झाडापखालाले एकै गाउँमा ९४ बिरामी

माधव अर्याल

पाल्पा — तिनाउ गाउँपालिका-४, बौरीडाँडामा झाडापखालाबाट ९४ जना बिरामी भएका छन् । ११ जनाको अवस्था गम्भीर छ । स्थानीयका अनुसार बिहीबार बिहानैदेखि गाउँमा झाडा र बान्ता फैलिएको थियो ।

बुधबार गाउँकै सिमबहादुर ठाडाको घरमा मृत्यु भएको १३ दिनको चोखिने क्रममा खाना खाएकाहरु बढी बिरामी परेका छन् । त्यहाँ बटुक, अचार लगायतका खाना खाएकाहरु बिरामी परेको स्थानीयले बताए ।

गम्भीर भएका ११ जनाको लुम्बिनी मेडिकल कलेजमा उपचार भएको छ । बिरामीलाई गाउँकै सडक छेउका टहरा, बारी, सडकमा राखेर उपचार गरिएको छ । सामान्य बिरामीलाई घरमा उपचार गरिएको छ । सदरमुकाम तानसेनबाट उपचारका लागि पुगेको स्वास्थ्यकर्मीको टोली फर्किएको छ । स्थानीय स्वास्थ्यकर्मी र दोभानबाट खटिएका प्रहरीले झाडापखाला प्रभावित गाउँमा बिरामी निगरानी गरिरहेका छन् । 'आत्तिनेलाई स्लाइन पानी चढाइएको छ,' कोलडाँडा स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी हरिजले भने, 'गाउँमा सबैलाई नआत्तिन आग्रह गरको छ ।'

उनले सदरमुकामबाट गाउँ पुगेका सबै स्वास्थ्यकर्मी फर्किकाले एक्लै खटिनुपरेको गुनासो गरे । उनी स्वास्थ्य इकाईमा कार्यरत सहयोगीका साथ बिरामीलाई हेरचार गरेर बसेका छन् ।
गाउँमा बुधबार राति नै केहीलाई झाडा र बान्ता भएको थियो । बिहीबार बिहान १० बजेपछि गाउँका धेरै जना बिरामी परेर अत्तालिएका थिए । बिरामी भएकाहरु कतिपय घरमै औषधि खाने, जीवनजल बनाएर त्यसलाई पिएर बसेका छन् । 'मान्छे मृत्यु भएको १३ औं दिनको पुण्यतिथिमा खाएको खानाबाट गाउँभरि झाडापखाला फैलिएको आशंका गरिएको छ,' स्थानीय देवसिंह थापाले भने ।

बिरमीहरुमा झाडा वान्ता, ज्वरो आउने, कमजोरी हुने, आत्तिने लक्षण देखिएको छ । उपचारका लागि गाउँपालिकाको समन्वयमा स्वास्थ्य शाखा सहित जिल्ला अस्पतालको टोली पुगेको थियो । तिनाउ दोभानका स्वास्थ्यकर्मी सुन्दर तरामुले झाडाबान्ता नियन्त्रणमा आउने विश्वास व्यक्त गरे । सदरमुकाम तानसेनबाट ३४ किलोमिटर दक्षिणमा रहेको बौरीडाँडा गाउँ पुग्न राजमार्गको २४ माइलबाट सातकिलोमिटर पूर्व जानुपर्छ ।

प्रकाशित : जेष्ठ २, २०७६ १८:४५
प्रतिक्रिया
पठाउनुहोस्

चट्याङले २८ भेडा मारिए 

कान्तिपुर संवाददाता

लमजुङ — दूधपोखरी गाउँपालिका-१ मलेयाडाँडा लेकको घुम्ती गोठमा चट्याङ पर्दा २८ वटा भेडा मरेका छन् । गत बैशाख २८ परेको चट्याङले रुख ढाल्नुका साथै भेडा मारेको किसानले बताएका छन् । घटनामा साढे ५ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।  

लमजुङको दूधपोखरी गाउँपालिका १ को लेक मलेया डाँडामा चट्याङले मारेका भेडा ।

लेकमा दूधपोखरी- ६ र दोर्दी- ५ का किसानले पतिपुरे सामुदायिक भेडापालन समूह गठन गरी सामूहिक रुपमा घुम्ती गोठ बनाएर भेडा पालेका छन्।

घटनास्थलमा प्राविधिक तथा भेडापालक किसान मंगलबारमात्रै पुगेका थिए। दूधपोखरी गाउँपालिकाको पशु सेवा शाखाका प्राविधिक दीनेश गुरुङका अनुसार भेडा मरेको खबर पाएपछि टोली त्यसतर्फ गएको हो।

दोर्दीका पशु स्वास्थ्य प्राविधिक विनोदप्रसाद कट्टेल र भेडापालन समूहका १३ किसान एक दिनको बाटो पैदल हिँडेर भेडीगोठ पुगेका थिए।

दोर्दीका किसान दूरजंग गुरुङका अनुसार गोठमा ५ सय ५० भेडा र सय वटाभन्दा बढी बाख्रा थिए। गोठमा दूधपोखरी गाउँपालिका ६ को ओखरी, भीरकुना, साल्मे साथै दोर्दी गाउँपालिका ५ को पाचोक, सिम्रुङ लगायत गाउँका २५ जनाका भेडा थिए।

प्रकाशित : जेष्ठ २, २०७६ १८:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्