१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

नेकपाको भ्रातृसंगठनमा भागबन्डा 

सबैमा संयोजक र सहसंयोजक तोकिए, घोषणा आज

काठमाडौँ — नेकपाले पार्टीका भातृसंगठनको नेतृत्व टुंग्याएको छ । सचिवालयको बिहीबारको बैठकले संयोजक र सहसंयोजकको नाम टुंगो लगाएको हो । पार्टी एकता एक वर्ष पुगेको अवसरमा शुक्रबार हुने कार्यक्रममा उनीहरूको नाम घोषणा गरिनेछ । 

नेकपाको भ्रातृसंगठनमा भागबन्डा 

पूर्वएमाले र पूर्वमाओवादी केन्द्रबीच संयोजक र सहसंयोजकको भागबन्डा गरिएको हो । दुवै पक्षका तत्कालीन अध्यक्षहरूलाई संयोजक र सहसंयोजकको जिम्मेवारी दिने विधि तय गरिएको छ । नेकपाका नेताहरूका अनुसार सबैभन्दा ठूला संगठन विद्यार्थी र युवामा कसको नेतृत्व हुने भन्नेमा दुवै पक्षबीच लामो समयसम्म रसाकस्सी चलेको थियो ।


बिहीबारको बैठकले विद्यार्थी संगठन तत्कालीन एमाले र युवा संगठन माओवादी पक्षले लिने सहमति भएसँगै सबै संगठनहरूको नेतृत्वमा सहमति हुने वातावरण बनेको नेकपाका एक नेताले बताए । बिहीबार भएको सहमति शुक्रबार बिहानसम्म नउल्टिए विद्यार्थी संगठन अनेरास्ववियुको संयोजकमा ऐन महर र सहसंयोजकमा रञ्जित तामाङ हुनेछन् ।


तामाङ माओवादी पक्षका अध्यक्ष थिए । महर एमाले निकट विद्यार्थीको महासचिव थिए । महासचिवलाई संयोजक बनाइएको भन्दै तामाङले असन्तुष्टि प्रकट गरेका छन् ।


युवा संगठनमा माओवादी पक्षले लिएसँगै तत्कालीन वाईसीएलका अध्यक्ष रामप्रसाद सापकोटा संयोजक भएका छन्, सहसंयोजकमा रमेश पौडेल छन् । महिला संगठनको संयोजक अमृता थापा र सहसंयोजक सीता पौडेल चयन भएका छन् ।


मजुदर संगठनको संयोजकमा विनोद श्रेष्ठ र सहसंयोजकमा जगत सिम्खडा, बुद्धिजीवी संगठनमा दिनेशचन्द्र देवकोटा संयोजक र कृष्ण केसी सहसंयोजक तोकिएका छन् । किसान महासंघका बामदेव गौतम संयोजक र चित्रबहादुर श्रेष्ठ सहसंयोजक बनेका छन् ।


त्यस्तै जनसांस्कृतिक महासंघमा खगेन्द्र राई र सहसंयोजकमा सरल सहयात्री तोकिएका छन् । मुस्लिम संगठनमा सिराज मोहम्मत फारुकी संयोजक, अतहर हुसेन सहसंयोजक, पेसागत महासंघमा विश्वनाथ प्याकुरेल संयोजक, ईश्वरी भण्डारी सहसंयोजक, पत्रकारहरूको संगठनमा महेश्वर दाहाल संयोजक, गणेश बस्नेत सहसंयोजक, दलित संगठनमा तिलक परियार संयोजक तोकिएका छन् ।


ओमबहादुर विश्वकर्मा सहसंयोजक, निर्माण व्यवसायी संगठनमा यज्ञध्वज कार्की संयोजक, शिवप्रसाद चौलागाईं सहसंयोजक, आदिवासी जनजाति संगठनमा सुरेश आले मगर संयोजक र शेरबहादुर तामाङ सहसंयोजक, खेलकुद महासंघमा पुरुषोत्तम पौडेल संयोजक र शिव कोइराला सहसंयोजक चयन भएका छन् ।


अपांगता संगठन संयोजकमा इन्द्रमाया गुरुङ र सहसंयोजकमा रामप्रसाद ढुंगाना तोकिएका छन् । उद्योग व्यवसायी संगठनमा लक्ष्मीदास मानन्धर संयोजक, श्याम पाठक सहसंयोजक चयन भएका छन् ।


प्रवासी मञ्चमा लोकनाथ भण्डारी संयोजक, ईश्वरी भण्डारी सहसंयोजक र सुकुम्बासी संगठनमा रामप्रित पासवान संयोजक र पदम देवकोटा सहसंयोजक तोकिएका छन् । भूपू प्रहरीमा धनबहादुर चन्द संयोजक तोकिएका छन् ।


इन्जिनियर, मानव अधिकार र कानुन संगठनमा यसअघि नै एकता भइसकेको छ । इन्जिनियरमा शम्भुबहादुर श्रेष्ठ संयोजक र हरि पराजुली सहसंयोजक, मानव अधिकारमा मीनबहादुर शाही संयोजक र हुकुम पोखरेल सहसंयोजक, कानुन व्यवसायीमा रुद्र नेपाल संयोजक र दीनमणि पोखरेल सहसंयोजक छन् ।

प्रकाशित : जेष्ठ ३, २०७६ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?