कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

अधिवक्ता थापाको भनाइ खण्डन गर्दै सञ्चारमन्त्रीले भने, 'मेरो बारेमा धेरै ठाउँमा टिप्पणी हुन्छ'

विमल खतिवडा

काठमाडौँ — सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले आफ्नो बारेमा धेरै नै टिप्पणी हुने गरेको बताएका छन् । वरिष्ठ अधिवक्ता शम्भु थापाको भनाइको खण्डन गर्दै बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलानमा बोल्दै मन्त्री बाँस्कोटाले लोकतन्त्र जिवित रहेकाले अरु कसैले भने जस्तो संकट नभएको हुँदा हरेक नागरिकले हरेकका बारेमा प्रश्न उठाउने हक सुरक्षित रहेको बताए ।

अधिवक्ता थापाको भनाइ खण्डन गर्दै सञ्चारमन्त्रीले भने, 'मेरो बारेमा धेरै ठाउँमा टिप्पणी हुन्छ'

'मेरो बारेमा धेरै ठाउँमा टिप्पणी हुन्छ, म जुन पदमा छु, सरकारका विभिन्न विषयको जानकारी लिनु पर्ने हुन्छ, कतिपय कुराहरुमा आफ्नै पनि मतहरु राख्नु पर्ने हुन्छ,' उनले भने,' कसको अनुहार कसलाई मन पर्‍यो, मन परेन, हरेकको शैली हरेकसँग मिल्नु पर्छ वा पर्दैन भन्ने छैन, हरेकको मनमा के छ त्यही अनुसार सरकारको प्रवक्ता बोल्नु पर्छ वा पर्दैन म यसतर्फ जान चाहन्न, यसलाई प्रति टिप्पणी भने पनि भन्नुस् जे भने पनि भन्नुस् यस विषयमा म कुनै पनि कमेन्ट गर्न चाहन्न ।'

त्यस्तै नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरी 'गफ गाफ' कार्यक्रमको सम्बन्धमा सरकारको ध्यानाकर्षण भएको बताए । 'अन्तर्राष्ट्रिय कूटनीतिक मामिलासम्बन्धी विभिन्न प्रोटोकल, मान्यता र सहमतिहरु हुन्छ, जहाँ हामी सबै पक्ष छौं ,' उनले भने, 'यसकै मापदण्डभित्र रही उहाँहरुले त्यसको खास फ्रेम वर्कभित्र बसेर आफ्नो काम गर्नु हुन्छ ।'


त्यस्तै भोजपुरमा नेत्रविक्रम चन्द समूहका कार्यकर्ता मारिएका सम्बन्धमा यस्ता घटना नहुन भन्ने पक्षमा सरकार रहेको बताए । 'हामीले निरन्तर र बारम्बार हिंसा आजको आवश्यकता होइन, सम्पूर्ण कुराहरु संवादद्वारा हल हुने गणतान्त्रिक लोकतान्त्रिक व्यवस्था समाजमा स्थापना गरेका छौं, राज्य लोकतान्त्रिक छ,' उनले भने, 'घटना नहुनु पर्थ्यो, भयो उहाँहरु संवादमा आउनुस्, उहाँहरुको स्पष्ट कुरा आओस्, के हो अबको गन्तव्य र बाटो ?' उनले हिंसाको बाटो छाड्न आग्रह गरे । 'हामीले हिंसा झेलीसकेका छौं, हिंसा कसैका लागि पनि प्रिय रहँदैन,' उनले भने,'आफ्ना गतिविधि गर्नलाई । कुनै प्रतिबन्धात्मक अवस्था राजनैतिक दलहरुप्रति छैन, लोकतान्त्रिक मान्यताभित्र आउँदा भयो, किन अप्ठ्यारो बाटो हिंड्नु पर्‍यो ।'


लाल आयोगका बारेमा सरकारले अध्ययन गरिरहेको र उपयुक्त बेलामा बाहिर ल्याइने बताए । मेलम्ची खानेपानी आयोजनाबारे सरकारमाथि नागरिकस्तरबाट प्रश्न उठिरहेको उनले बताए । 'यस सम्बन्धमा सरकार अत्यन्तै चिन्तित छ, सिएमसी काम छाडेर हिंड्यो, यसका कारणले केही स्थानीय समस्या सिर्जना भएको छ,' उनले भने,'बहुप्रतिक्षित आयोजना हो, सबैको चासो छ, यसमा आर्थिक अनुशासन कायमै रहन्छ । नयाँ परिस्थिति सिर्जना भएपछि त्यसको कसरी ट्याकलिङ गर्ने भन्ने हिसावले सम्बन्धित संस्था मेलञ्चीलाई काम गर्न भनेका हौं । चाँडो के कसरी गर्ने भन्नेबारे उसैले अपउनाउने छ ।'

प्रकाशित : जेष्ठ ९, २०७६ १८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?