यसरी पक्राउ परे साढे ७ करोड नक्कली भारुसहित अन्सारी

जनकराज सापकोटा

काठमाडौँ — नक्कली नोटको कारोबारमा कैद भुक्तान गरी छुटेको एक वर्षलगत्तै युनिस अन्सारी उस्तै घटनामा फेरि पक्राउ परेका छन् ।

शुक्रबार कतारको राजधानी दोहाबाट कतार एयरवेजको क्यूआर ६४४ कल साइन विमानमा आएका तीन पाकिस्तानीले सुटकेसमा ल्याएको दुई हजार दरका ७ करोड ६७ लाख ९४ हजार भारतीय रुपैयाँ लिन अन्सारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका बेला पक्राउ परेका हुन् ।

उनीसँगै रौतहट रमौली बैरिया घर भएका उनका साला सुयल खान र गाडीचालक सुदन रानाभाट पनि पक्राउ परेका छन् । प्रहरीले नक्कली भारतीय रुपैयाँ लिएर आएका ४९ वर्षीय मोहम्मद अख्तर, ३९ वर्षीया नादिया अनबर र ६७ वर्षीय नासिर उद्धिनलाई पनि पक्राउ गरेको छ ।

तत्कालीन नेसनल न्युज टेलिभिजनका सञ्चालकसमेत रहेका अन्सारी २०६६ पुस ७ मा थापाथलीस्थित ब्लु स्टार कम्प्लेक्सबाट २५ लाख ४४ हजार ५ सय नक्कली भारतीय रुपैयाँसहित पक्राउ परेका थिए । प्रहरीले त्यतिबेला उनीसँगै रहेका दुई पाकिस्तानी नागरिक सज्जा मोहम्मद खुराम, मोहम्मद इकवाल र सहयोगी काशीराम अधिकारीलाई पक्राउ गरेको थियो ।

त्यतिबेला खोटा चलन मुद्दामा काठमाडौं जिल्ला अदालतको आदेशपछि अन्सारी २०६६ माघ १७ मा सुन्धारास्थित केन्द्रीय कारागार चलान भएका थिए । कारागारमै रहेका बेला २०६७ फागुन २६ मा उनीमाथि गोली प्रहार भएको थियो ।

भारतीय नागरिक मनमित सिंहले हानेको गोलीबाट उनी संयोगले बाँचे तर त्यसपछिका दिनमा पनि नक्कली नोटको कारोबारमा उनको संलग्नता हटेन । झन्डै पाँच वर्ष कैद सजाय भुक्तान गरेर उनी २०७० असोज १८ मा थुनामुक्त भएका थिए ।

कैदमुक्त भएको चार महिनापछि २०७० माघ १० मा उनी उस्तै घटनामा फेरि पक्राउ परेका थिए । प्रहरीको विशेष ब्युरोले उनलाई ललितपुरबाट ३५ लाख नक्कली भारतीय रुपैयाँसहित पक्राउ गरेको थियो ।

अदालती मुद्दाको कारबाहीपछि उनी २०७० चैत १७ गते केन्द्रीय कारागार चलान भएका थिए । त्यहाँ एक रात राखेपछि अर्थात चैत १८ मा सुरक्षाको कारण देखाउँदै उनलाई ललितपुरको नख्खु कारागारमा सारिएको थियो । नख्खु कारागारको अभिलेखअनुसार उनी २०७४ वैशाख २ गते कैद सजाय झुक्तान गरेर छुटेका हुन् ।

जेलमुत्त भएको एक वर्ष बितेकै केही दिनपछि उनी फेरि पुरानै धन्दामा संलग्न भएको अभियोगमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुक्रबार पक्राउ परे । घटनाबारे जानकारी दिन महानगरीय प्रहरी कार्यालयमा भएको पत्रकार सम्मेलनमा डीआईजी शैलेश थापाले अन्सारी र पाकिस्तानीबीच बारम्बार प्रविधिमार्फत संवाद भएको बताए । पक्राउ परेकामाथि थप अनुसन्धान जारी रहेको जानकारी उनले दिए ।

बरामद नक्कली भारतीय रुपैयाँ पाकिस्तानमा छापिएर कतार हुँदै नेपाल आएको हो कि कतारमै छापिएर नेपाल पठाइएको हो भन्नेबारे भने अनुसन्धान भइरहेको छ । विमानस्थलमा कार्यरत एक प्रहरी अधिकारीले नक्कली भारतीय रुपैयाँले मात्रै भरिएको सुटकेस कसरी दोहास्थित अध्यागमनको सुरक्षा जाँच पास भयो भन्ने अचम्मको विषय भएको बताए ।

अनुत्तरित प्रश्न
नक्कली भारतीय नोटको अन्तरदेशीय कारोबारमा तेस्रोपटक पक्राउ पर्दा युनिसको अनुहारमा चिन्ताको भाव थिएन । विमानस्थल प्रहरीका अनुसार पक्राउ परेपछि पनि उनी आत्तिएका देखिएनन् ।

विमानस्थलबाट रानीपोखरीको महानगरीय प्रहरी कार्यालयमा ल्याइँदा पक्राउ परेका सबैको अनुहार छोपिए पनि अन्सारीको अनुहार खुलै थियो । आफ्नो अनुहार ढाक्न नमानेका अन्सारीलाई पत्रकार सम्मेलनमा पनि मास्कबिना नै प्रस्तुतगरिएको थियो ।

एक समय नक्कली भारतीय रुपैयाँको कारोबारको अनुसन्धानमा खटिएका एक पूर्वप्रहरी अधिकारीले शुक्रबारको अन्सारी पक्राउको घटना केही अनौठो देखिएको बताए । ती अधिकारी अन्सारी आफैं नोट लिन विमानस्थल जानु र पक्राउपछि पनि उनको अनुहारमा शान्त भाव देखिनुले केही संकेत गरिरहेको बताउँछन् ।

सुन्धारास्थित केन्द्रीय कारागारभित्रै अन्सारीमाथि गोली प्रहार भएको घटनामा तत्कालीन प्रहरी प्रवक्ता डीआईजी हेमन्त मल्लको संयोजकत्वमा छानबिन कमिटी गठन भएको थियो । उक्त कमिटीले तयार पारेको प्रतिवेदनमा पाकिस्तानी गिरोहका लागि काम गर्दै अन्सारीले भारतीय अर्थतन्त्रलाई ध्वस्त पार्न भूमिका खेलेकाले मनमितलाई गोली हान्न खटाइएको तथ्य उल्लेख छ ।

यो प्रतिवेदनले अन्सारी भारतीय खुफिया एजेन्सीको टार्गेटमा रहेकोतर्फ इंगित गरेको छ ।
भारतीय पक्षबाट आफूमाथि जुनसुकै बेला गोली प्रहार हुनसक्ने भयमा देखिएका अन्सारीले ज्यान जोगाउन पनि पछिल्लो घटना रचेको हुनसक्ने प्रहरीका केही उच्च अधिकारीहरूको आंकलन छ ।

ठूला अपराधको प्रवृत्ति हेर्दा मुख्य नाइके आफैं खटिने हुँदैन । एक उच्च प्रहरी अधिकारीले कान्तिपुरसँग भने, ‘तर, शुक्रबारको घटनामा भने अन्सारी आफैं एयरपोर्ट पुगेको देखिन्छ । अनि पाकिस्तानीहरू विमान अवतरणको धेरैबेरपछि बाहिरिँदा पनि ढुक्कसँग प्रतीक्षा गरिरहेको देखिन्छ । घटनाको यो आयामले केही अनुत्तरित प्रश्नतर्फ संकेत गर्छ । त्यो भनेको के अन्सारी आफूलाई सुरक्षित राख्न आफैंले घटना बनाएका त होइनन् ?’

यसरी पक्राउ परे
विमानस्थल प्रहरी र भन्सार अधिकारीहरूले कालो रङको सुटकेस गुडाउँदै अगाडि बढिरहेका ६७ वर्षीय नासिर उद्धिनलाई विमानस्थलको भन्सार जाँच कक्षमै पक्राउ गरेका थिए ।

लगत्तै उस्तै आकारको नीलो सुटकेस गुडाउँदै निस्कन लागेका नादिया अनबर र मोहम्मद अख्तरलाई पनि पक्राउ गर्‍यो । प्रहरी त्यतिबेला अचम्ममा पर्‍यो, जब उनीहरूको सुटकेस खोलेर हेर्दा भारतीय दुई हजार दरका नोटका बन्डलले भरिएको थियो ।

विमानस्थल प्रहरीका अनुसार नासिरले बोकेको कालो सुटकेसमा ३ करोड ७३ लाख २ हजार भारतीय रुपैयाँ थियो भने मोहम्मद र नादियाले बोकेको नीलो सुटकेसमा ३ करोड ९४ लाख ९२ हजार भारुको बन्डल थियो ।

भन्सार अधिकारीहरूका अनुसार नोटको बन्डल सामान्य फोटोकपी पेपरले बेरिएको थियो भने नोटको गड्डीमाथि बुर्का र केही थान कुर्ता पाइजामा थियो । एउटा सुटकेसमा भने नोटको गड्डीमाथि चिकेन बिर्यानीमा प्रयोग हुने मसला राखिएको थियो । सुटकेस खोल्न खटिएका एक प्रहरीका अनुसार दुवै सुटकेस पूरै पैसाले भरिएको थियो ।

नक्कली नोटसहित पाकिस्तानी पक्राउ परेलगत्तै विमानस्थल प्रहरी प्रमुख एसएसपी सन्दीप भण्डारी, विमानस्थलमै रहेको विशेष ब्युरोको टोलीले ‘कोभर्ट अप्रेसन’ गरेको थियो । प्रहरीले सुटकेसको रकम निकालेर त्यसका कपडा मात्रै राखेर पाकिस्तानीलाई विमानस्थल बाहिर जान दिएको थियो ।

प्रहरीको कडा निगरानीमा सुटकेस गुडाउँदै बाहिरिएका उनीहरूलाई लिन को आउँछ भन्ने प्रहरीको चासो थियो । तीन पाकिस्तानी बाहिरिएको धेरैबेरपछि युनिस अन्सारी, उनका साला सुयल खान र चालक सुदन रानाभाटले उनीहरूलाई भेटे । त्यसलगत्तै प्रहरीले तीनै जनालाई पक्राउ गर्‍यो ।

विमानस्थलको नयाँ पार्किङमा गाडी राखेर युनिस उनीहरूलाई लिन पुगेका थिए । युनिससहित तीन जना पक्राउ परेपछि मात्रै प्रहरीले विमानस्थलको भन्सार कक्षमा नोट गन्ने र मुचुल्का उठाउने काम गरेको थियो । नोटको नम्बरसहितको मुचुल्का उठाउन र दुवै सुटकेसमा रहेको सबै पैसा गन्न मात्रै प्रहरीलाई झन्डै तीन घण्टा लागेको थियो ।

प्रकाशित : जेष्ठ ११, २०७६ ०७:०४
प्रतिक्रिया
पठाउनुहोस्

कूटनीतिक राहदानी खुकुलो बनाउने खेल

राजेश मिश्र

काठमाडौँ — सांसदहरुले राहदानी दुरुपयोग गरेका घटना सार्वजनिक भइरहेका बेला प्रतिनिधिसभा एक्लैले पारित गरी राष्ट्रपतिसमक्ष पठाएको विधेयकमा सरकारले कूटनीतिक राहदानी प्राप्ति र प्रयोगको प्रावधानलाई खुकुलो बनाएको खुलेको छ ।

राष्ट्रपतिले राहदानी विधेयक फिर्ता गरिदिएपछि उक्त खुकुलोपन कायम रहने/नरहने प्रावधानबारे फेरि एकपटक निर्णय गर्नुपर्ने भएको छ ।

राष्ट्रिय सभाबाट पनि पारित भएपछि मात्रै पठाउनुपर्ने नियम मिच्दै प्रतिनिधिसभा एक्लैले पारित गरी राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि विधेयक पठाइएको थियो । राष्ट्रपतिले प्रमाणीकरण नगरी फिर्ता गर्नुका कारणमा कूटनीतिक राहदानीसँग सम्बन्धित विधेयकको प्रावधान पनि रहेको स्रोतले बताएको छ ।

सांसदहरूबाटै कूटनीतिक राहदानीको दुरुपयोग भएका घटना सार्वजनिक भइसकेका छन् । त्यसलाई निरुत्साहित गर्न सरकारले कूटनीतिक राहदानीको वितरण र प्रयोगमा नियन्त्रित प्रावधानसहितको विधेयक ल्याएको थियो ।

तर, प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले त्यसलाई संशोधन गरी लचिलो बनाएको थियो, जसलाई राष्ट्रिय सभाको विधायन समितिले पनि चलाएन । सरकारीबाहेकका काममा मन्त्री, सांसद र पदाधिकारीहरूले विदेश भ्रमणमा जाँदा पनि कूटनीतिक राहदानी पाउन सक्ने र त्यसको प्रयोग गर्न सक्ने व्यवस्था संशोधनमार्फत विधेयकमा गरिएको छ ।

स्रोतले भन्यो– प्रमाणीकरणका लागि आफूसमक्ष आएको उक्त विधेयकको त्यस्तो प्रावधानउपर राष्ट्रपतिले चासो राखेकी थिइन् । प्रतिनिधिसभाले गरेको संशोधनउपर प्रधानमन्त्रीको पनि ध्यानाकर्षण भएको स्रोतले जनाएको छ ।

‘विधेयक फिर्ता हुनुमा राष्ट्रिय सभाबाट विधेयक पारित भएर नआउनु एउटा महत्त्वपूर्ण कारण हो नै,’ स्रोतले भन्यो, ‘कूटनीतिक राहदानी प्रयोगका सन्दर्भमा गरिएको संशोधन पनि अर्को कारण हो ।’ सरकारले ल्याएको विधेयकको दफा ६ मा कूटनीतिक राहदानीसम्बन्धी व्यवस्था छ । त्यहाँ भनिएको छ, ‘सरकारी कामको सिलसिलामा विदेश भ्रमणमा जाने तोकिएबमोजिमका पदाधिकारीलाई सम्बन्धित मन्त्रालय, संवैधानिक निकाय वा सचिवालयबाट मनोनयन भई निर्णयसहित लेखी आएमा विभागले कूटनीतिक राहदानी जारी गर्नेछ ।’

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय समितिले त्यस दफालाई संशोधन गरेर ‘सरकारी कामको सिलसिलामा’ भन्ने शब्दहरूको स्थानमा ‘सरकारी कामका सिलसिलामा वा विशेष कामका लागि’ भन्ने शब्द राखेको छ । त्यस्तै, सोही दफामा रहेको मनोनयन भई निर्णयसहित लेखी आएमा भन्ने शब्दहरूको सट्टा ‘निर्णय वा सिफारिस भई आएमा’ भन्ने शब्दहरू राखेको छ ।

त्यस्तै, सरकारका तर्फबाट प्रस्तावित विधेयकको दफा १६ (१) मा रहेको कूटनीतिक राहदानी प्रयोगसम्बन्धी दफालाई पनि संशोधन गरिएको छ । विधेयकमा उल्लेख थियो, ‘नेपाल सरकारको निर्णयबमोजि कूटनीतिक वा विशेष राहदानीप्राप्त पदाधिकारीले सरकारी कामको सिलसिलामा विदेश भ्रमण गर्दा मात्र त्यस्तो राहदानी प्रयोग गर्नुपर्नेछ ।’

समितिले त्यसलाई संशोधन गरेर एक लाइनमा लेख्यो, ‘कूटनीतिक तथा विशेष राहदानीसम्बन्धी व्यवस्था तोकिएबमोजिम हुनेछ ।’ ऐनमै प्रस्ट पारिएको विषयलाई समितिले पछि नियम वा निर्देशिकामा उक्त विषय लेख्ने व्यवस्था रहने गरी संशोधन गर्‍यो ।

प्रतिनिधिसभाले गरेका ती संशोधनले सरकारी कामबाहेक प्रयोजनमा पनि कूटनीतिक राहदानीको सहजै प्रयोगको बाटो खुलाउन खोजिएको देखिन्छ । समिति सभापति चयन नहुँदै वरिष्ठ सदस्यका नाताले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालकै सभापतित्वमा बसेको समितिको बैठकले उक्त विधेयकका धेरै विषय टुंग्याएको थियो । समिति सभापति पवित्रा निरौला खरेलले आफू सभापति हुनुअगावै धेरै छलफल भएर उक्त विषय टुंगिएको बताइन् ।

समिति सदस्य भीम रावलको नेतृत्वमा गठित उपसिमितले त्यसमा काम गरेको थियो । उपसमितिमा सदस्य दीपकप्रकाश भट्टले ‘विशेष काम’ भनेको राज्यले दिने विशेष जिम्मेवारी बुझ्नुपर्ने बताए । ‘राज्यले कसैलाई कुनै विशेष मिसनका लागि कहीँकतै पठाउँदा कूटनीतिक राहदानी दिइनुपर्छ भन्ने हो,’ उनले भने, ‘विधेयकमा जेनरलाइज गरेर आएका कतिपय विषयलाई ‘स्पेसिफिक’ गरेर सुधार गरिएको हो । राम्रै स्प्रिटले बनाउन खोजिएको हो ।’
एक जना सांसद सरकारी काममा विदेश जाँदा सांसद रहने र निजी काममा जाँदा उसको पद नहुने जस्ता विषयमा पनि समितिमा गहिरो गरी छलफल भएको थियो । सांसदहरूले पदमा रहेका बेला निजी कामका लागि बाहिर जाँदा पनि उसको पदीय परिचय रहने भएकाले कूटनीतिक राहदानी प्रयोगमा रोक लगाउन नहुने तर्क गरेका थिए, जसको फलस्वरूप कूटनीतिक राहदानीको प्रयोग सरकारी काममा मात्रै हुनुपर्नेऐनमै गर्न खोजिएको व्यवस्था हटाइयो र भनियो, ‘तोकिएबमोजिम हुनेछ ।’

‘सरकारी काममा होइन, छोरीको ग्र्याजुएसन कार्यक्रममा विदेश जान लागेका एक जना सांसदको परिचय के हुने ? ऊ सांसद हुने कि नहुने ?, यस्ता विषयमा व्यापक छलफल भएको हो,’ सांसद भट्टले भने, ‘जुन काममा गए पनि सांसद पद र त्यस पदको प्रतिष्ठा त सँगै जाने हो । राज्यले सांसदलाई विश्वास गर्ने कि नगर्ने ?’

एक जना सांसदले चाहेको खण्डमा आवश्यकताअनुसार कूटनीतिक राहदानी प्रयोगको विकल्प पनि दिइनुपर्ने आशयले विधेयकमा केही संशोधन गरिएको उनले उल्लेख गरे ।

प्रकाशित : जेष्ठ ११, २०७६ ०७:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्