एसिडपीडित युवतीकाे अवस्था गम्भीर

फातिमा बानु

काठमाडौँ — एसिड आक्रमणमा परेकी २० वर्षीया जेनी खड्काको अवस्था चिन्ताजनक छ । बुधबार राति ८ बजे एसिड आक्रमणलगत्तै उनलाई चाबहिलको ओम अस्पताल पुर्‌याइएको थियो ।

ओममा जलेका बिरामीको उपचार सम्भव नहुने भएकाले राति नै उनलाई किर्तिपुर अस्पताल लगिएकाे थियो। अहिलेसम्म उनी बोल्न, खान नसक्ने अवस्थामा छिन्।

राजधानीको कालोपुलमा आमा र बहिनीसँग डेरा गरी बस्ने खड्कामाथि बुधबार एसिड प्रहार भएको थियाे।

उपचारमा संलग्न चिकित्सक डा. अपार लामिछानेका अनुसार अस्पताल पुर्‌याउँदा उनको अवस्था सामान्य भए पनि अहिले चिन्ताजनकबनेकाे छ। एसिडले उनको शरीरको १५ प्रतिशत भाग जलेको छ। जलेका घाउ गहिरा छन्। विषेशगरी घाँटी, टाउको पछाडिको भाग र अनुहार प्रभावित छ। दुबै हातमा पनि एसिडका छिटाहरू परेका छन्।

'एसिडका मुख्य असर तत्कालै देखिदैनन्। घाउ गहिरिदै जान सक्छन्,'डा. लामिछानेले भने। उनका अनुसार एसिडमा मिसिएका हानिकारक रसायन बिस्तारै रगत र शरीरका भित्री भागसम्म फैलिन्छन् र बिरामीको अवस्था गम्भिर बनाइदिन्छ।

उपचारमा संलग्न बर्न तथा प्लाष्टिक सर्जन डा. कृष्णकुमार नगरकोटीले १५ प्रतिशत जल्नुलाई जोखिम मानिने बताए। मृत्यु हुने सम्भावना कम भएपनि उपचार लामो र खर्चिलो हुन्छ। बिरामीलाई पहिलेको अवस्थामा ल्याउन सकिदैँन। उनी भन्छन्, 'कम ठाउँमा एसिड लागेको भए पनि घाउको अवस्था हेर्दा खतरा नै छ। हामीले अहिले जलेका भागको घाउ सफा गर्ने खालको उपचार गरिरहेका छौं। जलेर मरेका 'टिस्यु' काटेर फालेका छौं।' काटेर नफाले एसिड परेका मांशपेशी कुहिन्छन्। जसले शरीरभरि संक्रमण फैलिन सक्ने उनले बताए।

प्रकाशित : जेष्ठ २, २०७६ १९:५८
प्रतिक्रिया
पठाउनुहोस्

यौनिक अल्पसंख्यकलाई उपचारमा विभेद

फातिमा बानु

काठमाडौँ — अस्पतालका सेवा मैत्रीपूर्ण नहुँदा यौनिक अल्पसंख्यक समुदायका बिरामीलाई उपचार कठिन भइरहेको छ । उपचार सेवा सहज नहुँदा उनीहरू रोग लुकाएर बस्न बाध्य छन् । यस्तै एक उदाहरण हुन्- पोखराका ४६ वर्षीय एक ‘परलिंगी पुरुष’ ।

जन्मँदा महिला भए पनि अहिले उनको जीवनयापन पुरुषजस्तो छ तर स्वास्थ्य समस्या महिलाझैं छन् । पाठेघरको मुखमा मासु पलाएको छ । उनी भन्छन्, ‘उपचारका लागि काठमाडौंको धेरै अस्पताल गएँ । डाक्टरले अनावश्यक प्रश्न गर्न थालेपछि अस्पताल जानै छोडेँ ।’

उपचारमा संलग्न व्यक्तिले अनेक प्रश्नहरू सोधेको उनलाई मन पर्दैन । ‘केटी भएर केटीसँग कसरी शारीरिक सम्बन्ध राख्नुहुन्छ ? पार्टनर पाउन सजिलो छ कि छैन ?’ जस्ता उपचारसँग सम्बन्धित नभएको प्रश्न सोध्दा मनमा चोट लाग्ने उनले बताइन् । यस्ता प्रश्नको जवाफ दिनुपर्ला भनेर उनी अस्पतालजान छोडिसके ।

अर्को उदाहरण हुन्- राजधानीका एक २८ वर्षीया ‘परलिंगी पुरुष’ । जन्मिँदा महिला भएर जन्मेका उनको जीवनयापन पुरुषजस्तो छ । केही समयअघि उनी र्‍यालीमा हिँड्दाहिँड्दै लडेर बेहोस भए । हतारहतार उनलाई चाबहिलको ओम अस्पताल पुर्‍याइयो ।

पहिरन पुरुषको अंग र आवाज महिलाको जस्तो भएपछि चिकित्सक उनको उपचार गर्न हिच्किचाए । के गर्ने कसो गर्ने भन्ने अन्योलताले समयमा उपचार हुन सकेन । यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरू एकजुट भएर यसबारे अस्पताल प्रशासनलाई सम्झाइदिएपछि मात्रै उनलेउपचार पाए ।

दाङका एक २५ वर्षीय ‘परलिंगी’ पुरुष जन्मँदा महिला थिए । भावनाले पुरुष भए पनि शारीरिक बनावट महिलाजस्तो छ । पुरुषजस्तो देखिनका लागि उनी स्तन लुकाउने अनेक उपाय लगाउँछन् । जहिले पनि ज्याकेट लगाउने, स्तन दबिने गरी कसेर ब्यान्डेज लगाउने । स्तन थिचिएर सासै फेर्न मुस्किल हुँदा पनि उनी यस्तो गर्न छोड्दैनन् । उनी भन्छन्, ‘स्तनलाई सधंैभरि दबाएर राख्दा क्यान्सरसम्म हुन सक्छ रे । म शल्यक्रिया गरेर स्तन हटाउन चाहन्छु ।’ नेपालमा स्तन हटाउने शल्यक्रिया महँगो हुँदा उनले उपचार गर्न पाएका छैनन् ।

राजधानीका २२ वर्षीय एक ‘परलिंगी’ पुरुष जन्मिँदा महिला थिए । शरीर महिलाकै भएका कारण उनी महिनावारी हुन्छन् । यो उनलाई मन पर्दैन । हरेक महिना महिनावारी रोक्ने औषधि खान्छन् । उनी भन्छन्, ‘यस्तो औषधि सधंै खाँदा पाठेघरमा अरू समस्या आउँदो रहेछ । यसबारे अस्पतालमा परामर्श लिन जाँदा राम्रो व्यवहार गर्दैनन्, यस्तो किन गर्नुपर्‍यो भनेर हप्काउँछन् ।’ राम्रो परामर्श नपाएकै कारण उनी आफ्नै हिसाबले औषधि सेवन गरिरहेका छन् ।

कुनै समय विश्वमै रोग मानिने समलिंगी, अन्तरलिंगीलाई एक दशकअघि विश्व स्वास्थ्य संगठनले यसलाई रोग नभएको घोषणा गरिसक्यो । स्वास्थ्यकर्मीबाट उपचार विभेद हुने समस्या भने यथावत् रहेको प्रभावित बताउँछन् । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ ले प्रत्येक महिला तथा किशोरीलाई प्रजनन् स्वास्थ्यसम्बन्धी परामर्श र सेवा पाउने व्यवस्था गरेको छ ।

ऐनको परिच्छेद ८ अनुसार कसैको लिंग, समुदाय या शारीरिक अवस्थाका आधारमा कुनै भेदभाव नगरी प्रजनन् स्वास्थ्य सेवा दिनुपर्ने उल्लेख भए पनि यो व्यवहारमा लागू छैन । महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्य गर्ने महासन्धि (सीड) ले पनि यौनिक अल्पसंख्यक समुदायका ‘परलिंगी’ महिलामाथि स्वास्थ्य प्रदायकद्वारा हुने भेदभावको अन्त्य गर्नुपर्ने सुझाव दिएको छ ।

गोपनीयतामा सुनिश्चता हुन नसक्दा उनीहरू उपचार गर्न असजिलो मान्छन् । जन्मँदा महिला र पुरुषझैं जीवनयापन गर्नेले स्तन र पाठेघरसम्बन्धी समस्या भोग्दै आइरहेका छन् । यस्ता रोगमा राज्यले निःशुल्क उपचार दिँदै आए पनि यसमा उनीहरूको पहुँच पुग्न सकेको छैन । यौनरोग र एचआईभीको संक्रमण खेप्नेमा पनि यही समुदायको बाहुल्य छ । सम्मानपूर्वक उपचार सेवा नभएका कारण उनीहरू नियमित उपचारमा जाँदैनन् ।

प्राकृतिक रूपमा फरक भएर जन्मिने यस्तो समुदायका व्यक्तिलाई समाजमा अप्राकृतिक र विकृति मानिने मानसिकता हट्न नसकेको यौनिक अल्पसंख्यकका लागि काम गर्दै आइरहेकी सरिता केसी बताउँछिन् । उनी भन्छिन्, ‘इज्जत र प्रतिष्ठा गुम्ने डरका कारण घरपरिवारले त हिंसा गरेकै छन् । उपचारमा समेत विभेद हुँदा उनीहरूको मानवअधिकार हनन् भएको छ ।’ यौनिक तथा लैंगिक अल्पसंख्यक महासंघको तथ्यांकअनुसार नेपालमा यस्ता व्यक्तिको जनसंख्या करिब९ लाख छ ।

प्रकाशित : जेष्ठ १, २०७६ ०८:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्