कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

चार भाइ एकैसाथ कञ्चनजंघामा

कुम्भराज राई

ओखलढुंगा — विश्वको तेस्रो अग्लो शिखर कञ्चनजंघामा संखुवासभाका चार दाजुभाइले एकैपटक पाइला टेकेका छन् । मकालु गाउँपालिका १, इङलुवाका ३५ वर्षीय छिजिनोर्बु शेर्पा, ३३ वर्षीय फुर्वा शेर्पा, ३० वर्षीय तेन्जिङ शेर्पा र २५ वर्षीय पासाङदावा शेर्पा जेठ १ बुधबार बिहान ६ बजे कञ्चनजंघा शिखरमा पुगेका हुन् । उनीहरू माइला, साइँला, काइँला र कान्छा दाजुभाइ हुन् ।

चार भाइ एकैसाथ कञ्चनजंघामा

जेठा दाजु गाउँमै बस्छन् । कञ्चनजंघा आरोहण चारै जनाको पहिलोपटक हो । दाजुभाइमध्ये पनि कान्छा पासाङदावाका लागि पहिलो हिमाल आरोहण हो । काइँला तेन्जिङले गत वर्ष एकै सिजनमा दुईपटक सगरमाथा र एकपटक ल्होत्से आरोहण गरेका थिए । साइँला फुर्वाले यो वर्ष कञ्चनजंघाको ‘रोप फिक्सिङ’ र ग्रुपसहित गरी दुईपटक शिखर चुमे । ग्रुपसहित शिखर चुम्ने क्रममा चारै दाजुभाइ यसपटक एकै समयमा शिखरमा पुगेका हुन् ।


माइला छिजीनोर्बु १४ हिमाल (फोर्टिन पिक) आरोहणका अभियन्ता हुन् । ‘फोर्टिन पिक’ भन्नाले नेपाल, तिब्बत र पाकिस्तानमा भएका १४ वटा हिमाल छन् । उनले अब पाकिस्तानका दुईवटा हिमाल मात्र आरोहण गर्न बाँकी छ । उनीहरू कञ्चनजंघामा यो वर्ष पिक प्रमोसन प्रालिको आरोहण दलबाट क्लाइम्बिङ शेर्पाका रूपमा गएका थिए ।


‘हामी चारै दाजुभाइ सल्लाह गरेरै गएका हौँ,’ छिजीनोर्बुले टेलिफोनमा भने, ‘हाम्रो देशको हिमाल चढ्न यतिका विदेशीहरू आउँछन् । हामी चारै दाजुभाइ चढेर एउटा सन्देश दिऊँ भनेर चढेका हौँ ।’


छिजीनोर्बु सन् २००७ देखि हिमाल चढ्ने पेसामा छन् । उनीहरू कसैले पनि कक्षा पाँचभन्दा माथि पढेका छैनन् । आरोहीहरूका अनुसार प्राविधिक रूपले कञ्चनजंघा आरोहण सगरमाथाभन्दा कठिन मानिन्छ । उनीहरूले कञ्चनजंघा आरोहण गरेपछि भारतीय संस्था ‘गिरिप्रेमी’ ले गिनिज वल्र्ड रेकर्डका लागि आवश्यक प्रक्रिया अघि बढाएर सहयोग गरेको छ । एकै घरका चार दाजुभाइ कञ्चनजंघामा एकैपटक आरोहण गरेको पहिलो भएको दाबी गरिएको छ ।


हिमाल चढ्न जानुअघि चारै भाइ नजानका लागि आग्रह गर्दै उनीहरूकी आमा ङिमा खाङदुक शेर्पा निकै रोएकी थिइन् । बुवा पासाङ ओङदी शेर्पा र आमा ङिमा खाङदुकसमेत छोराहरूको सफलताबाट खुसी भएको माइला छिजीले बताए । चारै दाजुभाइमा हिमाल चढ्ने अद्भुत क्षमता भएको पिक प्रमोसन प्रालिका निर्देशक आङबाबु शेर्पाले बताए ।


कञ्चनजंघा आरोहणको इतिहासमै यो वर्ष सबैभन्दा धेरैले आरोहण गरेका छन् । पिक प्रमोसन, सेभेन समिट र सांग्रिला नेपालका गरी ३४ जनाले आरोहण अनुमति लिएका थिए । त्यसमध्ये ३२ विदेशी र २ नेपाली थिए । पिक प्रमोसनका १६ विदेशी, २ नेपाली र २६ शेर्पा चुचुरोमा पुगे ।


सांग्रिला नेपालका १ विदेशी र ४ शेर्पाले शिखर चुमे । सेभेन समिटका ७ आरोही र ७ शेर्पाले शिखरमा पाइला टेके । सहयोगी शेर्पासहित कुल ६६ जनाले आरोहण गरेका हुन् ।


प्रकाशित : जेष्ठ ८, २०७६ ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?