१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

व्यक्तिगत काममा जाँदा मन्त्रीलाई सरकारी इन्धन नदिन निर्देशन

लालप्रसाद शर्मा

पोखरा — गण्डकी प्रदेशसभा सार्वजनिक लेखा समितिले ऐनले व्यवस्था गरेभन्दा बढी इन्धन प्रयोग नगर्न प्रदेश सरकारलाई निर्देशन दिएको छ । मन्त्रीहरुले इन्धनमा दोहोरो सुविधा लिएको विषयमा छानबिन गरेको समितिले शुक्रबार यस्तो निर्देशन दिएको हो ।

व्यक्तिगत काममा जाँदा मन्त्रीलाई सरकारी इन्धन नदिन निर्देशन

ऐनअनुसार मुख्यमन्त्रीले मासिक २ सय ५० लिटर र मन्त्रीहरुले मासिक एक सय ५० लिटर इन्धन सुविधा छ । तर, मन्त्रीहरुले सुविधाबाहेक मन्त्रालयबाट थप इन्धन लिएको सार्वजनिक भएपछि लेखा समितिले गत माघ १४ मा सबै मन्त्रालयको विवरण मागेको थियो । यस विषयमा समितिले थप छानबिन गर्न चैत १२ मा समिति सदस्य रामजीप्रसाद बरालको संयोजकत्वमा मेखलाल श्रेष्ठ र प्रभा कोइराला सदस्य रहेको उपसमिति गठन गरेको थियो । उपसमितिको प्रतिवेदनमा मन्त्रीहरुले कार्यकर्ता भेट्न जाँदादेखि भोजभतेर, व्यक्तिगत काम र निर्वाचन क्षेत्र केन्द्रित प्रयोजनको कार्य र बढी आफ्नै निर्वाचन क्षेत्रमा जाँदा सरकारी ईन्धन प्रयोग गरिएको उल्लेख गरिएको छ । इन्धन एकद्वार प्रणालीबाट गरिनुपर्ने, लगबुकलाई अनिवार्य भर्नैपर्ने, कानुनसम्मत बाहेक ईन्धन खर्च गर्न नपाइने प्रतिवेदनमा छ । उपसमितिका संयोजक बरालले नमिलेको प्रक्रिया सुधार्न निर्देशन दिएको बताए ।


समितिका अनुसार मुख्यमन्त्रीबाहेक प्रदेशका ५ मन्त्रीले चालु आवमा ऐनमा तोकिएबाहेक साढे ५ हजार लिटर इन्धन बढी प्रयोग गरेका छन् । लेखा समिति सभापति कुमार खड्काले व्यक्तिगत काममा जाँदा सरकारी इन्धन प्रयोग नगर्न निर्देशन दिइएको बताए । 'मन्त्रीहरुले ऐनले तोकेबाहेक सम्बन्धित मन्त्रालयबाट पनि इन्धन लिएको पाइयो' उनले भने, 'मन्त्रीहरु व्यक्तिगत काममा जाँदा पनि भ्रमण आदेश स्वीकृत गर्ने देखिएकाले त्यसो नगर्न भनेका छौं ।'


खड्काले मुख्यमन्त्रीलाई पनि मन्त्रीहरुको भ्रमण आदेश स्वीकृत गर्दा सम्बन्धित मन्त्रालय/विभागको काम भए/नभएको हेर्न सुझाव दिएको बताए । सरकारीबाहेकका कार्यक्रममा जाँदा मन्त्रीहरुले सम्बन्धित आयोजकबाटै इन्धन सुविधा लिन समितिले निर्देशन दिएको छ । साथै लगबुक व्यवस्थित गर्न, खर्चमा एकरुपता कायम गर्न आर्थिक मापदण्ड बनाउन, एकद्वार प्रणाली अपनाउन र ऐनको व्याख्यात्मक टिप्पणी फेर्न समितिले सुझाव दिएको छ ।

प्रकाशित : जेष्ठ १०, २०७६ १८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?