मेलम्चीकाे ठेक्का स्थानीयलाई दिने मन्त्रिपरिषद् निर्णय

दीपेन्द्र विष्ट

काठमाडौँ — सरकारले मेलम्ची खानेपानी आयोजनाको बाँकी काम स्थानीय ठेकेदारलाई जिम्मा दिने निर्णय गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले ६ महिना ठप्प रहेको कामलाई स्थानीय ठेकेदार परिचालन गरेर ‘फास्ट ट्र्याक’ मा अघि बढाउने निर्णय गरेको हो । 


सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले हेडवर्क तथा सुरुङ निर्माण कार्यमा विशेष परिस्थिति सिर्जना भएको जनाउँदै कानुनी प्रक्रिया पुर्‍याएर बाँकी काम सम्पन्न गर्ने निर्णय भएको बताए । ‘मेलम्चीबारे सरकारमाथि नागरिक स्तरबाट प्रश्न उठिरहेको छ, सरकार पनि अत्यन्तै चिन्तित छ,’ उनले भने, ‘सीएमसी काम छाडेर हिँड्यो, केही स्थानीय समस्या पनि सिर्जना भएका छन्, नयाँ परिस्थिति कसरी सुल्झाएर जाने भन्ने हिसाबले सम्बन्धित आयोजनालाई काम गर्न भनेका छौं ।’

प्रक्रिया पुर्‍याएर चाँडो काम गर्न सरोकारवाला निकायलाई निर्देशन दिइसकिएको पनि उनले जानकारी दिए । खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले आयोजनालाई विभिन्न प्याकेजमा विभाजन गरेर द्रूत प्रक्रियाबाट अघि बढाइने जानकारी दिए । ‘मन्त्रिपरिषद् निर्णयले बाटो खोल्यो, कानुनी प्रक्रिया पुर्‍याएर काम सुरु गर्छौं,’ कान्तिपुरसँग उनले भने ।

आयोजनाले बाँकी कामलाई मुख्य दुइटा प्याकेजमा विभाजन गरेको छ । त्यसभित्र स–साना गरी १० वटा प्याकेजमा विभाजन गरिएको छ । आयोजनाका अनुसार पहिलो प्याकेजभित्र हेड वर्क्सअन्तर्गतको ड्याम निर्माण, पुल निर्माणलगायत छन् भने दोस्रो प्याकेजमा सुरुङभित्रको फिनिसिङ, गेट, भेन्टिलेटरलगायतका निर्माण कार्य छन् । विभिन्न प्याकेजमा काम गर्दा करिब १ वर्षभित्र पानी उपत्यकामा ल्याउन सकिनेसचिव शर्माले बताए ।

बाँकी काम सम्पन्न गर्न करिब २ अर्ब ५२ करोड रुपैयाँ लाग्ने आयोजनाको अनुमान छ । गत पुसमा इटालियन ठेकेदार कम्पनी सीएमसीले आफू आर्थिक रूपमा ‘टाट पल्टेको’ घोषणा गर्दै काम छाडेपछि बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको काम ठप्प छ ।

मेलम्चीमा खनिसकिएको साढे २७ किमि सुरुङमध्ये २ किमिमा फाइनल फिनिसिङ (पिच गर्ने), तिनमध्ये २ वटा भेन्टिलेसन सफ्ट निर्माण, हाइड्रो मेकानिकल जडान, सुन्दरीजल सप्लाई पाइप जडान, इन्ट्युमेन्टेसन जडान, पानी प्रशोधन केन्द्रको निर्माण र मेलम्चीको पानी सुरुङमा लग्न बाँध (इन्टेक) निर्माण गर्न बाँकी छ । सीएमसीले निर्माणमा संलग्न नेपाली कामदारलाई तलबभत्ता र सञ्चय कोषबापत् १ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको जानकारी आयोजनाका कर्मचारीले दिएका छन् ।

याङग्री र लार्केको काम हुने
खानेपानी तथा सरसफाइ मन्त्रालयले मेलम्चीको सुरुङसँगै याङग्री र लार्केको काम अघि बढाउने भएको छ । परामर्शदाता कम्पनी इप्टिसाले याङग्री र लार्केको आयोजना विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) मेलम्ची खानेपानी आयोजनालाई बुझाएको सचिव शर्माले बताए ।

‘अब टेन्डरलगायतका प्रक्रिया अघि बढाउँछौं,’ उनले भने । सिन्धुपाल्चोकको याङग्री र लार्के खोलाबाट ३४ करोड लिटर पानी उपत्यकामा ल्याउने लक्ष्य आयोजनाको छ । मेलम्चीदेखि लार्केबीच निर्माण गर्नुपर्ने सुरुङको लम्बाइ ११ किमि छ । मेलम्चीको अम्बाथान (हेडवर्क्स) बाट २ किलोमिटर पर लार्के खोला छ ।

लार्केबाट याङग्रीको मुहानसम्म २ किलोमिटर सुरुङ बनाएर ल्याइने पानी सिधै मेलम्चीको हेड वर्क्स अम्बाथानमा मिसाइन्छ । तीनवटै खोला मेलम्ची, याङग्री र लार्केबाट गरी दैनिक ५१ करोड लिटर पानी अम्बाथानदेखि २६ किलोमिटर टाढाको सुन्दरीजलमा सुरुङबाट ल्याइनेछ ।

साढे ८ करोड लिटर पानी प्रशोधन गर्न सक्ने केन्द्रको निर्माण सम्पन्न भइसकेको र अर्को प्रशोधन केन्द्र पनि निर्माण भइरहेको मन्त्रालयले जनाएको छ । काठमाडौं उपत्यकामा दैनिक ३८ करोड लिटर पानी आवश्यक भए पनि १२ करोड लिटर मात्र आपूर्ति हुँदै आएको छ । बर्खामा भने उपत्यकामा १७ करोड लिटर पानी आपूर्ति हुन्छ ।

याङग्री र लार्के खोलासम्म पुग्ने सडक विस्तार तथा स्तरोन्नतिको काम सुरु भइसकेको छ । एसियाली विकास बैंक (एडीबी) ले मेलम्चीको दोस्रो आयोजनामा लगानी गर्नेछ ।

प्रकाशित : जेष्ठ १०, २०७६ ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्

खादा प्रयोग रोकप्रति असन्तुष्टि

कान्तिपुर संवाददाता

ललितपुर — साताअघि आश्राङस्थित विद्याधीश्वर माविको नवनिर्मित भवन उद्घाटन समारोहमा अतिथिको निमन्त्रणा स्विकारेर आएका सांसदलाई खाली हातले स्वागत गरियो । सांसदहरूले पहिला जस्तो खादा, दोसल्ला वा गम्साले सम्मान पाएनन् ।

अब वाग्मती गाउँपालिकाको कुनै पनि कार्यक्रममा सांसद मात्र नभई प्रधानमन्त्री वा सरकारका उच्च पदस्थका व्यक्तिलाई खाली हातले सम्मान गरेमा आश्चर्य मान्नुपर्दैन । किनकि गाउँपालिकाले खादा, ब्याजलगायत तामझाम देखिने सबै सामग्री प्रयोगमा बन्देजगर्ने निर्णय गरेको छ ।

गाउँपालिकाको निर्णयको चौतर्फी विरोध हुन थालेको छ । स्थानीय शिक्षक डम्बरबहादुर स्याङ्तानले बौद्ध धर्मको आस्थामा प्रयोग हुने वस्तु निषेध गर्न नमिल्ने बताए ।

खादा निषेध गर्ने निर्णयप्रति ग्याबा तामाङ उत्थान संघले ध्यानाकर्षण भएको जनाएको छ । संघका अध्यक्ष बाबुराम ग्याबा तामाङ र महासचिव तारा ग्याबा तामाङले विज्ञप्तिमार्फत खादा प्रयोग रोकेकोमा विरोध गरेका हुन् । वाग्मती गाउँपालिका ७ गिम्दीका वडाध्यक्ष नवराज सञ्जेलले पनि पर्याप्त छलफल नै नगरी निर्णय गरेकोप्रति आपत्ति जनाएका छन् । गिम्दीमा हालै सम्पन्न शौचालय हस्तान्तरण कार्यक्रममा उनले खादाको प्रयोग गरे ।

वाग्मती गाउँपालिका–२ माल्टामा हालै सम्पन्न भेलामा पनि खादाको प्रयोग गरियो । वाग्मती गाउँपालिका–७ गिम्दी वडाध्यक्ष सञ्जेलले जातजातिको आस्थासँग खेलवाड गरेको आरोप लगाए । ‘निर्णय नसच्याएसम्म विरोध जारी नै रहन्छ,’ उनले भने, ‘खादामा हुने अष्टमंगलका चिह्न बौद्ध, हिन्दु र जैन सबैको साझा हो ।’ वाग्मती गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले पर्याप्त छलफल गरी सबैको सहमतिमै निर्णय गरेको दाबी गरे ।

‘यो निर्णय पछाडि कुनै जातजाति, धर्म संस्कृति र भाषभाषीको भावनामा ठेस पुर्‍याउने उद्देश्यले गरिएको होइन,’ उनले भने, ‘गाउँपालिका र वडा कार्यालयले आयोजना गरिने कार्यक्रममा मात्र मितव्ययी प्रभावकारी र समय प्रभावित हुने देखेर यस्तो निर्णय गरेका हौं ।’ उनले अन्य संघसंस्थाद्वारा आयोजित कार्यक्रममा प्रयोग गर्न सकिने बताए । ‘निर्णयउपर गलत टिप्पणी भयो,’ उनले भने, ‘अरूको पछाडि नलागीकन गाउँपालिकाको कार्यसम्पदनमा सहयोग पुर्‍याइदिनुहुन सबैलाई अनुरोध छ ।’

प्रकाशित : जेष्ठ १०, २०७६ ०७:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्