१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

एसिडपीडित युवतीकाे अवस्था गम्भीर

फातिमा बानु

काठमाडौँ — एसिड आक्रमणमा परेकी २० वर्षीया जेनी खड्काको अवस्था चिन्ताजनक छ । बुधबार राति ८ बजे एसिड आक्रमणलगत्तै उनलाई चाबहिलको ओम अस्पताल पुर्‌याइएको थियो ।

एसिडपीडित युवतीकाे अवस्था गम्भीर

ओममा जलेका बिरामीको उपचार सम्भव नहुने भएकाले राति नै उनलाई किर्तिपुर अस्पताल लगिएकाे थियो । अहिलेसम्म उनी बोल्न, खान नसक्ने अवस्थामा छिन् ।

राजधानीको कालोपुलमा आमा र बहिनीसँग डेरा गरी बस्ने खड्कामाथि बुधबार एसिड प्रहार भएको थियाे।

उपचारमा संलग्न चिकित्सक डा. अपार लामिछानेका अनुसार अस्पताल पुर्‌याउँदा उनको अवस्था सामान्य भए पनि अहिले चिन्ताजनक बनेकाे छ । एसिडले उनको शरीरको १५ प्रतिशत भाग जलेको छ । जलेका घाउ गहिरा छन् । विषेशगरी घाँटी, टाउको पछाडिको भाग र अनुहार प्रभावित छ । दुबै हातमा पनि एसिडका छिटाहरू परेका छन् ।

'एसिडका मुख्य असर तत्कालै देखिदैनन् । घाउ गहिरिदै जान सक्छन्,' डा. लामिछानेले भने । उनका अनुसार एसिडमा मिसिएका हानिकारक रसायन बिस्तारै रगत र शरीरका भित्री भागसम्म फैलिन्छन् र बिरामीको अवस्था गम्भिर बनाइदिन्छ ।


उपचारमा संलग्न बर्न तथा प्लाष्टिक सर्जन डा. कृष्णकुमार नगरकोटीले १५ प्रतिशत जल्नुलाई जोखिम मानिने बताए । मृत्यु हुने सम्भावना कम भएपनि उपचार लामो र खर्चिलो हुन्छ । बिरामीलाई पहिलेको अवस्थामा ल्याउन सकिदैँन । उनी भन्छन्, 'कम ठाउँमा एसिड लागेको भए पनि घाउको अवस्था हेर्दा खतरा नै छ । हामीले अहिले जलेका भागको घाउ सफा गर्ने खालको उपचार गरिरहेका छौं । जलेर मरेका 'टिस्यु' काटेर फालेका छौं ।' काटेर नफाले एसिड परेका मांशपेशी कुहिन्छन् । जसले शरीरभरि संक्रमण फैलिन सक्ने उनले बताए ।

प्रकाशित : जेष्ठ २, २०७६ १९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?