माथिल्लो त्रिशूली 'थ्री ए' को ३० मेगावाट विद्युत उत्पादन सुरु

कान्तिपुर संवाददाता

काठमाडौँ — रसुवा र नुवाकोटमा निर्माण भएको माथिल्लो त्रिशूली 'थ्री ए' आयोजनाले ३० मेगावाट विद्युत उत्पादन थालेको छ । कूल जडित क्षमता ६० मेगावाट भएको आयोजनाले पहिलो यूनिटबाट विद्युत उत्पादन थालेको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिहीबार बिहान स्वीच थिचेर आयोजनाको विद्युत उत्पादन सुरुवात गरेका हुन् । आयोजनाको दोस्रो यूनिटको काम असारभित्र सक्ने लक्ष्य छ ।

९ वर्षअघि निर्माण सुरु भएको आयोजना भूकम्प, क्षमता बढाउने विवाद लगायतका कारणले ढिला भएको थियो ।

आयोजनाको विद्युत् सिम्लेमा रहेको विद्युत् गृहबाट २२० केभी डबल सर्किट प्रसारण लाइनमार्फत् काठमाडौंको मातातीर्थ स्थित सबस्टेसनमा जोडिएको छ । शुक्रबार साँझ ५ बजेबाट पहिलो युनिटबाट परीक्षणका रुपमा लगातार ७२ घण्टा विद्युत् उत्पादन गरिने छ । त्यसपछि उपकरण तथा सुरुङ, बाँध लगायतका संरचनाहरुको पुनः परीक्षण गरिने छ । यो परीक्षण सकिएपछि आयोजनाबाट नियमित विद्युत् उत्पादन सुरु हुने छ ।

कार्यकारी निर्देशक घिसिङले माथिल्लो त्रिशूली ३ ए संचालनमा आएपछि कुलेखानी जलाशयको पानी बच्ने र भारतबाट आयात भइरहेकेा विद्युत्को परिमाण घट्ने बताए ।

यो पनि पढ्नुहोस्ः
प्रतिक्रिया
पठाउनुहोस्

सख्मा टोलमा ट्युबवेल गाडियो

विनु तिम्सिना

विराटनगर — बुढीगंगा गाउँपालिका-२ सख्मा टोलमा उखेलिएको ट्युबवेल बिहीबार गाडिएको छ । सख्मा टोलका सनी ऋषिदेव र सिर्जना थापामगर सम्पर्क विहीन भएपछि थापा परिवार र ऋषिदेव परिवारबीच भएको विवादका कारण ऋषिदेव बस्तीको ट्युबवेल थापा परिवारले उखेलिदिएको थियो ।

बुढीगंगा गाउँपालिका-२ सख्मा टोलस्थित मुसहर बस्तीमा उखेलिएको ट्युबवेल गाड्दै मिस्त्री । तस्बिर : बिनु तिम्सिना/कान्तिपुर

ट्युबवेल नहुँदा पानी खान समस्यामा परेको भन्दै ऋषिदेव परिवारले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि मोरङ प्रहरीले मङ्गलवार नै ट्युबवेल गाड्न निर्देशन दिएको थियो।

बस्तीको सामूहिक ट्युबवेल उखेलिएपछि ऋषिदेव परिवारले पानी खानका लागि एक महिनादेखि विभिन्न समस्या झेल्दै आएका थिए। बिहीबार घर अगाडि नै ट्युबवेल गाडिदा उनीहरू हर्षित बनेका छन्।

ट्युबवेल नहुँदा एक महिनादेखि अर्को टोलबाट बोकेर पानी ल्याउनुपर्दा निकै दुःख पाइरहेको कलावती ऋषिदेवले बताइन। 'एक महिनादेखि हामीले पानी खानको लागि धेरै दुःख पाउनुपर्यो,' उनले भनिन्, 'अब घर अगाडी नै ट्युबवेल गाडिएको छ, अर्को बस्तीमा गएर पानी बोक्नु पर्दैन खुसी लागेको छ।'

थापा परिवारले भने आफ्नी नाबालिक छोरीको अवस्थाको विषयमा अझै कुनै जानकारी नआएको भन्दै गुनासो गरेको छ। लामो समय भइसक्दापनि प्रहरीले आफ्नी छोरीको खोजी गर्न नसकेको उनीहरूको गुनासो छ।

सनी ऋषिदेव र सिर्जना थापामगर चैत १८ गतेदेखि नै बेपत्ता भएका छन्। सामाजिक सञ्जालमा भने उनीहरूले विवाह गरेको तस्बिर सार्वजनिक गरेका छन्।

यो पनि पढ्नुहोस्ः

प्रकाशित : जेष्ठ २, २०७६ १७:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्