कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

सडक दस्तुर संकलन केन्द्रमा आगजनी

चितवन — सडक बोर्डले भरतपुरमा राखेको सडक दस्तुर संकलन केन्द्रमा प्रहरीसमेत घाइते हुने गरेर शुक्रबार आगजनी गरिएपछि पूर्वी चितवनका व्यवसायी गिरफ्तार भएका छन् । 

आगजनीलगत्तै प्रहरीले रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेबान) सौराहाका अध्यक्ष गोकर्ण गिरीलाई पक्राउ गरेको हो । प्रहरीले रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीलाई शनिबार प्रहरीले सोधपुछ गरेको छ ।

रत्ननगर उद्योग वाणिज्य संघले कर संकलन केन्द्र भरतपुरमा नभएर जिल्लाको सिमानामा राख्नुपर्ने माग गर्दै आएको थियो । संघले बुधबार मात्रै उक्त माग राखेर जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको थियो । त्यसको दुई दिनपछि नै कर संकलन केन्द्रमा आगजनी भएको हो । जसमा प्रहरी सहायक निरीक्षक (असइ) कल्पना खडका पौडेल आगोले जलेर गम्भीर घाइते भएकी छन् ।

घाइते कल्पनाको भरतपुरस्थित चितवन मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचार भइरहेको छ । 'कर दिने नदिने भन्नेमा विवाद हुँदै गर्दा केही व्यक्तिले पेट्रोल छर्के । आगो नलगाउनुस् भनेर अनुरोध गर्दै थिएँ, उनीहरूले टेरेनन्, आगोको लप्काले मलाई छोयो,' असइ कल्पनाले सुनाइन् । उनको खुट्टा, हात र च्यापुमा आगोले पोलेको छ ।


सडक कर उठाउने पुरानो ठेकेदारको समय वैशाख मसान्तमा सकिएको थियो । त्यसपछि बि्रटानिक मौलाकालिका कन्स्ट्रक्सन प्रालिले कर उठाउन सुरु गरेको थियो । प्रालिका अध्यक्ष अमृत भट्टचनका अनुसार ६ करोड ५१ हजार रुपैयाँ बुझाउने सर्त कबुल गरेका कारण प्रालिलाई उक्त ठेक्का परेको हो । भरतपुरमा संकलन केन्द्र राख्दा पूर्वी चितवनवासीलाई मर्का पर्ने रत्ननगर उवा संघको जिकिर छ ।

पूर्वी चितवनका बासिन्दाले सदरमुकाम भरतपुर आउजाउ गर्ने बेला गोन्द्राङमा कर बुझाउँदा भएको मर्का हटाउन पुल्चोक वा राप्तीको लोथरमा कर संकलन केन्द्र राख्न माग गर्दै रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीले ज्ञापनपत्र बुझाएका थिए । कर संकलन केन्द्र जिल्लाको सीमा क्षेत्रमा राख्ने विषयमा ०६८ साउनमै सहमति भएको उवा संघले जनाएको छ ।

कर संकलन केन्द्र परिवर्तन नभए चरणबद्ध आन्दोलन गर्ने भनेर रत्ननगर उवा संघले चेतावनी दिएको थियो । त्यही बीचमा केन्द्रमा आगजनी भएको छ । ब्रिटानिक मौलाकालिका कन्स्ट्रक्सन प्रालिका अध्यक्ष अमृत भट्टचनले चार लाख रुपैयाँ पनि हराएको दाबी गरे । उवा संघको माग सम्बोधन गर्ने विषयमा आफू सकारात्मक हुँदाहुँदै पनि आगजनी गराइएको उनले बताए ।

'मोटरसाइकललाई कर नलिने र उवा संघले जारी गरेको परिचयपत्र राख्ने निजी गाडी धनीलाई पनि दस्तुर नलिने पहिलाको नियम रहेछ । सरकारले हामीलाई सबैसँग कर लिनु भनेर पठाएको हो । पुरानो नियमका विषयमा जानकारी भएपछि म यो के कसरी हुन्छ, हल गर्न लागेकै थिएँ,' भट्टचनले भने । उवा संघ र चितवन प्रशासनको पत्र बोकेर काठमाडौं गएका बेला घटना भएको उनले बताए ।

'छुटका विषयमा मन्त्रालयका सचिव र सडक बोर्डका निर्देशकसँग कुरा गर्न भनेर काठमाडौं गएको थिएँ,' भट्टचनले भने, 'संकलन केन्द्र सरकारले जहाँ राख भन्छ, म त्यहीँ राख्न तयार छु ।' समस्या समाधानतर्फ गइरहेका बेला अचानक आगजनी भएको उनले बताए ।

आगजनीका विषयमा आफूहरू जानकार नभएको रत्ननगर उवा संघका अध्यक्ष रेग्मी बताउँछन् । 'संकलन केन्द्र राख्ने स्थानका विषयमा हाम्रो असहमति थियो । त्यो ठाउँमा हुनु हुँदैन भन्ने अडानमा कायमै छौं । तर आगजनी गरेका होइनौं,' उनले भने । शुक्रबार आगजनीको घटना हुँदा रेग्मी पनि त्यहीँ थिए । 'हामी दासढुंगामा आयोजित कार्यक्रममा सहभागी भएर र्फकंदै गर्दा गोन्द्राङमा कर लिने विषयमा भनाभन जस्तो भयो । हामी पनि त्यहीँ भएका बेला चिन्दै नचिनिएका व्यक्तिले पेट्रोल फालेर आगो लगाए,' रेग्मीले भने ।

आगजनी गर्नेलाई कारबाही हुनुपर्ने आफ्नो पनि माग रहेको उनले बताए । प्रहरीले गिरफ्तार गरेका गोकर्ण गिरी पनि घटनामा संलग्न नभएको उनको भनाइ छ ।

प्रकाशित : जेष्ठ ५, २०७६ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?