चन्द समूहका ५ नेता पक्राउ

कलेन्द्र सेजुवाल

सुर्खेत — कर्णाली प्रहरीले प्रदेशका विभिन्न ठाउँबाट नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका ५ नेतालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा केन्द्रीय सदस्यदेखि जिल्ला तहका नेता रहेका छन् ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार मंगलबार बिहान सुर्खेतको भेरीगंगा नगरपालिका-५ भर्लेनीबाट केन्द्रीय सदस्य एवं भेरी ब्युरो इन्चार्ज बलबहादुर वली र भेरी ब्युरो सदस्य तथा सुर्खेत जिल्ला सेक्रेटरी खड्कबहादुर खड्का पक्राउ परेका छन्।

उनीहरूबाट पार्टीका विभिन्न दस्ताबेजसमेत बरामद गरिएको प्रदेश प्रहरी प्रमुख डीआईजी महेशविक्रम शाहले बताए। 'लुकिछिपी बैठक तथा अन्य गतिविधि गरिरहेको सूचनाको आधारमा प्रहरीको विशेष टोलीले उनीहरूलाई पक्राउ गरेको हो,' उनले भने, 'सरकारले विप्लव समूहमाथि प्रतिबन्ध लगाएपछि समूहका नेता-कार्यकर्ता पक्राउ पर्ने क्रम जारी छ।'

प्रहरीले जाजरकोट जिल्ला जनसरकार प्रमुख हरिचन्द्र जैशी, मुगु जिल्ला कमिटी सदस्य अजपाल बुढा र मुगु जिल्ला कमिटी सदस्य दीपकबहादुर साउदलाई पनि पक्राउ गरेको छ।

उनीहरूलाई राज्यविरुद्धको अपराधमा अदालतबाट म्याद थप गराई अनुसन्धान भइरहेको मंगलबारप्रदेश प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा डीआईजी शाहले जानकारी दिए।

प्रकाशित : जेष्ठ ७, २०७६ १९:२८
प्रतिक्रिया
पठाउनुहोस्

अमेरिकी थुनामा आप्रवासी किशोरको मृत्यु

एजेन्सी

वासिङ्टन — अमेरिकाको टेक्सास राज्यस्थित आप्रवासी राखिएको थुनुवा कक्षमा एक किशोरको मृत्यु भएको छ । मुत्यु हुने ग्वाटेमालाका १६ वर्षीय किशोर हुन् ।

अमेरिकी भन्सार तथा सीमा सुरक्षा (सीबीपी) का अनुसार टेक्सासको हिडाल्गो नजिक गत मे १३ मा अवैध रूपमा प्रवेश गरेका किशोरलाई सीमा सुरक्षा निकायले गिरफ्तार गरी थुनामा राखेको थियो । किशोरको रियो ग्रान्डे भ्याली सेक्टरको वेस्लाको स्टेसनमा मृत्यु भएको हो । नाम उल्लेख नगरिएका किशोरको मृत्युको कारण खुलेको छैन । गत डिसेम्बरयता अमेरिकी थुनामा मृत्यु हुने यी पाँचौं आप्रवासी हुन् ।

प्रकाशित : जेष्ठ ७, २०७६ १८:५६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्