२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

एकमुखे रुद्राक्ष बेच्नै भन्दै ठग्दै

जनकराज सापकोटा

काठमाडौँ — वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया जान भन्दै काठमाडौं आएका इलामका भुपेन्द्र सुनवार अनौठो आपतमा परे । घटना गत शुक्रबारको हो । स्वास्थ्य परीक्षणका निम्ति मिनभवनमा रहेको सिभिल अस्पतालमा पुगेका उनी डाक्टर भेट्ने पालो कुर्दै फेसबुक चलाएर बसिरहेका थिए ।

एकमुखे रुद्राक्ष बेच्नै भन्दै ठग्दै

त्यही बेला उनीसँग गफ गर्न आइपुगे सुनसरीको ईनरुवा ८ घर बताउने सलाम उद्धिन मियाँ। त्यही बेला परिचय लागेका मियाँसँगकाे गफ उनका लागि पासो भइदियो ।


सुरुमा सलामले सामान्य चिनापर्ची गरे । अनि एकैछिनमा भने, मसँग एक मुखे रुद्राक्ष छ । म मुस्लिम मान्छेलाई किन चाहियो । किन्ने हो ?


भुपेन्द्रले एकमुखे रुद्राक्षको बारेमा सुनेका त थिए नै यस्तो रुद्राक्ष महँगोमा किनबेच हुने र जहाँ पायो त्यँही नभेटिने हुन्छ भन्ने पनि सुनेका थिए । उनले किन्न रुची देखाए । दुवैबीच मोलमलाई भयो ।


भुपेन्द्रले एकैछिनमा आफुसँग रहेको नगद ९ हजार रुपैया दिए । त्यसपछि दुवैजना हिड्दैँ बानेश्वर पुगे । भुपेन्द्रले एटिएमाबाट बांकी ५० हजार पनि निकालेर दिए । त्यसपछि सलाम बाटो लागे, भुपेन्द्र अस्पताल ।


अस्पतालमा भुपेन्द्रले कोरिया जानका लागि स्वास्थ्य परीक्षणमा आएका भोजपुरका एक साथी भेटे । भोजपुर रुद्राक्ष खेतीका लागि प्रसिद्ध छ भन्ने उनलाई थाह थियो । त्यही भएर उनले साथीलाई भने, मैले एकमुखे रुद्राक्ष किने नि ।


साथीले पत्याएनन् । त्यसपछि उनले रुद्राक्ष देखाए । त्यसपछि पो भेद खुल्यो, उनले किनेको रुद्राक्ष सक्कली थिएन । भुपेन्द्रले तत्कालै सलिमले दिएको नम्बरमा फोन गरे । तर फोन लाग्दै लागेन । त्यसपछि उनले पत्तो पाए, म ठगिएछु ।


भुपेन्द्रले ठगीको यो घटनाबारे महानगरीय प्रहरी वृत्त बानेश्वरमा उजुरी दिए । प्रहरीले ठगी भएको स्थानमा तीन दिनसम्म सादा पोशाकमा प्रहरी खटायो । बानेश्वर वृत्तका डिएसपी गोविन्द काफ्लेले ठग सलिम पक्राउ परेको र उनी विरुद्ध ठगीमा मुद्दा चलाइएको बताए । उनले भने, ‘प्रत्येक दिन अस्पताल आउने, अपरिचितसँग चिनजान गर्ने र एक मुखे रुद्राक्ष छ भन्दै ठग्ने उसको नियमित तरिका रहेछ ।’

प्रकाशित : जेष्ठ ७, २०७६ १२:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?