२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

‘छैटौं कान्तिपुर हिसान एडुफेयर–२०१९’ मेलामा आज लाइभ म्युजिक

काठमाडौँ — राजधानीको भृकुटीमण्डलमा जारी ‘छैटौं कान्तिपुर हिसान एडुफेयर–२०१९’ मेलामा शनिबार लाइझ म्युजिक कार्यक्रम आयोजना गरिँदैछ । कार्यत्रममा नेपाल आइडलका अस्मिता अधिकारीलगायत कलाकारको विशेष उपस्थिति रहने आयोजकले जनाएका छन् ।

‘छैटौं कान्तिपुर हिसान एडुफेयर–२०१९’ मेलामा आज लाइभ म्युजिक

विद्यार्थीलाई शैक्षिक जानकारीसँगै एकै ठाउँमा मनोरञ्जनसमेत प्रदान गर्ने ऊद्देश्यले म्युजिक कार्यक्रम राखिएको हो । मेलामा शुत्रबार दोस्रो दिन परामर्श लिने विद्यार्थीको भीड लागेको थियो ।


शुक्रबार ६५ हजारले अवलोकन गरेको आयोजकले जनाएको छ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) र कान्तिपुर पब्लिकेसन्सले शैक्षिक मेलाको आयोजना गरेका हुन् ।

‘उत्कृष्ट शिक्षा नेपालमै’ नारासहित सुरु मेलामा एसईई परीक्षा दिएर बसेका विद्यार्थीको चाप बढी छ । ‘सोचेजस्तै चाहेको विषयबारे जानकारी लिन पाएँ,’ कक्षा ११ पढ्ने तयारीमा रहेका सन्तोष विकले भने, ‘कुन विषय पढ्ने भन्नेबारे अझै टुंगोमा पुगेको छैन । रिजल्ट आउन बाँकी छ ।’

यसैगरी, कक्षा १२ को परीक्षा दिएर बसेकी विधाता शेरचन शैक्षिक मेला लाभदायी भएको बताइन् । ‘ब्याचलर्समा साइन्स कि अर्को फ्याकल्टी पढ्ने भन्ने अन्योल रहेकाले बुझ्न आएकी हुँ,’ उनले भनिन् ।

परामर्श दिनका निम्ति कलेजका सञ्चालक, प्रतिनिधि, स्वयंसेवक विद्यार्थीलाई भ्याइनभ्याइ छ । नोबेल कलेजकी वनस्पतिविद् दीपा मास्केले कलेजहरूको फ्याकल्टी, कार्यक्रम, विषयहरू बुझ्न आउनेहरूको भीड बढेको बताइन् । ‘एकै ठाउँमा धेरै कलेज र धेरै विषयबारे बुझ्न आउने बढी छन्,’ उनले भनिन्, ‘हामी आफ्नै विद्यार्थीलाई स्वयंसेवकका रूपमा खटाएको हुँदा काउन्सेलिङ

सहज छ ।’ ब्याचलर्स तह मात्र पढाइने हेराल्ड कलेज काठमान्डुका भर्ना व्यवस्थापक सवनम खातुनले विद्यार्थीहरूको जिज्ञासा विविधखालको रहेको बताइन् ।

एनआईसी कलेजका संयोजक सञ्जय चौधरीले पहिलो दिनको तुलनामा दोस्रो दिन थामिनसक्नु भीड बढेको बताए । ‘विद्यार्थी चाप बढ्दै गर्दा ठाउँ अलि साँघुरो भएको छ,’ उनले भनिन्, ‘साइन्स पढ्न चाहनेहरू धेरै छन् ।’

त्यसैगरी, लिटिल एन्जेल्स कलेजका इन्चार्ज गोमा श्रेष्ठले कक्षा ११ र १२, ‘ए’ लेभल, ब्याचलर्स पढ्न चाहनेहरूको चाप बढेको बताइन् । काठमान्डु वर्ल्ड स्कुलका संयोजक महेन्द्र थापाले भने, ‘हामी कक्षा ११ र १२ मात्र पढाउने भएकाले ज्यादै भीड छ, साइन्स र म्यानेजमेन्टबारे जान्न चाहने धेरै आएका छन् ।’

हिसानका वरिष्ठ उपाध्यक्ष तथा मेलाका संयोजक युवराज शर्माका अनुसार दोस्रो दिन ६५ हजारले अवलोकन गरेका छन् । ‘दोस्रो दिन पैंसट्ठी हजारभन्दा बढी विद्यार्थी र अभिभावकले अवलोकन गरेका छन्,’ उनले भने, ‘प्लस टु, ब्याचलर्स र मास्टर्सको काउन्सेलिङ लिने बढेका छन् ।’



आकृति कार्की (विद्यार्थी)

एजुकेसन फेयर रमाइलो सँगसँगै जानकारीमूलक पनि रहेछ । कलेजहरूबारेमा धेरै कुरा बुझ्ने मौका पाइने रहेछ । मैले १० वटा भन्दा कलेजका स्टलमा पुगेर जानकारी लिएँ । कुन कलेज कसरी छान्ने भन्नेबारे थाहा पाइयो । मेलामा आएपछि भर्ना अघि कलेज बुझ्न जाने झन्झटबाट मुक्त हुन सकिन्छ । यहाँ एकै ठाउँमा धेरै कलेजबारे अनेक कुरा बुझ्न पाउनु नै मेलाको सकारात्मक पक्ष हो । उच्च शिक्षाका लागि कलेजको खोजीमा रहनुभएका विद्यार्थी साथीहरूले मेलाको अवलोकन गर्नुस् भन्न चाहन्छु ।

ऋषिराम भुसाल, अभिभावक

शैक्षिक मेला फलदायी लाग्यो । अन्तर्राष्ट्रियस्तरको शिक्षा नेपालमै पाउन सकिने रहेछ जस्तो लाग्यो । विदेश जाने चाहना बनाएका विद्यार्थीलाई पनि यस्तो मेलाले आकर्षण गर्न सक्छ । नेपालमै पनि राम्रा शिक्षण संस्था छन् ।

यही पढेर पनि राम्रो गर्न सकिन्छ भन्ने म्यासेज मेलाले दिएको छ । सबैभन्दा महत्त्वपूर्ण कुरा त छरिएर रहेका शिक्षण संस्थाहरूबारे चहारेर बुझै हिँड्न सम्भव हुँदैन । कलेजमै पढिरहेका विद्यार्थीबाट नयाँ विद्यार्थीले धेरै कुरा सोधपुछ गर्न पाउने सुनौलो अवसर हो जस्तो लाग्छ ।

स्वस्तिका खडका, विद्यार्थी

मेलामा विभिन्न कलेजको सूचना लिन सहज रहेछ । कलेजहरूले आफ्नाबारे विभिन्न तरिकाले विज्ञापन पनि गरिरहेका छन् । कलेजको शुल्कदेखि समग्र पक्षको जानकारी लिन सकिँदोरहेछ । एसईई र १२ कक्षा सकेपछि कुन कलेजमा के पढ्ने भन्ने चिन्ता हुन्छ ।

यसरी बुझ्न पाउँदा चाहिँ छनोट गर्न सजिलो पर्छ । के पढ्ने ? त्यो पढ्न कति खर्च लाग्छ ? कलेजको भौतिक पूर्वाधारलगायत अवस्थाको जानकारी लिन एजुकेसन फेयरमा बुझ्न सहज भएको छ ।

कस्मिक सुवेदी, विद्यार्थी

कुन कलेजमा के पढ्ने भनेर भौंतारिरहेका विद्यार्थीका लागि मेला एउटा गन्तव्य हुन सक्छ । कलेजहरूले आफ्ना विषयमा निःशुल्क सूचना दिइरहेका छन् । विविध पक्ष बुझेर मात्र भर्ना हुनका लागि यो मेलालाई अवसरका रूपमा लिन सकिन्छ ।

आफ्नो करिअर बनाउन धेरैमध्ये एउटा कलेज छान्ने मौका पनि रहेछ । कलेजको होस्टललगायत सेवासुविधा कस्तो छ । कति जीपीए ल्यायो भने के विषय पढ्न सकिन्छ भनेर विज्ञ सरहरूबाट परामर्श लिन सकिने रहेछ । छात्रवृत्तिबारे पनि धेरै जानकारी पाउन सकिन्छ ।

‘विद्यार्थीलाई छात्रवृत्ति’



लाेकबहादुर भण्डारी

महासचिव, हिसान


कान्तिपुर हिसान शैक्षिक मेला अहिले कस्तो भइरहेको छ ?

अहिले छैंटौ वर्षको कान्तिपुर हिसान शैक्षिक मेला आयोजना गर्दै छौं । सुरुवाती कालमा यस्तो थिएन । नयाँनयाँ शैक्षिक संस्था खुल्दै थिए । ठूल्ठूला विज्ञापन गर्ने र एक/दुई वर्षमै बन्द हुने गर्थे । धेरै विद्यार्थीले दुःख पाउने स्थिति बनेको थियो ।

हिसानले त्यसो गर्नु हुँदैन भनेर आवाज उठायो तर संगठनलाई मान्ने स्थिति थिएन । हामीले गतिविधिमार्फत एकैथलोमा उभिने बाटो खोज्यौं । हामीले ‘उत्कृष्ट शिक्षा नेपालमै’ भनेर हिसानका सदस्य संस्थालाई सहभागी गरायौं ।

निश्चित मापदण्ड तोकेर सदस्यता दियौं । दीर्घकालीन मापदण्डलाई लिएर कानुन प्रक्रिया मापन गर्‍यौं । कमजोरीहरू औल्यायौं । गलत प्रवृत्ति निस्तेज गर्ने र निजी शैक्षिक संस्थाप्रति आकर्षण बढाउनेतर्फ लाग्यौं । यसरी स्वदेशमा खुलेका शैक्षिक संस्थाप्रति नागरिकको विश्वास जगाउन मेलाको आयोजना गरेका हौं । अहिले आकर्षणको केन्द्रविन्दु बनिरहेको छ ।

मेलाको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीबाटै गराउनुको कारण के हो ?

प्रधानमन्त्रीज्यूबाट मेलाको उद्घाटन गराउनुपर्ने विभिन्न कारण छन् । निजी शैक्षिक संस्थामाथि धेरै खालका धारेहात लगाउने काम भएको छ । नीतिगत तहमा होस् या कसैले आग्रह पूर्वाग्रह राखेर होस् । त्यस्ता काम बारम्बार भइरहेका छन् ।

राज्यले हामीप्रति हेर्ने धारणा के हो ? कसले स्पष्ट पार्ने ? हामी निजी विद्यालय बन्द हुन्छ भनेर सुन्ने र सुनाउने मात्रै गर्छौं । यो कुरा उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदनमा आएको छैन । यदि निजी स्कुल नहुने हो भने हामी दक्ष जनशक्ति उत्पादन गर्न सक्ने थिएनौं ।

औपचारिक शिक्षा र साक्षरताको आँकडा धेरै तल हुने थियो । त्यो कुरा निस्तेज पार्ने काम भएको छ । प्रधानमन्त्रीज्यू आएर निजी लगानीको सुरक्षा, संरक्षणबारे बोल्नुभयो । अब निजी स्कुलहरू, निजी लगानीप्रति राज्यले साँच्चै सहकार्य गर्नुपर्छ भन्नेबारे प्रस्ट पारिदिनुभयो । निजी लगानीमा सञ्चालित शिक्षालयहरूमा सुरक्षित ढंगले अब लगानी गर्छौं भनेर आत्मबल बढेको छ । त्यस निम्ति नीतिगत रूपमा सहयोगको अपेक्षा गरेका छौं ।

प्रधानमन्त्रीले त्यसो भने पनि नीतिगत रूपमा छैन नि ?

प्रधानमन्त्री भनेको राज्य हो । उहाँले बोलेको कुरा व्यक्तिगत होइन । राज्यको कार्यकारी प्रमुखले सोचेर बोलेको कुरा कार्यान्वयनमा आउला । तपाईँहरू शैक्षिक माफिया होइन भनेर देशमै लगानी गर्न आश्वस्त पार्नुभएको छ । नीति तथा कार्यक्रमले पनि प्रस्ट पारेको छ ।

चारदिने मेलामा कस्ता शैक्षिक संस्था सहभागी छन् ?

विगत ६ वर्षको बीचमा थप विकास भएको छ । विगतको शैक्षिक मेलामा प्लस टु मात्र सञ्चालन गर्ने संस्था हुने गर्थ्यौं । अहिले हाम्रो संगठनको नाम परिवर्तन भएको छ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) बनाएका छौं ।

९ देखि १२ कक्षा माध्यमिक तहदेखि विश्वविद्यालय शिक्षासमेत हाम्रै संगठनले हेर्छ । प्लस टु, इन्जिनियरिङ, प्राविधिक शिक्षालगायत ब्याचलर लेभल, मास्टर्स लेभलका शिक्षा हामीसित रहेका छन् ।

अहिले एसईई दिएर बसेका विद्यार्थी, कक्षा ११ र १२ परीक्षा दिएका विद्यार्थीका लागि राम्ररी क्यारियर काउन्सेलिङ होस् भनेर यो मेला आयोजना गरेका हौं । माध्यमिकदेखि

विश्वविद्यालयसम्मका शैक्षिक संस्था सहभागी छन् ।

विद्यार्थीलाई के सुविधा दिनुभएको छ ?

हामी (शैक्षिक संस्थाहरू) ले निजी स्कुलमा पढ्न सकिँदैन भन्ने मान्यतालाई विस्थापित गरेका छौं । नयाँ ढंगले नीति बदलेर प्रत्येक जेहेनदार, पिछडिएका क्षेत्रका विद्यार्थीलाई छात्रवृत्ति दिने गरेका छौं ।

शैक्षिक संस्था, सञ्चालक, प्रिन्सिपल, शिक्षक, फ्याकल्टी, विषय र कार्यक्रमबारे अभिभावकसमेतले बुझ्ने/जान्ने मौका प्राप्त गर्न सकिन्छ । त्यसले उहाँहरूका बच्चाको क्यारियर काउन्सेल हुनेछ । एकै ठाउँमा धेरै शैक्षिक संस्थाबारे जानकारी लिने अवसरका रूपमा शैक्षिक मेलालाई लिन सकिन्छ ।

प्रकाशित : जेष्ठ ११, २०७६ ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?