कारागारको जग्गामा घरैघर

धनकुटा — भवन निर्माणका लागि २३ करोड रुपैयाँ विनियोजन गरिएको धनकुटा जिल्ला कारागारको जग्गामा घरैघर रहेको पाइएको छ । भवन बनाउन बजेट आएपछि मात्रै कर्मचारीले थाहा पाए, भवन बनाउने भनिएको जग्गा खाली छैन । धनकुटा नगरपालिका-४ को पुजारीटोलमा पर्ने जग्गामा दर्जनौं घर बनिसकेका छन् । 

कारागारको जग्गामा घरैघर

‘प्रदेशस्तरीय सुविधासम्पन्न भवन बनाउने योजना थियो,’ निमित्त जेलर टंकबहादुर श्रेष्ठले भने, ‘अतिक्रमण गरेर घर बनाउनेका कारण अब गाह्रो भयो ।’


घर बनाएर बसेकाहरूलाई हटाउन चुनौती रहेको उनले बताए । नापी कार्यालयका अनुसार धनकुटा नगर क्षेत्रभित्र मात्रै करिब २ हजार ४ सय रोपनी क्षेत्रफल सरकारी जग्गा छ । जसमध्ये अधिकांशमा साँधसिमाना छुट्टिने घेराबारा गरिएको छैन । जग्गा अतिक्रमण गरी घर बनाउने र खेती गरिएको कारागारको मात्रै छैन, अन्य कार्यालयहरूले पनि आफ्नो जग्गा खोजी नगर्दा अतिक्रमणमा परेका छन् ।


नगर क्षेत्रभित्र सरकारी जग्गा अतिक्रमण गरेर बसोबास गरिरहेकालाई हटाउने तयारी गरिरहेको प्रमुख जिल्ला अधिकारी सीताराम कार्कीले बताएका छन् । ‘पहिलो चरणमा सबैभन्दा बढी सरकारी जग्गा रहेको ४ नम्बर वडा क्षेत्रबाट अतिक्रमण हटाउन सुरु गर्छौं,’ उनले भने ।


बिहीबारे हटिया नजिकैको पुजारीटोलमा जिल्ला कारागारको नाममा रहेको १९ रोपनी जग्गामा घरैघर छन् । अनधिकृत बसोबास गर्ने सबैले सरकारी जग्गा छाड्नपर्ने उनले बताए । ‘सरकारी जग्गा नजोगाउने हो भने कार्यालयहरूले आवश्यकताअनुसारका भवन र नयाँ संरचना बनाउने योजना प्रभावित हुन्छन्,’ उनले भने, ‘अतिक्रमण गर्दै बनाइएको घरटहरा यथाशक्य चाँडो हटाउनेछौं ।’


कारागार प्रशासनका अनुसार उक्त स्थानमा रहेको कित्ता नम्बर ३१, ३२, ३०, २, ३, ५ र ६ को जग्गा अतिक्रमणमा परेको छ । उक्त जग्गामा हाल १७ घरपरिवार बस्दै आएका छन् । उक्त स्थानमा कारागारको भवन निर्माण गर्ने योजना छ ।


मन्त्रिपरिषद्को निर्णयअनुसार बहुवर्षीय योजनामा पारेर बजेट विनियोजन गरिएको कारागारको नयाँ संरचना बनाउन २३ करोडको लागतको डीपीआर तयार भइसकेको छ । योजना अघि बढाउन १९ करोड रुपैयाँ विनियोजन भइसकेको निमित्त जेलर श्रेष्ठले बताए । चालु वर्ष भवन निर्माणअघि तारघेराका लागि ५२ लाख रुपैयाँ विनियोजन भएको जानकारी उनले दिए ।


उक्त जग्गाको बस्ती खाली गर्न भने सजिलो छैन । गत वैशाख ६ मा जग्गा खाली गर्न सूचना जारी गरे पनि हालसम्म कसैले पनि छाडेका छैनन् ।


नेपाल बसोबास बस्ती संरक्षण समाज धनकुटाका अध्यक्ष एन्जिला याक्खाले बस्ती खाली गर्नुअघि वैकल्पिक रूपमा अन्यत्र जग्गा व्यवस्थापन गर्नुपर्ने बताइन् । ‘वैकल्पिक रूपमा जग्गा उपलब्ध नगराएसम्म हामी छोड्दैनौं,’ उनले भनिन्, ‘हामीलाई जबर्जस्ती गरेर हटाउन मिल्दैन ।’ स्वेच्छाले बस्ती खाली नगरे प्रशासनले बल प्रयोग गर्ने चेतावनी पनि दिएको छ ।

प्रकाशित : जेष्ठ ८, २०७६ १०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?