कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

बीआरआईबारे अमेरिकी टिप्पणी भ्रमपूर्ण : चीन

काठमाडौँ — बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बीआरआई) मार्फत लगानी भित्र्याउने मुलुक ऋणको दुश्चक्रमा फस्ने भन्ने अमेरिकी टिप्पणीलाई चीनले ‘भ्रमपूर्ण’ भनेको छ । उसले अमेरिकाको यो टिप्पणी नपत्याउन आग्रहसमेत गरेको छ ।

बीआरआईबारे अमेरिकी टिप्पणी भ्रमपूर्ण : चीन

‘चीनको लगानीले कुनै पनि मुलुक ऋणको दुश्चक्रमा परेको प्रमाण छैन,’ नेपालका लागि चिनियाँ राजदूत होऊ यान्छीले भनिन्, ‘त्यसैले चीनको लगानीका सम्बन्धमा अमेरिकी धारणा भ्रमपूर्ण छ ।’ काठमाडौंस्थित अमेरिकी दूतावासका अधिकारीहरूले चीनको लगानी नेपालको पनि हितमा हुनुपर्ने सर्तमा मात्रै आउनुपर्ने भन्दै श्रीलंकालगायत मुलुकमा ‘बीआरआई’ ले निम्त्याएको ऋणको शृंखला दोहोरिन सक्ने चेतावनी दिँदै आएका छन् ।


चीनले पहिलोपटक यसलाई ‘झूटो दाबी’ भनी खण्डन गर्न बालुवाटारस्थित दूतावास कार्यालयमा बिहीबार प्रेस सम्मेलन आयोजना गरेको हो । ‘ऋणको दुश्चक्रमा अल्पविकसित देशहरू पहिलेदेखि नै थिए, बरु बीआरआईमा सहभागी भएपछि तिनीहरू विकासै नहुने दुश्चक्रबाट बाहिर आएका छन्,’ यान्छीले भनिन् ।


‘बीआरआईमा संलग्न राष्ट्र र चीन बराबरीका साझेदार हुन्, यसमा हामी कुनै पनि थप राजनीतिक सर्त थप्ने वा भूराजनीतिक रणनीति अवलम्बन गर्ने काम गर्दैनौं,’ उनले भनिन् ।


बीआरआईको दोस्रो सम्मेलनमा नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीलगायत ३८ देशको सहभागिता भएको र त्यहाँ भण्डारीले दिएको भाषण दुई देशको सम्बन्धमा महत्त्वपूर्ण साबित भएको पनि राजदूतले बताइन् । नेपाल र चीनबीच हिमाल वारपार हुने गरी बहुआयामिक पारवहन सञ्जालबारे बेइजिङमा सम्झौता भएको र त्यसअन्तर्गतै नेपालमा चिनियाँ रेल ल्याउने योजना पनि अघि बढेको उनले बताइन् ।


‘तर रेलमार्ग निर्माण गर्ने प्रक्रिया सजिलो र छिटो भने छैन,’ राजदूत यान्छीले भनिन्, ‘अहिले हामी कुनै पनि योजनाको पहिलो चरण प्रि(फिजिबिलिटी स्टडी सकेर बसेको अवस्था छ, यसको फिजिबिलिटी स्टडीमै अर्बौं रुपैयाँ लाग्छ, त्यसपछि बनाउन सकिने/नसकिने टुंगो लाग्छ र पनि चीन सकेसम्म काठमाडौंमा रेल ल्याउने पक्षमा छ ।’


‘फस्ट सर्वे एन्ड डिजाइन’ नामको एक चिनियाँ कम्पनीले गत वर्ष केरुङ–काठमाडौं रेलमार्गको प्रिफिजिबिलिटी स्टडी गरेको थियो । केही अघि सार्वजनिक भएको प्रतिवेदनमा तिब्बतको उचाइबाट काठमाडौं उपत्यकाको गहिराइसम्म रेल ल्याउनु निकै दुष्कर र चुनौतीपूर्ण भएको उल्लेख छ ।


तातोपानी नाका साताभित्रै खुल्ने

भुइँचालो गएपछि बन्द चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी अन्ततः खुल्ने भएको छ । असुरक्षाका कारण देखाएर भूकम्पलगत्तै नाकालाई बन्द गरेको चीन सरकार चार वर्षपछि खोल्न तयार भएको हो । चिनियाँ दूतावासका अनुसार पूर्ण मर्मतसम्भार पूरा भएकाले नाका खुलाउन लागिएको हो । ‘ढिलोमा अर्को साता नाका खुलिसक्छ,’ राजदूत यान्छी भन्छिन्, ‘यो नाका नेपाल र चीनलाई जोड्ने महत्त्वपूर्ण सेतु भएकाले सक्दो छिटो सुचारु गर्न लागिएको हो ।’


नेपाल सरकारले धेरै पटक आग्रह गरे पनि भूकम्पका कारण जोखिम कायमै रहेको भन्दै चीनले नाका खोल्न आनाकानी गर्दै आएको थियो । ‘भूकम्पले नेपालमा जस्तै हाम्रातिर पनि गम्भीर क्षति पुर्‍याएकाले यसअघि त्यसलाई चल्तीमा ल्याउने प्रयास सफल हुन सकेको थिएन,’ राजदूत यान्छीले भनिन्, ‘अहिले पनि पूर्ण रूपमा जोखिम हटिसकेको त छैन तर अधिकांश क्षतिको पुनर्निर्माण भइसकेकाले जसरी पनि नाका सञ्चालन गर्न हामी तयार भएका हौं ।’ चिनियाँ दूतावासका अनुसार नाका खुले पनि पहिलेजस्तो मानिस र मालगाडी दुवैको आवतजावत भने हुनेछैन ।

प्रकाशित : जेष्ठ १०, २०७६ ०७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?