अख्तियारको सञ्चार विज्ञमा अधिकारी

कान्तिपुर संवाददाता

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाे सञ्चार विज्ञमा पत्रकार शरद अधिकारी नियुक्त भएका छन् । आफ्नो जनसम्पर्क तथा सञ्चारलाई फराकिलो बनाउने उद्देश्यका साथ उनलाई सञ्चार विज्ञमा नियुक्त गर्ने निर्णय गरेको आयोगले जनाएको छ । 

राष्ट्रिय सुरक्षा लगायत मानवीय अभिरुचिका विषयमा अधिकारी दुई दशकदेखि पत्रकारितामा छन्। उनी यसअघि राष्ट्रिय प्रकृति संरक्षण कोषमा जनसम्पर्क अधिकृतका रुपमा कार्यरत थिए। अधिकारी पछिल्लो समय बारबरा फाउन्डेसनमा निर्देशकका रुपमा समेत कार्यरत थिए।

प्रकाशित : जेष्ठ २, २०७६ १८:०८
प्रतिक्रिया
पठाउनुहोस्

हेलिकोप्टरमै जन्मियो मृत शिशु (अपडेट)

हरि गौतम

रुकुम पूर्व — तीन दिनदेखि व्यथाले सुत्केरी हुन नसकेर हेलिकोप्टरबाट उद्धार गरिएकी महिलाले हेलिकोप्टरमै मृत शिशु जन्माएकी छिन् ।  

पुथाउत्तगंगा गाउँपालिका-८, चारगाउँकी १६ वर्षीया मिलना मल्ललाई व्यथा लागेको लामो समयसम्म बच्चा नजन्मेपछि हेलिकोप्टर मार्फत उद्दार गरिएको थियो । हेलिकोप्टरमै मरेको बच्चा जन्मेको गाउँपालिका उपाध्यक्ष ओमकुमारी शाही मल्लले बताइन् ।

हेलिकोप्टर दाङ घोराहीको आसपास पुगेको बेला मरेको बच्चा जन्मेको उपाध्यक्ष मल्लले बताइन् । सुत्केरी र उनका आफन्तलाई हेलिकोप्टरले नेपालगञ्ज विमान स्थलमा छाडेको थियो ।सुत्केरीको अवस्था सामान्य नै रहेको र आवश्यक उपचारको लागि अस्पताल लैजाने तयारी गरिरहेको उपाध्यक्ष मल्लले बताइन् ।

सुत्केरी व्यथा लागेको लामो समयसम्म बच्चा नजन्मेपछि जिल्ला प्रशासन कार्यालयको पहलमा हेलिकोप्टरमार्फत गर्भवतीको उद्धार गरिएको थियो ।


......................................
तीन दिनदेखि व्यथा लागेर पनि सुत्केरी हुन नसकेकी एक किशोरीको हेलिकोप्टरबाट उद्धार गरिएको छ । पुथाउत्तरगंगा गाउँपालिका-८ चारगाउँकी १६ वर्षीया मलिना मल्ललाई सेनाको हेलिकोप्टरमार्फत नेपालगञ्ज लगिएको हो ।

व्यथा लागेको तीनदिनसम्म पनि बच्चा नजन्मेपछि आफन्तले जिल्ला प्रशासन कार्यालयमा खबर गरेका थिए।

व्यथाको लागेको तीनदिन भएको खबर आएपछि हेलिकोप्टर मगाउने पहल गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी श्रवणकुमार साहले बताए। 'बिहीबार दिउँसो १२ बजे मात्रै हामीलाई खबर आयो, लगत्तै गृह र महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा कोर्डिनेट गरी नेपाली सेनाको हेलिकोप्टरमार्फत गर्भवतीको उद्धार गरियो' निमित्त प्रजिअ साहले भने। उनलाई सासु, श्रीमानसहित हेलिकोप्टरमार्फत नेपालगञ्ज पुर्‍याइएको उनले बताए।

तीनदिनअघि सुत्केरी व्यथा सुरु भएपछि उनीहरु स्थानीय स्वास्थ्य चौकीमा गएका थिए। बच्चा नजन्मेपछि स्वास्थकर्मीले पनि अन्यत्रै लैजान सुझाव दिएका थिए। एकसाता अघि मलिनाले गाउँमै आयोजना गरिएको स्वास्थ्य शिविमा गर्भ जाँच गराएकी थिइन्।

गर्भ जाँचको क्रममा डाक्टरले पेटको बच्चा उल्टो भएकाले सुविधा सम्पन्न ठाउँमा लैजान सुझाव दिएका थिए। आर्थिक अभाव वा अन्य कुनै कारणले उनीहरु घरमै बस्दा समस्या आइपरेको निमित्त प्रजिअ साहले बताए।

प्रकाशित : जेष्ठ २, २०७६ १७:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्