पत्ता लाग्दैनन् गम्भीर अपराधका दोषी

प्रकाश बराल

बागलुङ — काठेखोला–६ की रूपा गौतमको हत्या भएको पाँच वर्ष भइसक्यो । तर, प्रहरीले हत्यामा संलग्न भएकाको अझै पहिचानसम्म गर्न सकेको छैन । अझ अधिकारकर्मी, स्थानीय र मृतकका आफन्तले पटक–पटक प्रहरीमा धाए पनि सुनुवाइ भएको छैन । घटनापछि भने जिल्लामा ६ जना प्रमुख फेरिइसकेका छन् । सबैले ‘घटनाको नजिक पुगेको’ मात्र भन्ने गरेका छन् । मृतकका दुई सन्तान र श्रीमान् छन् । 

त्यस्तै, गत साउनमा ढोरपाटन–१ का २० वर्षीय संगीन जीसीको काठमाडौंस्थित स्वयम्भूमा हत्या भएको थियो । शरीर काटिएको अवस्थामा भेटिएका जीसीको हत्यामा संलग्नको खोजी गर्नुको साटो लडेर मृत्यु भएको भन्दै प्रहरी उम्कन खोजेको परिवारको गुनासो छ । हरेक वर्ष भएका कतिपय हत्याका घटनामा प्रहरीले अनुसन्धानको क्रममा रहेको भन्दै पत्ता लगाउन नसकेको पीडित बताउँछन् । तत्काल पक्राउ वा किटानी जाहेरी परेका घटनामा मात्र प्रहरीले पक्रेर अनुसन्धान गरेको र रहस्यमय घटनामा अनुसन्धान नगरेको अधिकारकर्मीहरू बताउँछन् ।

प्रहरी प्रमुख आएका बेला, मानव अधिकारसँग सम्बन्धित अभियानी र मन्त्री तहको उपस्थितिमा यी दुई घटनाबारे उठान गरिए पनि हत्यामा संलग्न भएकाको सम्बन्धमा प्रहरीले केही नबोलेको इन्सेक प्रतिनिधि सिर्जना पन्तले बताइन् । प्रहरीले भने अनुसन्धान भइरहेको दाबी गर्दै आएको छ । ‘अनुसन्धान नजिक पुगेको छ, हत्यामा संलग्न व्यक्ति विदेशमा भएकाले सार्वजनिक गर्न सकिएन,’ प्रहरी उपरीक्षक दीपक रेग्मीले भने, ‘प्रहरीलाई आन्तरिक रूपमा सर्कुलर गरेर विदेशसम्म पनि जानकारी पुगेको छ ।’ जिल्ला प्रहरी बागलुङको प्रमुख भएर डेढ वर्ष बसेका रेग्मी हाल अपराध अनुसन्धान महाशाखामा छन् ।

बागलुङमै २५ वर्षअघि भएको प्रहरी अधिकृत हत्याकाण्ड पनि अहिलेसम्म रहस्यमै छ । जैमिनीमा लागेको माघेसंक्रान्ति मेलामा प्रहरी निरीक्षकको हत्या भएको थियो । उक्त घटनामा प्रहरी र प्रशासनले स्थानीयलाई जबर्जस्ती कुट्ने, मुद्दा लगाउने गरेको जानकार बताउँछन् । तर, वास्तविक हत्यारा पत्ता लगाउन सकेको थिएन । उक्त घटनापछि जैमिनीस्थित कालीगण्डकी किनारमा लाग्ने माघेसंक्रान्ति मेला हुनै छाडेको छ ।

हाल स्थानीयले कुश्मीसेरा बजारमा मेला भर्न जान्छन् । कतिपय घटनामा प्रहरीले कुनै स्वार्थ समूह र कसैको प्रयोग भएर अनुसन्धान कमजोर बनाउने गरेको अधिकारकर्मी शकुन्तला शर्माले बताइन् । ‘जघन्य प्रकारको अपराध प्रमाणित हुँदा ठूलो सजाय हुने भएकाले अपराधीले धेरै प्रमाण नष्ट गरेकाले पत्ता लगाउन नसकिएको समेत पाइन्छ,’ उनले भनिन्, ‘राजनीतिक नेतृत्वबाट पनि उनीहरू संरक्षित हुँदा अनुसन्धान फितलो हुने गर्छ ।’ हरेक बहानामा संरक्षण खोज्ने प्रवृत्तिले प्रहरीको अनुसन्धान कमजोर भएको उनले टिप्पणी गरिन् ।

बागलुङमा भएका घटनाको सन्दर्भमा भने अनुसन्धान र अध्ययन भइरहेको प्रहरी उपरीक्षक कृष्णहरि शर्माले बताए । ‘यसअघि के कस्तो काम भएको छ, त्यसबारे मैले भन्न सकिनँ,’ उनले भने, ‘पुराना फाइल अध्ययन गरेपछि अनुसन्धान कता पुगेको छ बताउन सकिएला ।’ तत्कालै अभियुक्त पक्राउ परेका र किटानी जाहेरीमा परेका बाहेकका घटनामा हत्या, बलात्कार, बेपत्तामा दोषी पत्ता नलागेको टिप्पणी भने नियमित हुने गरेको छ ।

प्रकाशित : जेष्ठ ९, २०७६ २०:२०
प्रतिक्रिया
पठाउनुहोस्

भालेपोथी खोज्दै बेइजिङका कामुक रूखहरू

लक्ष्मी लम्साल

काठमाडौँ — नीलो आकाश र स्वच्छ वायुका लागि प्रयास गर्दै आएको चीनले निकै जोडतोडका साथ हरियाली बढाउँदै लगेको छ। चीनका राष्ट्रपतिदेखि विभिन्न उच्च सरकारी अधिकारीहरू पनि वृक्षारोपणका कार्यक्रममा सक्रिय रूपमा सहभागी भएर  प्रदूषण विरुद्धको युद्धमा साथ दिइरहेका पनि छन्।

तर हाल वसन्त ऋतुको यो मनोहर मौसममा पनि बेइजिङका बासिन्दा आँखामा कालो चस्मा र मुखमा रंगीचंगी मास्क लगाएर हिँडिरहेका देखिन्छन्। यी भुवाहरू कपडामा टाँसिएपछि हटाउनै मुस्किल हुन्छ। झ्यालका जालीमा टाँसिएपछि सेतो भुवाको अर्को जाली नै बन्न पुग्छ। कतिपयका लागि यो एलर्जीको कारण पनि बन्नसक्छ भने सजिलै श्वासप्रश्वासमार्फत् मानव शरीरमा प्रवेश गर्ने भएकाले अस्थमाका बिरामीका लागि पनि खतरा साबित हुन्छ।

वसन्त ऋतुको आगमन हुँदा चराचुरुङ्गी, जनावरको प्रणयकाल चरमोत्कर्षमा पुग्छ। बेइजिङमा वनस्पति समेत अहिले प्रणय लीलामै मग्न देखिन्छन्। वीर्यजस्तै लाग्दै रूखका भुवाहरूले हिमपातको जस्तै दृश्य बनाउँछन्। रूखबाट फुत्त निस्किएको भुवा हावामा तैरिँदै कता हो कता गइरहेको हुन्छ। त्यो हिउँजस्तो भुवा कपालमा टाँसिन्छ, लुगामा लपेटिन्छ र हिँडिरहेका मानिसको मुख, आँखा वा नाकभित्र पनि छिरिदिन्छ। झ्याल खुल्ला राखिएका कार्यालय, घर वा सडक किनारमा यिनीहरू थुप्रिएका हुन्छन्। संकलित भुवाहरूले गाडी पनि चाँदीजस्तै ढाकिएका हुन्छन्। वसन्त ऋतुमै बेइजिङका यी वनस्पतिको पनि गर्भाधानको समय भएको छ।

चीनमा हरियाली ल्याउनका लागि रोपिएका यी रूखहरू हिउँको आभास दिलाउन लायक छन्। बेइजिङमा वातावरण प्रदूषित भएका बेलामा मानिसहरूले मास्क लगाउने गरे पनि नीलो आकाश र स्वच्छ हावा बहिरहेको वर्तमान वसन्तको मधुमासमा पनि मुखमा मास्क टाँसेर हिँड्नुपर्ने अवस्था निकै रोचक हो।

कतिपय मानिसहरूलाई यो लोभलाग्दो दृश्य बन्छ। विदेशबाट बेइजिङ उत्रिएका मानिसहरू बाटोमा सिधा, सफा चिटिक्क, समान दुरीमा लाइन लागेर उभिएका रूखहरू देख्दा अचम्म मान्छन्। बाटोघाटोमा उडिरहेको हिउँजस्तो लाग्ने दृश्यको फोटो खिच्नेहरूको पनि कमी देखिन्न। साना साना केटाकेटी र पाका अभिभावकहरू यस्ता भुवाले आजित हुन्छन्। आखिर कुन वनस्पति यति कामुक भएर यस्तो अवस्था सिर्जना गरेको होला? चिनियाँ भाषामा यस्ता रूखलाई याङ्शु भनिन्छ। अङ्ग्रेजीमा पोपलर भनिन्छ तर नेपालमा नपाइने भएकाले यसको ठेट नेपाली नाम धेरैलाई थाहा छैन। हो बेइजिङमा पर्याप्त रोपिएका यिनै रूखहरूले परागसेचनको अवधिमा तमासा देखाउने गर्दछन्।

बेइजिङ फरेस्ट्री युनिभर्सिटी अन्तर्गत कलेज अफ बायोलोजिकल साइन्स एन्ड टेक्नोलोजीका प्रोफेसर खाङ् स्याङयाङका विचारमा क्रमशः पोथी प्रजातिका पोपलर रोप्नु र भाले रूखहरू विस्थापित गर्नु नै यसको समाधान हो। खाङ् फरेष्ट्री युनिभर्सिटीको जङ्गल प्रजनन, राष्ट्रिय इन्जिनियरिङ प्रयोगशालाका निर्देशक पनि हुन्। उनले भने, 'यी भुवाहरू भाले पोथी भएर, समागमपश्चात् नयाँ बिरुवा उत्पादनका लागि भौँतारिइरहेका हुन्छन्। मध्य अप्रिलपछि उनीहरू आफ्नो रूखबाट भुवा बनेर उडिहिँड्छन्। फरक फरक प्रजाति र तापक्रमका कारण यिनीहरू करिब ४० दिनजति यता र उता उड्ने गर्छन्।'

चीनले किन रोप्यो पोपलर ?
तीव्र विकाससँगै चीनमा प्रदूषणको मात्रा पनि निकै फैलियो। जसका कारण चीनले अन्तर्राष्ट्रिय जगतबाट पनि आलोचना खेप्नुपरेको छ। तर सहरीकरणसँगै हरियाली प्रवर्द्धन गर्नुपर्ने बाध्यता पनि थियो। यसै क्रममा चीनले पोपलर नामक रूखहरू सडक किनार यत्रतत्र रोप्दै गयो। किनकि यो धेरै अग्लोसम्म हुर्किन सक्छ। यसका जरा निकै बलियो हुने भएकाले ढल्ने सम्भावना पनि कम हुन्छ। मानव हृदय आकारका पात अर्थात् पिपलका जस्ता पात हुने भएकाले परिपक्व अवस्थामा निकै घना र आकर्षक देखिन्छन्।

बेइजिङ सहरी निर्माण ब्युरोको हरित विभागका अनुसार यो वृक्षको विकासको एउटा नियम हो। पोथी रूखका भुवाहरू यत्रतत्र फैलिन्छन्। उपयुक्त भालेसँग समागम गरेर प्रजनन गर्नका लागि उनीहरू भाले भुवा खोज्दै हिँडिरहेका हुन्छन्। उनीहरू करिब १० दिनसम्म उडेर भालेको खोजी गर्ने विज्ञहरू बताउँछन्।

पिपलजस्तो देखिने यो वृक्ष उत्तिकै गुणकारी पनि हुन्छ। ३५ प्रजाति हुने यस रूखको आकार पनि फरक फरक हुन्छ। सामान्यतया यो ५० देखि १६५ फिटसम्म अग्लो हुन्छ भने यसको व्यास ८ फिटसम्म हुन्छ। यिनीहरू सहजै नष्ट गर्न पनि सकिन्छन्। यिनीहरू वायुमा परागसेचनका माध्यमबाट उत्पन्न हुन्छन्। प्राचीन रोमबाट छैटौँ शताब्दीमा देखापरेको पोपलरको नाम ल्याटिनमा पोपुलस भएको हो।

यसको काठ हलुका हुन्छ तर बलियो हुन्छ। त्यसैले निर्माण कार्यमा प्रयोग हुन्छ। गितार, ड्रम बनाउनका लागि यसको प्रयोग गरिन्छ। पेन्टिङमा पनि प्रयोग हुन्छ, मोनालिसाको तस्बिर पनि पोपलार रूखमै पेन्ट गरिएको थियो। यो करिब ५० वर्षसम्म बाँच्न सक्छ। यति उपयोगी वृक्ष यतिखेर चिनियाँका लागि केही दिनको घाँडो नै बनेको छ। तर वातावरणीय संरक्षण र हरित विकासका लागि रोपिएका रूखहरूको प्राकृतिक नियम स्विकार्नुबाहेक अरू विकल्प पनि त छैन ।

प्रकाशित : जेष्ठ ९, २०७६ १९:३५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्