१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

हिमालयको जहाज फेरि भाडामा

हिमालय एयरलाइन्सले भाडामा लिएको जहाज योजनाअनुरुप व्यापार गर्न नसकेपछि भियतनामको ब्याम्बो एयरलाई एक वर्षका लागि भाडामा
सुरज कुँवर

काठमाडौँ — तीन वर्षदेखि काठमाडौंलाई हब बनाउँदै अन्तर्राष्ट्रिय उडान थालेको हिमालय एयरलाइन्सले योजनाअनुरूप व्यापार गर्न नसकेपछि आफ्नो एउटा जहाज भियतनामको ब्याम्बो एयरलाई एक वर्षका लागि भाडामा दिएको छ ।

हिमालयको जहाज फेरि भाडामा

हिमालयका प्रशासनिक उपाध्यक्ष विजय श्रेष्ठका अनुसार १५८ सिट क्षमताका तीनवटा एयरबस ए३२० न्यारोबडी विमानमध्ये नेपालमा दर्ता भएको ‘नाइन नोभेम्बर (अल्फा लिमा माइक) कल साइन को एयरबस ए३२० गत शुक्रबार भियतनाममा पठाइएको हो ।

हिमालयको जहाज ५ महिनादेखि व्यावसायिक उडान थालेको भियतनामको निजी कम्पनी ब्याम्बो एयरलाइन्सले त्यहाँको राजधानी हनोईबाट जापान, कोरिया, ताइवान तथा भियतनामका १४ वटा आन्तरिक सेक्टरमा उडाउनेछ । नौवटा जहाज रहेको ब्याम्बोले आफ्नो नयाँ विमान थपिएपछि हिमालयको न्यारोबडी फर्काउने जनाउ दिएको सम्बद्ध स्रोतले जनाएको छ ।

उपाध्यक्ष श्रेष्ठका अनुसार उक्त विमान एक वर्षका लागि ‘वेटलिज’ अवधारणामा भाडामा दिइएको छ । वेटलिजमा हिमालयको जहाज यसै कम्पनीका चालक दलले उडाउनेछन् । विमानको नियमित मर्मत र बिमा खर्च पनि हिमालयले नै व्यहोर्ने सम्झौतामा उल्लेख छ ।

‘एक वर्षको सम्झौता ६/६ महिनामा नवीकरण गरिने व्यवस्था राखिएको छ,’ उपाध्यक्ष श्रेष्ठले कान्तिपुरसँग भने । ‘यो सम्झौताअनुसार ब्याम्बोले प्रतिघण्टा १८ सय डलर (२ लाख रुपैयाँ) हाराहारीमा हिमालयलाई बुझाउनुपर्नेछ,’ स्रोतले भन्यो, ‘ब्याम्बोले यो दरअनुसार महिनामा ३ सय घण्टा हाराहारी जहाज उडाउनैपर्छ । नउडाएमा हिमालयले कम्तीमा मासिक ३ सय घण्टाको हिसाब दिनुपर्नेछ । यस हिसाबले उक्त विमान दैनिक १० घण्टा उडाउनैपर्ने हुन्छ ।’

स्थापना भएयता व्यापारमा मुनाफा आर्जन गर्न नसकिरहेको हिमालयले नेपालमा विभिन्न संस्थाहरूलाई बुझाउनुपर्ने बक्यौता बढ्दै गएको स्रोतको दाबी छ । ०७१ मा दर्ता भएको हिमालयले ०७३ जेठमा काठमाडौंबाट दोहा उडान थाल्दै गर्दा ५ वर्षभित्र १५ वटा जहाजमार्फत कम्तीमा एक दर्जन क्षेत्रमा सेवा विस्तार गर्दै हवाई व्यापारमा नेपाली एयरलाइन्सले आर्जन गर्दै आएको ५ प्रतिशत हिस्सालाई ५० प्रतिशत पुर्‍याउने घोषणा गरेको थियो । नेपालमा वार्षिक १ खर्ब रुपैयाँ हाराहारीको हवाई व्यापार हुने गरेको अनुमान छ ।


तीन वर्षयता हिमालयले घोषणा गरेअनुसार व्यापार गर्न सकेको छैन । कोलम्बो र म्यानमारमा छ महिनाभन्दा बढी टिक्न नसकेर सेवा नै बन्द गरिसकेको छ ।

यसैबीच लगानी पारदर्शी नभएको जनाउँदै भारतको नागरिक उड्डयनले तीन वर्षदेखि यसलाई उक्त मुलुकमा उड्न अनुमति दिएको छैन । हिमालयले पहिलो गन्तव्य भारतको नयाँदिल्ली घोषणा गरेको थियो ।

भारतमा उड्न नपाएपछि दोहाबाट व्यावसायिक उडान थालेको थियो । ‘५१ प्रतिशत नेपालीको लगानी भनिएको छ तर बोर्ड सदस्यमा अधिकांश चिनियाँ नागरिकको नेतृत्व हाबी किन छ ? भन्दै भारतले प्रश्न गरेको,’ स्रोतले भन्यो, ‘हाम्रो कम्पनीले उनीहरूलाई जवाफ दिन सकिरहेको छैन ।’

‘हिमालयको व्यवस्थापन पक्ष कमजोर छ, यस कम्पनीले कम्तीमा ६ अर्ब रुपैयाँ नोक्सान व्यहोरेको छ,’ स्रोतले भन्यो, ‘त्रिभुवन विमानस्थलमा जहाज पार्किङलगायतका सेवा उपभोग गरेबापत बुझाउनुपर्ने रकम, क्याटरिङ, होटल, कर्मचारीको तलबलगायतमा तिर्नुपर्ने दायित्व बढेको देखिन्छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थापनले हिमालय एयरलाइन्सले १५ करोड २१ लाख बक्यौता नतिरेको आइतबार संघीय संसदको सार्वजनिक लेखा समितिमा हिसाब बुझाइसकेको छ ।


समितिले विमानस्थललाई स्वेदशी एयरलाइन्सबाट प्रभावकारी कार्ययोजना बनाई असुल्न भनेको छ भने विदेशी वायुसेवालाई कालोसूचीमा राख्न निर्देशन दिएको छ ।

व्यापार घाटा बढदै गएपछि हिमालयले ब्याम्बोलाई जहाज दिनुअघि ओमनको सलाल एयरलाई भाडामा दिने तयारी गरिरहेको थियो । भाडामा ल्याइएको जहाजलाई फेरि भाडामा लिने कानुनी प्रक्रिया नमिलेका कारण सलाल सम्झौताबाट पछि हटेको स्रोतले बतायो ।

यो नेपाली व्यवसायी र चिनियाँको संयुक्त लगानीमा स्थापना भएको निजी कम्पनी हो । यसमा ५१ प्रतिशत लगानी यती एयरलाइन्सका सञ्चालकको कम्पनी यती वर्ल्ड इन्भेस्टमेन्ट र ४९ प्रतिशत लगानी तिब्बत एयरलायन्सको छ । यो कम्पनीसँग भएका तीनवटा विमान चाइना डेभलप्मेन्ट बैंकबाट १२ वर्षका लागि ड्राई लिजमा ल्याइएका हुन् ।


प्रकाशित : जेष्ठ ८, २०७६ १०:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?