कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

प्रधानमन्त्री विरुद्ध अपशब्द लेखेको आरोपमा पक्राउ

काठमाडौँ — नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध फेसबुकमा अपशब्द लेखेको आरोपमा लालबहादुर तामाङलाई पक्राउ गरेको छ । ३३ वर्षीय तामाङलाई बिजुली बजारबाट नियन्त्रणमा लिइएको हो । 

प्रधानमन्त्री विरुद्ध अपशब्द लेखेको आरोपमा पक्राउ

'५० करोड दिनुस् म मोदीलाई मारिदिन्छु' भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध लेखिएको समाचार फेसबुकमा एक अनलाइन पोर्टलले सेयर गरेको थियो ।


त्यही सामग्रीमा तामाङले कमेन्ट लेख्दै प्रधानमन्त्री ओलीविरुद्ध अपशब्द लेखेका थिए । उनीमाथी विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत मुद्दा चलाइने महाशाखाका एसपी केदार ढकालले जानकारी दिए ।


मुख्य पात्रलाई उन्मुक्ति

महाशाखाले यसअघि पनि प्रधानमन्त्री, राष्ट्रपति र दलका मुख्य नेताविरुद्ध अपशब्द लेख्नेलाई पक्राउ गर्दै साइबर अपराधमा मुद्दा चलाइसकेको छ । वैशाख अन्तिम साता महाशाखाले सिन्धुपाल्चोकको मेलम्चीबाट ईश्वरकुमार चौलागाइर्ंलाई पक्राउ गरेर विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा चलाएको थियो ।


फटकशिला माविका प्रधानाध्यापक तथा शिक्षक महासंघ सिन्धुपाल्चोकका सचिव चौलागाईंलाई महाशाखाले राष्ट्रपति र प्रधानमन्त्रीको मानहानि हुने तस्बिर फेसबुकमा राखेको आरोपमा पक्राउ गरेको थियो ।


महाशाखाले गत कात्तिक १३ गते कागेश्वरी मनहरा नगरपालिका ८ बस्ने हरिप्रसाद मानन्धरलाई पक्राउ गरेको थियो । पाथीभरा अनलाइन डटकममा प्रधानमन्त्रीको स्वास्थ्यसम्बन्धी झूटो समाचार सम्प्रेषण गरेर भ्रम सिर्जना गरेको आरोपमा उनी पक्राउ परेका थिए । महाशाखाले मंसिर ११ मा भ्रमपूर्ण तथा झूटो खबर लेखेको आरोपमा पोस्टपाटी डटकमका सम्पादक गोपाल चन्दलाई तारकेश्वर नगरपालिका मनमैजुबाट पक्राउ गरेको थियो ।


उक्त अनलाइनले मंसिर ८ मा पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल चितवन गएका बेला 'स्थानीयले खुकुरी प्रहारको प्रयास' शीर्षकमा समाचार छापेको थियो । अनलाइनमा प्रकाशित समाचारको अन्त्यमा उक्त 'समाचार मिर्मिरे अनलाइनबाट साभार गरिएको' उल्लेख छ । त्यतिबेला महाशाखाले समाचारको मूल स्रोतमाथि अनुसन्धान नगरी साभार गर्नेमाथि कारबाही गरेको थियो ।


गत भदौ ५ गते महाशाखाले काभ्रे रोशी गाउँपालिका-५ का वडा सचिव होमनाथ सिग्देलविरुद्ध फेसबुकमा प्रधानमन्त्रीको मानहानि हुने तस्बिर सेयर गरेको आरोपमा पक्राउ गरी विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत मुद्दा चलाएको थियो । मानहानिसम्बन्धी सामग्रीको मूल स्रोतमाथि कारबाही नगरी व्यक्ति छानेर पक्राउ गर्ने र मुद्दा चलाउने प्रवृत्ति महाशाखाले यो घटनामा पनि देखाएको थियो ।


सिग्देल पक्राउका बेला प्रधानमन्त्रीको मानहानि हुने तस्बिर पोस्ट गर्ने व्यक्तिको खोजी भइरहेको बताए पनि महाशाखाले सुरुमा उक्त तस्बिर पोस्ट गर्ने कसैलाई पक्राउ गरेन । सिग्देल काठमाडौं जिल्ला अदालतको आदेशमा एक लाख धरौटी बुझाएर भदौ २२ गते छुटे ।

प्रकाशित : जेष्ठ ६, २०७६ १९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?