कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

‘स्नोब्लाइन्डनेस’ र ‘फ्रस्टबाइट’ ले कञ्चनजंघामा २ भारतीयको मृत्यु !

आरोहण क्रममा मृत्यु भएका विप्लव वैद्य र कुंतल करार
सुरज कुँवर

काठमाडौँ — विश्वकै तेस्रो अग्लो हिमाल कञ्चनजंघा आरोहण क्रममा दुई भारतीय आरोहीको बुधबार राति मृत्यु भएको छ । काठमाडौंस्थित पिक प्रमोसन प्रालिको व्यवस्थापनमा त्यसतर्फ गएका पश्चिम बंगाल, कोलकाताका ४८ वर्षीय विप्लव वैद्य र ४६ वर्षीय कुंतल करारको मृत्यु भएको हो ।

‘स्नोब्लाइन्डनेस’ र ‘फ्रस्टबाइट’ ले कञ्चनजंघामा २ भारतीयको मृत्यु !

पिक प्रमोसनका निर्देशक पासाङ शेर्पाका अनुसार आरोहण गर्ने क्रममा ८ हजार मिटर उचाइ आसपासमा कुंतलको मृत्यु भएको थियो भने आरोहण सकेर फर्किने क्रममा विप्लवको मृत्यु भएको हो । उनीहरूको मृत्युको कारण ‘स्नोब्लाइन्डनेस’ र ‘फ्रस्टबाइट’ अनुमान गरिएको छ ।

कम्पनीले उनीहरूको शव शेर्पा गाइडहरूको सहायतामा शनिबार आधार शिविरमा झार्ने तयारी गरिरहेको जनाएको छ । दुवैले गत वर्ष सगरमाथा आरोहण गरेका थिए । यस कम्पनीका २८ जना शेर्पा अहिले कञ्चनजंघामा खटिएका छन् ।

पिक प्रमोसनबाट यस सिजनका लागि चारवटा दलले पर्यटन विभागबाट कञ्चनजंघा आरोहणका लागि अनुमति लिएका थिए । यिनमा २३ जना सदस्य थिए । ‘२३ मध्ये २० जना आरोही चुचुरामा पुग्न सके,’ निर्देशक शेर्पाले भने, ‘यीमध्ये एक भारतीयको फर्किने क्रममा मृत्यु भयो भने अर्का एक चिलियन फर्किने क्रममै बेपत्ता भए ।’

आरोहण सकेर फर्किने क्रममा स्नोब्लाइन्डनेस र फ्रस्टबाइटका कारण बिरामी परेका दुई भारतीय आरोही रुद्र हलदर र रमेश रोय दोस्रो शिविरमा र जर्मन आरोही फ्रयांक इरनिक तेस्रो शिविरमा छन् ।

उनीहरूलाई उद्धार गर्न बिहीबार काठमाडौंबाट कैलाश सर्भिसेसको हेलिकप्टर गएको थियो तर उद्धार गर्न नसकेर ताप्लेजुङस्थित सुकेटार विमानस्थलमा फर्किएको कैलाशका निर्देशक ईश्वरी पौडेलले बताए । ‘मौसमका कारण हेलिकप्टर दिनभर कञ्चनजंघा आसपास उडायौं । इन्धन सकिएपछि अर्को हेलिकप्टरले काठमाडौंबाट इन्धन ओसार्‍यो,’ पौडेलले भने ।

शुक्रबार मौसममा सुधार भए भारतीय बिरामी आरोहीलाई कैलाशको हेलिकप्टरले उद्धार गर्नेछ भने जर्मन नागरिकलाई श्री एयरलाइन्सको हेलिकप्टरले उद्धार गर्दै छ । चारवटा आरोहण दलमध्ये ‘पिक प्रमोसन कञ्चनजंघा एक्सपिडिसन २०१९’ नामको आरोहण दलमा मात्रै नौ जना सदस्य थिए । यस टोलीका लागि खटाइएकी सम्पर्क अधिकृत रचना प्रधानका अनुसार भारतीय नागरिक भगवान बिखवा चाउलाको नेतृत्वको टोली चैत अन्तिम साता कञ्चनजंघा आरोहणका लागि काठमाडौंबाट गएको थियो ।

आरोहण दलमा रहेका दक्षिण अमेरिकी मुलुक चिलीका नागरिक रोड्रिगो भिभ्यान्को हराइरहेका छन् । प्रधानका अनुसार उनले ‘मैले आरोहण सकेँ, फर्किंदै छु’ भनेका थिए । त्यसपछि उनको सेटलाइट डिभाइस अफ भएको थियो ।’

८ हजार ५ सय ६८ मिटर अग्लो कञ्चनजंघा हिमाल आरोहणका लागि यस सिजनमा ३२ विदेशी र २ नेपालीसहित ३४ जनाले अनुमति लिएका थिए ।


प्रकाशित : जेष्ठ ३, २०७६ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?