२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

पाँचथरमा २ परिवारका ९ जनाको हत्या

काठमाडौँ — पाँचथरमा २ परिवारका ९ जनाको धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ । मिक्लाजुङ गाउँपालिका-३, आरुबोटे भन्ने स्थानमा दुई परिवारका ९ जनाको हत्या भएको पाँचथरका प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीले जानकारी दिएका छन्। हत्या गर्न लाग्दा हामफालेर भाग्ने क्रममा १ बालिका घाइते भएकी छन् ।

पाँचथरमा २ परिवारका ९ जनाको हत्या

राससले घटनास्थलमा रहेकी लघु उद्यम प्रशिक्षक अर्चना गुरुङलाई उद्धृत गर्दै गएराति स्थानीय धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका नौ जनाको धारिलो हतियार प्रहार गरी हत्या गरिएको उल्लेख गरेको छ ।


यस्तै धनराजको परिवारका पाँच जनाको हत्यापछि शव घरभित्रै रहेको तथा बमबहादुरको परिवारका चार जनाको शव घरभित्र तथा बाहिर विभत्स अवस्था भेटिएको राससले उल्लेख गरेको छ ।


हत्या गरिएकामा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, छ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, नाम प्राप्त नभएकी बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बूको विभत्स हत्या भएको हो ।


प्रमुख जिल्ला अधिकारी वस्तीका अनुसार हत्याराले ढोका थुनेर सामूहिक हत्या गरेका हुन् । उनले भने, 'गाउँलेले थाहा पाउलान् भनेर हत्याराले ढोका थुनेर हत्या गरेर भागेको गाउँलले बताए । ढोका थुनेपछि हामफालेर भाग्न खोज्दा १ जनाको खुट्टा भाँचिएको छ । उनी घाइते छन् । स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ भन्ने जानकारी आएको छ ।'


१२ वर्षीया सीता खजुम भने भागेर बाँच्न सफल भएकी छन् । उनी गम्भीर घाइते छिन् । मध्यरात भएको घटना स्थानीयवासीले बिहान मात्रै थाहा पाएका थिए । घाइते सीताले स्थानीयवासीलाई दिएको जानकारीअनुसार मुखुण्डो लगाएर आएको समूहले धारिलो हतियार प्रहार गरी सबैको हत्या गरेको थियो ।


वस्तीका अनुसार गएराति विभत्स घटना भएपनि घटनाबारे जानकारी आज बिहान पौने ६ बजे मात्रै उनलाई आएको थियो । घटनाबारे जानकारी आउने वित्तिकै नजिकैको प्रहरी चौकीबाट प्रहरी खटाइएको उनले टेलिफोनमा कान्तिपुरलाई जानकारी दिए । उनले भने, 'निकै विभत्स घटना भयो । जानकारी पाउने वित्तिकै नजिकैको चौकीबाट प्रहरी पठाइयो भने जिल्ला प्रहरी कार्यालयबाट डिएसपीसहितको टोली पनि घटनास्थल गइसकेको छ ।'


वस्तीका अनुसार नजिकैको चौकीबाट घटनास्थल २०/२२ किलोमिटर टाढा छ भने सदरमुकामबाट करिव ६० किलोमिटर टाढा पर्छ । नजिकैको चौकीबाट गएको प्रहरीले अहिले प्रारम्भिक विवरण लिइरहेको उनले जानकारी दिए । विकट ठाउँ र कच्ची बाटो भएकोले तत्काल घटनास्थलमा प्रहरी पुग्न नसकेको उनले बताए ।


गाउँलेको भनाइ उद्धृत गर्दै वस्तीले दिएको जानकारी अनुसार गाउँपालिका अध्यक्षसहित जनप्रतिनिधि घटनास्थलमा पुगेका छन् ।


प्रजिअ वस्तीले डिएसपी नेतृत्वको टोली घटनास्थल पुगेपछि मात्रै थप विवरण आउने बताए ।

प्रकाशित : जेष्ठ ७, २०७६ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?