कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

पाँचथर हत्याकाण्ड : आशिका मानेकी भए...

अर्जुन राजवंशी

आरुबोटे, पाँचथर — बुद्धिमाया गत महिना माइतीघर आरुबोटे पुगेकी थिइन् । माइत जानुको उद्देश्य भेटघाट मात्र थिएन, छोरीहरूलाई दमक घर ल्याउनु पनि थियो । उनका तीन छोरी सीता, आशिका र बिना मावलीघर बसेर पढदै थिए ।

पाँचथर हत्याकाण्ड : आशिका मानेकी भए...

नयाँ शैक्षिक वर्ष सुरु भएको मौकामा उनले माइली आशिका र कान्छी बिनालाई दमक झार्न खोजेकी थिइन् । आशिकाले ‘बाजेबोजुलाई सघाउँछु, यतै पढ्छु’ भनेर जिद्दी गरिन् । आशिका नमानेपछि बुद्धिमाया कान्छी छोरी बिना लिएर वैशाख १८ मा घर झरिन् ।


मंगलबार बिहान माइती गाउँबाट आएको फोनमा जे खबर सुनिन्, बुद्धिमाया हल न चल भइन् । सोमबार राति बुबाआमाको मात्र होइन, आफ्नै छोरी आशिकाको पनि हत्या भएको थियो । जेठी छोरी सीताले भने भागेर ज्यान बचाएकी छन् । माइली दिदी–भिनाजुको परिवार पनि सखाप भएको थियो ।


बुद्धिमाया मंगलबार दिउँसो माइती आइपुगेकी छन् । ‘वैशाखमा मैले भनेको आशिकाले मानेकी भए...,’ उनी थकथकाइन् । आशिका कक्षा ७ मा पढथिन् । उनी कक्षा ६ को वार्षिक परीक्षामा तेस्रो भएकी थिइन् । पतिसँग सम्बन्ध विच्छेद गरेर बुद्धिमायाले दोस्रो बिहे गरेकी थिइन् । उनका छोरीहरू आरुबोटेमा बस्दै आएका थिए ।


मनिटर थिइन् युहाना

सोमबार रातिको घटनाले युहाना सेर्माका साथीहरू स्तब्ध छन् । युहाना आरुबोटे माध्यमिक विद्यालयमा ९ कक्षाको ‘मनिटर’ थिइन् । ‘युहाना जान्ने विद्यार्थी थिई, नजानेको कुरा सोध्दा हामीलाई सिकाइदिन्थी,’ साथी पवित्रा तामाङले सम्झिन् ।


त्यस घटनामा युहाना, उनकी बहिनी मुना, बुबा धनराज र आमा जस्मिताको घरभित्रै हत्या भएको थियो । मुना पनि त्यही विद्यालयमा कक्षा ४ मा पढ्थिन् । उनी कक्षामा दोस्रो हुन्थिन् । शिक्षकले उनलाई पनि मनिटर बनाएका थिए । धनराजका दाजु मासिमप्रसादकी एक्ली छोरी इक्साले पनि त्यही घरमा ज्यान गुमाइन् । उनी आरुबोटेकै एजुकेसनल बोर्डिङ स्कुलमा कक्षा १ मा पढ्थिन् । सीता र आशिका खजुम पनि आरुबोटे माविमै पढ्थे ।


विद्यालय नजिकैको घरमा घटना देखेका आसपासका बालबालिका तीन दिनदेखि विद्यालय गएका छैनन् । विद्यार्थी नआएपछि पठनपाठन बन्द छ । ‘स्कुल खोलिरहेका छौं । कोही विद्यार्थी आउँदैनन्,’ प्रधानाध्यापक भवेन्द्रकुमार राईले भने ।

प्रकाशित : जेष्ठ १०, २०७६ ०७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?