पाँचथर हत्या काण्ड : भागेर बाँच्न सफल बालिका भन्छिन् - 'धारिलो हतियारले पालैपालो सबैलाई प्रहार गरे'

विराटनगर/पाँचथर — गएराति पाँचथरको मिक्लाजुङ गाउँपालिका-३ आरुबोटेमा भएको हत्यामा संलग्न व्यक्तिले आफ्नो अनुहार छोपेर २ परिवारका ९ जनाको हत्या गरेको घटनामा भागेर बाँच्न सफल १२ वर्षीया बालिकाले बताएकी छन् । भागेर बाँच्न सफल सीता खाजुमका अनुसार कपडाले अनुहार छोपेर नचिनिने गरी आएको व्यक्तिले सबैलाई धारिलो हतियार प्रहार गरेका थिए ।

पाँचथर हत्या काण्ड : भागेर बाँच्न सफल बालिका भन्छिन् - 'धारिलो हतियारले पालैपालो सबैलाई प्रहार गरे'

घाइते भएर उपचार गराइरहेकी खजुमले प्रहरी सामू भनेकी छन्, 'पालैपालो सबैलाई हानेर भागे ।'

पाँचथरको दक्षिण पश्चिमी गाउँ मिक्लाजुङ गााउँपालिका-३ आरुबोटेमा ९ जनाको विभत्स हत्या भएको थियो । धारिलो हतियार प्रहार गरी सोमबार राति दुई परिवारका नौजनाको हत्या भएको थियो । सदरमुकाम फिदिमबाट टाढा रहेको उक्त स्थानमा भएको घटना मंगलबार बिहानमात्रै जानकारीमा आएको थियो ।


विराटनगरस्थित प्रदेश प्रहरी कार्यालयका अनुसार जिल्ला प्रहरी र आसपासका चौकीहरुबाट टोलीहरु घटनास्थलतर्फ गइरहेका छन् । घटनाबारे विस्तृत जानकारी आउन बाँकी रहेको उक्त कार्यालयले जनाएको छ । घटनास्थल पाँचथर सदरमुकाम फिदिमभन्दा करिब ६० किलोमिटर टाढा पर्छ ।


प्रदेश प्रहरी कार्यालयका अनुसार उक्त गाउँबाट नजिकै पर्ने भएकाले झापाबाट पनि प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको छ ।


स्थानीय धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका ९ जनाको अज्ञात व्यक्तिले हत्या गरेको पाइएको गाउँलेले बताएका छन् ।


स्थानीय सामाजिक कार्यकर्ता अर्चना गुरुङका अनुसार धनराजको परिवारका ५ जनाको हत्या भएको बिहान गाउँलेले थाहा पाएका थिए । यसैगरी बमबहादुरको परिवारका चारजनाको हत्या भएको छ । धनराजका परिवारको शव घरभित्रै पाइएको थियो भने बमबहादुरका परिवारको शव घरबाहिर फेला परेको थियो ।


हत्या गरिएकामा ७४ वर्षीय बमबहादुर फियाक, उनकी श्रीमती, २६ वर्षीया मनकुमारी फियाक, ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, ८ वर्षीया मुना शेर्मा, १२ वर्षीया आशिका खजुमलगायत छन् ।

१२ वर्षीया सीता खजुम भने भागेर बाँचेकी छन् । सामान्य घाइते उनलाई उपचारका लागि स्वास्थ्य संस्था पठाइएको प्रहरीले जनाएको छ । उनले कपडाले अनुहार छोपेर नचिनिने गरी आएका केही व्यक्तिले धारिलो हतियारले पालैपालो सबैलाई प्रहार गरेको प्रहरीलाई जानकारी दिएकी छन् ।


पाँचथरका प्रहरी नायब उपरीक्षक नरेन्द्र कुवँरका अनुसार दशमी र राँकेस्थित प्रहरी चौकीबाट टोली घटनास्थल पुगेको छ । जिल्ला प्रंहरीको टोली त्यसतर्फ गइरहेको उनले बताए । हत्या कसले र किन गरेको भन्ने खुलिसकेको छैन ।

प्रकाशित : जेष्ठ ७, २०७६ ०९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?