कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

'अपराधी पत्ता नलाग्नु गम्भीर विषय'

चित्रांग थापा

महेन्द्रनगर — नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १० महिनाअघि बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी  १३ वर्षीया बालिका निर्मला पन्त घटनामा संलग्न अपराधी हालसम्म पनि पक्राउ हुन नसक्नु गम्भीर विषय भएको बताएका छन् । उनले घटनामा ठूलाबडाको संलग्नता रहेकाले अनुसन्धान नै प्रभावकारी हुन नसकेको बताए ।

'अपराधी पत्ता नलाग्नु गम्भीर विषय'

'घटनामा ठूलाबडाको संलग्नता रहेकाले अपराधी जोगाउन अनुसन्धानलाई भद्रगोल बनाइएको हो' पार्टीको राष्ट्रिय जागरण अभियानको सिलसिलामा सुदूरपश्चिम प्रदेश पुगेका वरिष्ठ नेता पौडेलले बिहीबार प्रेस युनियन कञ्चनपुरले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा भने, 'पत्ता लाग्न नसक्ने कुरै थिएन, अनुसन्धानमा सुरुदेखि नै लापरबाही गरियो ।'


उनी बिहीबार बिहान निर्मलाको घर भीमदत्त नगरपालिका–२ उल्टाखाम पुगेर उनकी आमा दुर्गादेवीलाई भेट गरी निर्मलाका हत्यारा पत्ता लगाउन सरकारलाई दबाब दिने कुरामा कांग्रेसले कुनै कसर बाँकी नराख्ने आश्वासन दिएका थिए । नेता पौडेलले निर्मलाका हत्यारा पत्ता लगाउन राज्यले कमिटमेन्ट अनुसार अनुसन्धान गर्नुपर्ने उल्लेख गरे । 'यो राष्ट्रकै लागि लज्जास्पद कुरा हो' उनले भने ।


नेता पौडेलले सरकारले बहुमत छ भन्दैमा मनपरी गर्न थालेको आरोप लगाए । 'सरकारले मनपरी गरे कडा रूपमा कांग्रेस विरोधमा उत्रने छ' उनले भने,'सरकारले जथाभाबी गरे पञ्चायतकै जस्तो हालत हुन्छ, बहुमत छ भन्दैमा जे पनि गर्न पाइँदैन ।' सरकार असहिष्णु बन्दै गएको आरोप लगाउँदै नेता पौडेलले सरकारका गतिविधि हास्यास्पद भएको बताए ।


आफू कांग्रेस महाधिवेशनमा सभापतिको उम्मेदवारका रूपमा कार्यकर्ता भेटघाटमा निस्केको नभई कांग्रेसको प्रजातन्त्र र समाजवादको विचारधारालाई कार्यकर्ता माझ पुर्‍याउन र पार्टीलाई अनुशासित र एकताबद्ध बनाउने अभियानमा जुटेको बताए ।


'कांग्रेसले कांग्रेसलाई हराउने नराम्रो परिपाटी पार्टीमा देखापरेको छ' उनले भने,'पार्टीमा अन्तरघात हुनेगर्छ जसका कारण पार्टी कमजोर भएको हो ।' उनले पार्टीमा अनुशासन कायम गर्नुपर्ने तर अनुशासनको नाममा नेतृत्वले कार्यकर्तामाथि न्यायपनि गर्नुपर्ने उल्लेख गरे ।

प्रकाशित : जेष्ठ ९, २०७६ १५:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?