार्ड दिइएन, कोहीलाई केही सुनाउनै पाएनौं,’ विष्टले भने, ‘पूरै बन्धकजस्तो भयौं ।’

सरकारविहीन देश उनीहरूले लिबियन सरकारको उपस्थिति कतै देखेनन् । ‘जसले जे गरे पनि हुने, अनेक थरी बन्दुकधारी समूह, सबैले आआफ्नै क्षेत्र कब्जा गरी बसेका,’ विष्टले भने, ‘जताततै लुटपाट र हत्याहिंसा ।’

जतिखेर पनि बम पडकिरहन्थ्यो । गोलाको वर्षा भइरहन्थ्यो । ‘नमाज पढ्ने बेला मात्रै हो गोलीबारुदको आवाज नआउने,’ चौधरीले भने, ‘सुत्ने बेला कानमा एयरफोन कोच्थ्यौं ।’

उनीहरू काम गरिरहेको छेउमै बम खस्थ्यो । ‘भाग्य बलियो रहेछ र बाँच्यौं,’ उनले भने, ‘कुन ठाउँमा कतिखेर कसले हानेको बम खस्छ, थाहै नहुने । कति टाढाबाट कसलाई हानेको केही ठम्याउनै नसकिने ।’

सहरका बैंकहरू बन्द थिए । ‘चार महिनापछि मालिकले तलब दियो, एक हजार डलर आउनुपर्ने, दुई सय डलर मात्रै पायौं,’ उनले भने, ‘एकजना लिबियनको साथ लागेर पैसा पठाउन बैंकमा पुग्यौं तर कालोबजार रहेछ । एक लाख रुपैयाँ पठाउँदा २५/३० हजार कमिसनमै जान्थ्यो ।’

भागेर आईओएमको सेल्टर

उनीहरूलाई पठाउने सबै दलाल सम्पर्कविहीन थिए । मालिक फर्काउन तयार थिएनन् । गणेश थापामगरले इजिप्टस्थित नेपाली दूतावाससँग सम्पर्क बढाए ।

दूतावासका कन्सुलर सुजन बिडारीले लिबियामा रहेका नेपाली शान्ति सेना र आईओएमसँग समन्वय गरिरहे । ‘बाटोमा निस्कनै खतरा थियो, सेना हामी भएको ठाउँमा आउन नसक्ने, हामी सेनाले भनेका ठाउँमा जान नसक्ने स्थिति थियो,’ थापाले भने, ‘त्यसैगरी एक महिना बित्यो ।’

जोखिम लिएर आएमा सेल्टरमा राखेर नेपाल पठाउन आईओएम तयार भयो । दुई समूह एकै ठाउँमा भेट्ने अवस्था पनि थिएन । ‘मालिकलाई थाहा नदिई हामीले ट्याक्सी खोज्यौं, बाटोमा जे पनि हुने अवस्था थियो । हामीसँग लिबियाको भिसाको म्याद सकिइसकेको थियो । प्रहरीले समाते जेल हाल्थ्यो । निकै जोखिम मोलेर आईओएमको ठेगानामा गयौं,’ कोइरालाले भने, ‘धन्न बाटामा कुनै सशस्त्र समूहसँग भेट भएन ।’

उनीहरू जेठ २ गते बिहीबार आईओएमको सेल्टरमा पुग्न सफल भए । सेल्टरमा बस्ने र खाने सुविधा थियो । आईओएमले नै नेपालसम्मको टिकटको व्यवस्था गरिदियो । ‘मालिकले रोक्ने प्रयास गरेको थियो, आईओएमले मानेन, टर्कीसम्म पुर्‍याउन उनीहरूकै मान्छे आए,’ गुरुङले भने, ‘काठमाडौं आइपुगेपछि मात्रै मन चंगा भयो ।’

दलाल कसरी पक्रने ?

यो टोलीलाई लिबियासम्म पुर्‍याउने मुख्य एजेन्ट टंकीसिनवारी ३, मोरङका केशव लम्साल र देवेन्द्र उप्रेती हुन् । उनीहरूलाई चितवनका मंग्रा महतो, खोटाङका राहुल भनिने तीर्थबहादुर विश्वकर्मा, रूपन्देहीका अमरबहादुर बगाले, रुकुमका दीपककिशोर श्रेष्ठ र झापाका शेखरनाथ प्रसाईंले मान्छे उपलब्ध गराएका हुन् ।

दुबई र लिबिया बस्ने अरू एजेन्ट पनि सक्रिय छन् । यो टोलीबाट उनीहरूले झन्डै ७० लाख रुपैयाँ उठाएका थिए । एजेन्टलाई २ लाख ८० हजारदेखि बढीमा ५ लाख १८ हजार रुपैयाँसम्म दिइएको छ । पीडितले एजेन्टविरुद्ध महानगरीय अपराध महाशाखामा उजुरी दिएका छन् ।

अधिकांशले सयकडा ५ रुपैयाँको ब्याजमा ऋण लिएका थिए । ‘आफ्नो देश आइपुगियो, रित्तो हात अब कसरी घर फिर्ने ?’ रौतहटका जयरामले भने, ‘घरमा पुग्नेबित्तिकै साहु आइपुग्छ । घर पनि जाऊँ कि नजाऊँ भइरहेको छ ।’

प्रकाशित : जेष्ठ ११, २०७६ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?